काठमाडौँ — एमालेले कांग्रेससँग सत्ता गठबन्धन गरेपछि सुरु भएको राजनीतिक कोर्सको समीक्षा गर्ने प्रस्ताव तयार गरेको छ । केन्द्रीय सचिवालको बिहीबारको बैठकले पुस २१ देखि हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव पारित गर्दै कांग्रेस–एमाले गठबन्धनपछि सुरु भएको राजनीति समीक्षा गर्न लागेको हो ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने छन् । उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको बताए ।
‘प्रतिवेदनलाई केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय गर्यो । कांग्रेससित गठबन्धनको राजनीतिक कोर्स सुरु भएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटीले समीक्षा गर्नेछ,’ उनले भने, ‘यो गठबन्धनको औचित्य, आवश्यकता, अवसर र चुनौतीबारे प्रतिवेदनमा उल्लेख छ ।’
उनले सरकारका कामलाई प्रभावकारी बनाउन सुझाव दिनुका साथै ०८४ मा एमालेलाई बलियो राष्ट्रिय शक्ति निर्माणका लागि कार्यायोजना बनाउने बताए । ‘नयाँ राजनीतिक कोर्स सुरु भएपछिको राजनीतिक परिस्थितिको विश्लेषण र राष्ट्रिय शक्ति निर्माण गर्ने मुख्य निर्णय हुनेछ,’ उनले भने ।
