अपहरित यात्रुले अपहरणमा परेका जहाजको मोडल बनाएर तालिबान सरकारलाई बुझाए

पुस १६, २०८१

सुरज कुँवर

The kidnapped passengers made a model of the hijacked ship and submitted it to the Taliban government

काठमाडौँ — २५ वर्षअघि काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलायन्सको जहाज अपहरणको घटनाबारे अनेकन कथाहरु सार्वजनिक भइसकेका छन् । तर अपहरणमा परेको उक्त जहाजका यात्रुहरुले अपहरणमुक्त भएपछि तत्कालीन तालिबान सरकारलाई उपहार दिएको रोचक प्रसंग भने धेरैका निम्ति नयाँ हुनसक्छ ।

क्रिसमसको पूर्वसन्ध्या अर्थात् २४ डिसेम्बर, सन् १९९९ मा अपहरणमा परेको जहाज अफगानिस्तानको कान्दाहार पुर्‍याएर सात दिन राखिएको थियो । मृत्युको सन्निक पुगेका विमानका १ सय ७८ यात्रुले अपहरणमुक्त भएपछिको खुशी कसरी बाँडे होलान् ? उक्त विमानमा रहेका आठमध्ये एक नेपाली थिए, गोरखाका संजय धिताल । त्यतिबेला संजय पेशावरमा रहेका अफगानी शरणार्थीहरुको स्वास्थ्यका लागि कार्यरत संस्था आम्दा इन्टरनेसनलमा कार्यरत थिए । घटनाका २५ वर्षपछि धितालले त्यतिबेला अपहरणमुक्त भएपछिको समय सम्झिएर नोस्टाल्जिक भए ।

संजयका अपहरणको आठौं दिन जब अपहरणकारीले भारत सरकारसँग आफूहरुको वार्ता मिलेको बताए, तब जहाजभित्रका सबै यात्रुको अनुहारको एक सातादेखि निभेको आशाको झिल्को बलेजस्तो भयो । उनले भने, ‘अपहरणमुक्त हुने भन्ने भएपछि हामी सबै यात्रुले आ-आफ्नो देशको मुद्रा संकलन गरेर त्यो पैसाबाट केही काम गर्ने भन्ने कुरा भयो ।’

धितालका अनुसार सबै यात्रुबाट रकम उठाउने काम पनि उनी आफैंले गरे । कान्तिपुरसँगको भिडियो कुराकानीमा उनले सुनाए, ‘त्यसबेला आतंकवादीहरुले बिदा हुनुअघि तालिबान सरकारले यत्रो दिन बस्न दिएकोमा धन्यवाद त दिनैपर्छ । तर कसरी धन्यवाद दिने भनेर यात्रुहरुबीच कुराकानी भयो । अनि हामीले पैसा उठाउन थाल्यौं ।’

उनका अनुसार तालिबान सरकारलाई दिनका लागि त्यतिबेला हामीसँग केही पनि थिएन् । उनले भने, ‘अपहरणमा परेको आइसी–८१४ जहाजको मोकअप (मोडल) जहाज बनाएर उपहार दिने कुरामा सहमति भयो ।’

The kidnapped passengers made a model of the hijacked ship and submitted it to the Taliban government

अपहरणकारीहरु हिँडेपछि यात्रुहरुबाट रकम उठाउन थालिएको थियो । उनले भने, ‘भारतीय, स्वीस, क्यानेडियन, इटालिन, जापानी, अमेरिकी, फ्रेन्च, अस्ट्रेलियनसहित सबैले आ–आफ्ना देशका मुद्रा संकलन गर्‍यौं । ठ्याक्कै रकम कति जम्मा भएको थियो, सम्झना भएन । तर, त्यस्तै २७ हजार हाराहारी उठेको थियो ।’ अपहरणमुक्त भएर नेपाल आएपछि संजय कामको सिलसिलामा पाकिस्तानको पेशावर पुगे । त्यहीबेला उनले जहाजको मोकअप काठमाडौंमै बनाएर लगेका थिए । तर त्यो मोकअप उनलाई खासै मन परेको थिएन् । उनले कराँचीमा फेरि जहाजको मोडल बनाउन एउटा मेटलको काम गर्ने कम्पनीलाई भने । ‘घटना भएको ६/७ महिनापछि मेटलको मोडल जहाज बनाएर तालिबान सरकारलाई बुझाए ।’ बाँकी रहेको रकम भने उनले अफगानी शरणार्थीहरुको औषधि उपचारका लागि पेशावरकै शिविरलाई हस्तान्तरण गरिदिएको बताए ।

जहाज अपहरणको वर्षौंपछि त्यो दिन सम्झिँदा अहिले आफूहरुले गरेको त्यो राम्रो कामको सम्झना आउँछ । संजयले अपहरणमा परेका जहाजका अरु यात्रुहरुसँग भने आफ्नो कुनै सम्पर्क नभएको बताए । बखुण्डोलमा आइटी कम्पनी चलाइरहेका संजयले भने, ‘अपहरित यात्रुको तर्फबाट त्यो हामीले साँच्चै राम्रो काम गरेका थियौं ।’

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully