आईक्यूमा नेपाल विश्वमै सबैभन्दा पछाडि ‌: पूर्वप्रधानमन्त्री भट्टराई

पुस १७, २०८१

कान्तिपुर संवाददाता

In IQ, Nepal is the most behind in the world: Former Prime Minister Bhattarai

काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल विश्वमै आईक्यूमा सबैभन्दा पछाडि रहेको उल्लेख गर्दै दिमागको गरिबी खतरनाक हुने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ऐक्यबद्धता एव‌ं शैक्षिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् ।

'शिक्षा क्षेत्रको विकासका लागि पनि सही राजनीति हुनुपर्छ,' उनले भने, ‘शिक्षाको विकास र मुलुकको आर्थिक तथा सामाजिक विकासका नीति नियमहरू बुझ्नका लागि पनि यो आवश्यक छ ।’

सोही कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालमा सार्वजनिक शिक्षा लिनेको संख्या निरन्तर ओरालो लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले सहरीकरण बढेसँगै सार्वजनिक शिक्षा लिने विद्यार्थीको संख्यामा निरन्तर गिरावट आइरहेको बताउँदै भने, ‘पैसा भएकाले मात्र शिक्षा किन्न सक्ने स्थिति सिर्जना भएकाले यसप्रति सबै सचेत हुन आवश्यक छ ।’

पछिल्लो समय नेपालमा सार्वजनिक शिक्षा लिनेहरूको संख्या निरन्तर घटेर ७५ प्रतिशतभन्दा तल पुगेको बताउँदै सांसद खनालले जति जति सहरीकरण हुँदैछ, सार्वजनिक विद्यालय र त्यहाँ पढ्ने विद्यार्थीको संख्या पनि निरन्तर घटिरहेको बताए ।

कान्तिपुर

Link copied successfully