काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालको चाहनामा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा सक्रिय भएका छन् । कुनै पदमा मनोनीत नभए उनी वरिष्ठ नेताको हैसियतले बिहीबार स्थायी समितिको बैठकमा उपस्थित भए । उनलाई पदाधिकारी बस्ने कुर्सीको लाइनमा बस्ने व्यवस्था गरिएको थियो ।
पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीका लागि केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी भएका हुन् ।
महासचिब देव गुरुङले आमन्त्रित नेताका रूपमा पूर्वउपराष्ट्रपति पुन बैठकमा आएको बताए । ‘पूर्वउपराष्ट्रपति आमन्त्रित रूपमा आउनुभएको हो,’ उनले भने, ‘उहाँको पदबारे निर्णय केही भएको छैन ।’
माओवादी केन्द्रले पुनलाई उपाध्यक्ष बनाउने करिब निश्चित छ । आगामी केन्द्रीय समिति बैठकले उनलाई उपाध्यक्षमा मनोनीत गर्ने भएको छ । पुनले आफूनिकट नेताहरूसँग ‘आन्दोलनको आवश्यकताले सक्रिय राजनीतिमा आएको’ बताएका छन् । ‘समाजवादी आन्दोलन अघि बढाउने आवश्यकताले सक्रिय हुन खोजेको हो,’ उनले निकट नेतासँग भने ।
