काठमाडौँ — बालगायक सचिन परियारको निधनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सम्बन्धका विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा सचिनको निधनले दु:खी भएको भन्दै प्रधानमन्त्री ओलीले एकजना बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर देखिएको समेत बताएका छन् ।
प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, 'बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बालगायक सचिनलाई हार्दिक श्रद्धाञ्जली !'
त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान १० बजेर ४५ मिनेट जाँदा सचिन परियारको निधन भएको अस्पताल स्रोतले जनाएको छ । सचिनले केही चर्चित गीत गाउनुका साथै केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको श्वर रहेको 'वरको छायाँले' बोलको गीतमा सचिनले राजेश हमालसँग अभिनयसमेत गरेका छन् ।
त्यस्तै सचिनको श्वर र अभिनय रहेको 'ओठ खोलेर' बोलको गीतको म्युजिक भिडियो झन्डै २ करोड पटक हेरिएको छ । त्यस्तै उनले अस्मिता अधिकारीसँग 'के छ र हजुर' बोलको गीतसमेत गाएका छन् । केही वर्षदेखि उनको स्वास्थ्यका बारेमा सामाजिक सञ्जालमा चर्चासमेत भएका थिए । उनका बुवा तेजेन्द्र परियारले सचिन बिरामी रहेको र उपचार भइरहेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।
सम्बन्धित समाचार
