भीम रावल भन्छन् : 'केपी ओलीले समाजवाद ल्याउने कुरा पत्याइदिनुपर्ने हो ?'  

'केपी ओलीले दम्भ र निषेधको नीति लिए'

पुस १७, २०८१

कान्तिपुर संवाददाता

Bhim Rawal says: 'Do you have to believe that KP Oli will bring socialism?'

काठमाडौँ — एमालेका पूर्वउपाध्यक्ष भीम रावलले आफू अध्यक्ष केपी शर्मा ओलीको कोपभाजनमा परेको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले ओलीले आफूलाई स्पष्टीकरण नभई दोषपत्र थमाएको समेत बताए । 

एमालेको साधारण सदस्यबाट समेत निष्कासित रावलले भने, 'केपी ओलीको कोपभाजनमा परेँ । स्पष्टीकरण हो कि  दोषपत्र  ?' त्यस्तै ओलीसँग समय मिलाउन कात्तिकमा वार्ता प्रयास गरे पनि असफल भएको उनले बताए । ओलीले दम्भ र निषेधको नीति लिएको समेत उनको भनाइ छ । 'ओलीसँग समय मिलाउन कात्तिकमा वार्ताको प्रयास गरेँ । ओलीको दम्भ, निषेधको नीति होइन र ?  निरंकुशताको झल्को दिँदैन र ? नेकपामा द्वन्द्व चर्काउने केपी ओली । पार्टी गतिविधिमा निषेध गरियो ।  ओलीले थुप्रै जवाफ दिनुपर्छ,' उनले भने ।  

त्यस्तै ठूला दल सिद्धान्तहीन बाटोमा हिँडेको पनि नेता रावलको आरोप छ । उनले ठूला पार्टीमा पद लिने होड भएको उल्लेख गर्दै देशव्यापी भ्रष्टाचार बढेको समेत बताए । 'भ्रष्टाचारमा ठूला व्यक्ति संलग्न छन् । ठूला भनिएकालाई जोगाउन प्रयास भइरहेको छ । ठूला दलले विदेशी हस्तक्षेप निम्त्याएका छन् ।  सत्ताको दुरुपयोग गरी नव तानाशाह बन्न खोज्दैछ्न्,' उनले भने । त्यस्तै अहिलेको सरकारले समाजवाद ल्याउने कुरा नपत्याउन आग्रह गर्दै उनले भने, ' केपी ओलीले समाजवाद ल्याउने कुरा पत्याइदिनुपर्ने हो ?'  

पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेको भन्दै तीन नेतालाई एमालेले गत बुधबार कारबाही गरेको थियो । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । रावललाई पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएकाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको एमालेले जनाएको छ । 

कान्तिपुर

Link copied successfully