बिदा भइन् पहिलो महिला राजदूत बिन्दा

परिपक्व र अब्बल कूटनीतिज्ञ शाहको ९२ वर्षको उमेरमा निधन 

पुस १९, २०८१

घनश्याम खड्का

Binda, the first female ambassador, passed away

काठमाडौँ — लोक सेवाको परीक्षा र हाजिरीजवाफमा अक्सर सोधिने एउटा प्रश्न छ– नेपालको पहिलो महिला राजदूत को हुन् ? जसले उत्तरमा ‘बिन्दाश्वरी शाह’ लेख्दैन, उसले अंक पाउँदैन ।

 ‘उहाँ पहिलो महिला राजदूत मात्रै होइन, अमेरिकामा गएर स्नातक अनि स्नातकोत्तर उपाधि लिने पहिलो नेपाली महिला पनि हुनुहुन्थ्यो,’ शाहलाई आफ्नो कूटनीतिक करिअरको ‘गडमदर’ मान्ने पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई भन्छन्, ‘परराष्ट्रको पहिलो महिला अधिकृत पनि उहाँ हुनुहुन्थ्यो, जसको कूटनीतिक क्षमता हाम्रा लागि प्रेरणाको विषय थियो ।’

अवकाशपछि पनि लामो समयसम्म शाहको सम्पर्कमा रहँदै आएका भट्टराईको विश्लेषणमा बिन्दाश्वरी यस्तो जमानाकी सफल कूटनीतिज्ञ थिइन् जतिबेला संसारैभर परराष्ट्र मामिलामा पुरुषहरूको एकछत्र राज थियो ।

‘राजा महेन्द्रले पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई अमेरिकामा राजदूत बनाएर पठाउँदा नियोग उप्रमुख बिन्दाश्वरी हुनुहुन्थ्यो,’ भट्टराई भन्छन्, ‘मातृका अमेरिकाबाट फर्केपछि दूतावास निमित्त राजदूत भएर उहाँले सम्हाल्दा त्यस बखत अमेरिकामा कुनै पनि देशको महिला राजदूत रहेनछन्, राजदूतहरूको भेलामा उहाँ सारी लगाएर जाँदा ठूलो चर्चा भएको र त्यसलाई पत्रिकाहरूले छापेको अनेकन सन्दर्भ छन् ।’ 

तिनै सफल कूटनीतिज्ञ शाहको ९२ वर्षको उमेरमा निधन भएको छ । छोरा अनिलकेशरी शाह (बैंकर) का अनुसार बिहीबार बिहान आफ्नै घरमा शाहको निधन भएको हो । पछिल्लो समय कसैलाई नचिन्ने अवस्थाकी बिन्दाश्वरीलाई भेट्न अमेरिकादेखि उनका नाति र नातिनी आएका थिए । ‘सायद आमा उनीहरूलाई नै पर्खेर बस्नुभएको थियो,’ छोरा अनिलले भने, ‘नातिनातिनालाई भेटेपछि विश्राम लिनुभयो ।’ 

परराष्ट्र मामिलाका जानकारहरू शाहलाई एउटा परिपक्व र अब्बल कूटनीतिज्ञको संज्ञा दिन्छन् । बहुदल आउनुअघि भारतले नाकाबन्दी लगाउँदा बिन्दाश्वरी दिल्लीका लागि नेपाली राजदूत थिइन् ।

‘भारतसँगको सम्बन्ध अत्यन्तै कटुतापूर्ण भएको अवस्थामा उहाँले अत्यन्तै संयमित, परिपक्क र पारंगत शैलीमा कूटनीतिज्ञको भूमिका निर्वाह गर्नॅभयो जो सबै युवा कूटनीतिज्ञहरूका लागि सदा स्मरणीय छ,’ पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे भन्छन्, ‘आज नेपालको कूटनीतिक क्षेत्रले त्यस्तो कूटनीतिज्ञ गुमाएको छ, जसको पूर्ति हुन सजिलो छैन ।’

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको सम्झनामा बिन्दाश्वरी एक अब्बल कूटनीतिज्ञ थिइन् । ‘उहाँमा आफ्नो कुरा स्पष्ट र तार्किक रूपले निर्धक्कसँग भन्न सक्ने यस्तो खुबी थियो, जो आमरूपमा सबैमा पाइँदैन,’ लोहनीले भने । पछिल्ला वर्षहरूमा बिन्दाश्वरी बिर्सने बिमारी (डिमेन्सिया) बाट ग्रसित थिइन् । उनको दाहसंस्कार बिहीबार अपराह्न आर्यघाटमा हुँदा परराष्ट्रमन्त्री आरजु देउवा राणा, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत कूटनीतिक क्षेत्रको ठूलो समुदाय श्रद्धाञ्जली दिन उपस्थित थियो । 

‘उहाँ महिलाका लागि मात्रै नभएर परराष्ट्र सेवामा रुचि राख्ने हरेकका लागि आदर्श कूटनीतिज्ञ हुनुहुन्थ्यो,’ परराष्ट्रमन्त्री राणाले बिन्दाश्वरीप्रति श्रद्धाञ्जली व्यक्त गरिन्, ‘उहाँको निधनले एक कूटनीतिक हस्तीको अपूरणीय क्षति भएको छ ।’

सन् १९७१ मा भर्खर स्वतन्त्र भएको बंगलादेशमा राजा महेन्द्रले कूटनीतिक नियोग स्थापना गर्ने निर्णय गरे र सन् १९७२ मा बिन्दाश्वरीलाई ‘चार्ज दि अफेयर’ नियुक्त गरेर ढाका पठाए । बिन्दाश्वरी बंगलादेशमा भएकै बखत अगस्ट १५ सन् १९७५ सैनिक विद्रोह भयो । प्रथम राष्ट्रपति शेख मुजिबर रहमानसहित परिवारका अधिकांश सदस्यको हत्या भयो । बिन्दाश्वरी भने त्यस्तो जटिल अवस्थामा पनि डटेर बंगलादेशमै बसिरहिन् । बिन्दाश्वरीले आफ्ना दुई साना छोराहरूलाई ढाकाबाट जहाज चढाएर दिल्ली पठाइन्, जहाँ उनीहरूलाई लिन विश्व स्वास्थ्य संगठनको दिल्लीस्थित कार्यालयमा नारायणकेशरी पर्खिबसेका थिए । 

‘उहाँको त्यो आँट र जुझारुपन देखेर बंगलादेशका दुई महिला खालिदा जिया र शेख हसिना एकदम प्रभावित भएका रहेछन्, पछि दुवै बंगलादेशका प्रधानमन्त्री पनि भए,’ पूर्वपरराष्ट्र सचिव भट्टराई भन्छन्, ‘उहाँहरूले यो कुरा मसँगको भेटमा भन्दा एकदम गर्वको अनुभूति भएको थियो ।’

बिन्दाश्वरीका बुबा पद्मसुन्दर मल्ल जापानमा विद्युतीय इन्जिनियरिङमा स्नातक गरेर सन् १९२२ मा अमेरिकाको मिसिसिपी विश्वविद्यालबाट त्यही विषयमा स्नातकोत्तरको उपाधि लिएका थिए । भट्टराईका अनुसार मल्ल अमेरिका जाने पहिलो नेपाली थिए ।

धेरै पढेर जान्ने पल्टेको भनेर राणा सरकारले सन् १९२५ आफ्नो हजुरबुबाको जात निकालिएको शाहले कान्तिपुरसँगको एक अन्तर्वार्तामा बताएका थिए । श्री ३ चन्द्रशमशेरको त्यो अपमान सहन नसकी बिन्दाश्वरीका बुबा दार्जिलिङको खर्साङ गए । खर्साङमै सन् १९३३ फेब्रुअरी १३ मा बिन्दाश्वरीको जन्म भएको थियो । खर्साङस्थित चर्चित सेन्ट हेलेन विद्यालयमा बिन्दाश्वरीको स्कुले पढाइ भएको थियो ।

 त्यहीताका सन् १८०१ देखि अविच्छिन्न प्रकाशित हुँदै आएको न्युयोर्क पोस्टले ‘द वर्ल्ड अफ टुमारो’ शीर्षकमा विश्वव्यापी निबन्ध प्रतियोगिताको आयोजना गरेको थियो । निबन्ध लेख्ने संसारका उत्कृष्ट एक सयलाई अमेरिका भ्रमणको अवसर दिने पत्रिकाको घोषणा थियो । त्यसमा बिन्दाश्वरीले पनि भाग लिइन् र उनको निबन्ध उत्कृष्ट एक सयमा पनि पर्न सफल भयो ।

त्यसले उनलाई अमेरिकाको घुम्ने अवसर दिलायो । सन् १९५२ मा उनी अमेरिका पुगिन् र त्यहाँका विभिन्न ठाउँ घुमिन् । त्यसै बेला कोलम्बिया युनिभर्सिटीको बर्नार्ड कलेजले उनलाई उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्ति दियो, जहाँ उनले ‘लिबरल आर्टस् एन्ड गभर्मेन्ट’ विषयमा स्नातक गरेको भट्टराईले बताए । त्यसपछि उनले प्रसिद्ध जोन हप्किन्स विश्वविद्यालयमा अन्तर्राष्ट्रियसम्बन्ध पढ्नका लागि स्नातकोत्तर छात्रवृत्ति पाइन् र अमेरिकामा उच्च शिक्षा हासिल गर्ने पहिलो नेपाली महिला बनिन् । 

सन् १९५८ मा अन्तर्राष्ट्रियसम्बन्धमा स्नातकोत्तर गरेपछि बिन्दा नेपाल फर्किइन् । उनका लागि काठमाडौंको परिवेश सानो थियो । झन्, नेपाली बोल्न नआउने र साथीहरू पनि कोही नहुने अवस्था थियो । यस्तोमा के गर्ने भन्ने भइरहेका बेला नयाँ सडकमा अमेरिकन पुस्तकालय खुल्यो । त्यहाँ उनलाई चिफ लाइब्रेरियनका रूपमा काम गर्ने अवसर मिल्यो । 

 पुस्तकालयको उद्घाटन गर्न राजा महेन्द्र र प्रधानमन्त्री बीपी कोइराला दुवै पुगेका थिए । बिन्दाश्वरीले अंग्रेजी मात्रै बोलेको देखेर बीपीले तिमी कुन देशकी हौ भनेर सोध्दा उनले म त नेपाली नै हुँ नि प्रधानमन्त्रीज्यू भन्ने जवाफ दिएपछि बीपी चकित परेका थिए ।

भट्टराईका अनुसार बिन्दाश्वरीले महेन्द्र र बीपी दुवैलाई पुस्तकालयको सदस्य बन्न पत्र पनि लेखेकी थिइन् । ‘त्यसलाई स्वीकार गर्दै उहाँहरू दुवै पुस्तकालयको सदस्य पनि बन्नुभयो,’ भट्टराई भन्छन्, ‘महेन्द्रको सदस्य नम्बर एक हो र बीपीको दुई ।’

त्यसको केही समयपछि बीपीकै प्रोत्साहनमा उनले लोकसेवाको परीक्षा दिइन् र परराष्ट्रको प्रथम अधिकृत बन्न सफल भइन् । अधिकृत भएको केही समयपछि नै उनको पहिलो पोस्टिङ अमेरिकास्थित नेपाली दूतावासमा भएको थियो । त्यहीताका नारायणकेशरी जोन हप्किन्स विश्वविद्यालयमा चिकित्साशास्त्र पढ्न अमेरिका पुगेका थिए । बिन्दाश्वरीसँग उनको भेट त्यहीँ भयो । जो पछि प्रेम हुँदै सन् १९६५ मा विवाहमा बदलियो ।

पछि नारायणकेशरी विश्व स्वास्थ्य संगठनका जागिरे भए । पेसाले अलग–अलग क्षेत्रमा खटिएका हुनाले बिन्दाश्वरी र नारायणकेशरीको भेट लामो बिदाका दिनहरूमा मात्रै हुने गर्थ्यो । प्रजातन्त्र आएपछि अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भारत भ्रमणको कूटनीतिक संयोजन राजदूतका रूपमा शाहले नै गरेकी थिइन् । पछि, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने र शाहलाई फिर्ता बोलाए । त्यसपछि उनी मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा काम गरिन् ।

बिन्दाश्वरीका पति नारायणकेशरी पेसाले चिकित्सक र वंशले भिरकोटे राजा तारकबहादुर शाहको कान्छा छोरा थिए । कूटनीतिमा ठूलो नाम कमाएका ऋषिकेश शाह नारायणकेशरीका दाजु थिए । पेसागत बाध्यताका कारण जीवनकालमा लामो समय अलग–अलग बसेका बिन्दाश्वरी र नारायणकेशरी अवकाशपछि भने साथै बसे र जहाँ जाँदा पनि सँगै गए । हृदयाघातका कारण पतिको मृत्यु भएपछि भने बिन्दाश्वरी एक्लो हुन पुगिन् । 

शाहका दुई छोराहरू अनिलकेशरी शाह (बैंकर) र उज्ज्वलकेशरी शाह हुन् । बुबा बितेको एक वर्षमै अमेरिका बसोबास गर्दै आएका उज्ज्वलको पनि हृदयाघातकै कारण मृत्यु भयो । पति र पुत्रवियोगले एकसाथ व्यथित हुन पुगेकी बिन्दाश्वरी पछिल्लो समय बिर्सने रोगबाट ग्रसित थिइन् । जीवनका सबै सम्झनाहरूलाई बिर्संदै बाँचिरहेकी उनै शाहको बिहीबार निधन भयो । देशले उनलाई एक सुयोग्य कूटनीतिज्ञका रूपमा सम्झिरहनेछ । 

घनश्याम खड्का खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully