काठमाडौँ — सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले नेपालमा भ्रष्टाचार केकति छ भनेर बहस गर्नुभन्दा त्यसलाई बढ्न नदिन नियन्त्रण गर्ने तर्फ ध्यान दिनुपर्ने बताएका छन् । खोज पत्रकारिता केन्द्रले ललितपुरमा बिहीबार आयोजना गरेको ‘भ्रष्टतन्त्र’ विषयक गोष्ठीमा विद्वत् मन्तव्य राख्दै पूर्वन्यायाधीश खतिवडाले त्यस्तो टिप्पणी गरेका हुन् ।
‘भ्रष्टाचार छ/छैन भन्दा पनि त्यसको मात्रा कति छ भन्ने मुख्य कुरा हो ?’ उनले भने, ‘मुख्य चुनौती त्यसलाई बढ्न नदिने र नियन्त्रण गर्ने हो । त्यसका लागि ऐन, संविधान र पद्धतिको पालनाका अलावा एक तहको सचेतनाको आवश्यकता छ ।’
पूर्वन्यायाधीश खतिवडाले भ्रष्टाचारको कुनै दर्शन नहुने भएकाले त्यसलाई भ्रष्टतन्त्र र अन्य कुनै पनि नाम दिन सकिने बताए । भ्रष्टाचार निवारणसँग सम्बन्धित विधेयकमाथि हाल संसदीय समितिमा भइरहेको छलफल र बहसप्रति पनि उनले असन्तुष्टि जनाए । मन्त्रिपरिषद्को नीतिगत निर्णयलाई अख्तियारको अनुसन्धानबाहिर राख्नुका पछाडि भ्रष्टाचार गर्ने नियत लुकेको उनको टिप्पणी थियो । ‘भएका कानुनी छिद्र टाल्नु पर्नेमा उल्टो भ्रष्टाचार बढाउने गरी त्यसलाई खुकुलो पार्ने काम भइरहेको छ,’ उनले भने ‘नीतिगत निर्णयको आडमा भ्रष्टाचार गर्ने नियत लुकेको छ,’ उनले भने ।
अख्तियारको अनुसन्धान क्षमतामाथि पनि उनले प्रश्न उठाए । अख्तियारको अनुसन्धान क्षमता कमजोर भएकैले मुद्दाहरू फितलो हुने गरेको उनले बताए । अनुसन्धानसम्बन्धी कुनै पनि तालिम नलिएका जनशक्तिको भरमा अख्तियारले काम गरिरहेको उनको भनाइ छ । ‘नेतृत्व राजनीतिक भागवण्डामा आउँछ । भएका जनशक्तिलाई अनुसन्धानसम्बन्धी कुनै तालिम छैन । अनुसन्धानको विधिशास्त्र नै भ्रष्टाचारमैत्री छ,’ उनले भने ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक दीपेश घिमिरेले ‘भ्रष्टाचार र भ्रष्टतन्त्र’ विषयक प्रस्तुति दिएका थिए । घिमिरेले नेपालको सन्दर्भ उल्लेख गर्दै सानो राजनीतिक समूहले पूरै प्रणालीलाई नै कब्जामा लिने प्रवृत्ति देखिएको उल्लेख गरे । ‘मालपोत, नापीलगायतका सरकारी अड्डामा देखिने अदृश्य कार्यालयदेखि सांसदको शून्य समय प्रभावकारी नहुनु जस्ता उदाहरणहरू नेपालमा भ्रष्टतन्त्र व्याप्त छ भन्ने बुझाउन पर्याप्त छन्,’ उनले भने । भ्रष्टतन्त्रकै कारण पूरै राजनीतिक प्रणाली नै भ्रष्ट बन्दै गएको, निश्चित वर्गको हातमा सम्पत्ति थुप्रिएको र सार्वजनिक संस्थाहरू कमजोर बनेको घिमिरेको दाबी छ ।
कार्यक्रममा लोकतन्त्रमाथि लुटतन्त्रको ग्रहण शीर्षकमा बहस पनि गरिएको थियो । शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले सहजीकरण गरेको बहसमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की, पूर्वमन्त्री तथा सचिव विद्याधर मल्लिक र ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी निवर्तमान अध्यक्ष पद्मिनी प्रधानागंले भ्रष्टतन्त्र र भ्रष्टाचारका आयाम र त्यसले पूरै समाज र राजनीतिमा पारेको असरबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै खोपकेका अध्यक्ष कुन्द दीक्षितले पछिल्लो समय पूरै समाजले भ्रष्टाचारलाई सहज रूपमा लिन थालेको र यो पत्रकारिताका लागि समेत ठूलो चुनौती भएको बताए । ‘भ्रष्टाचारलाई समाजले सहज रूपमा लिन थालेको देखिन्छ, अन्य मुलुकको उदाहरण हेर्ने यो भने यो प्रेस स्वतन्त्रता र पूरै पत्रकारिताका लागि ठूलो चुनौती हो,’ दीक्षितले भने ।
