पाल्पा — उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको बलिदानी र संघर्षबाट ल्याएको लोकतान्त्रिक व्यवस्था बलियो बनाउनुपर्ने बताएका छन् । उनले हामी आफैंले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
पाल्पाको रामपुर नगरपालिकास्थित सहिद बहुमुखी क्याम्पसमा मंगलबारदेखि सुरु धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवको उद्घाटनमा पुगेका मन्त्री सिंहले हज्जारौँ सहिदको बलिदानीबाटै अहिलेको व्यवस्था आएको बताए । उनले लोकतन्त्र सुदृढ गर्न र राष्ट्रियता मजबुत बनाउनसक्ने गरी कांग्रेसलाई अगाडि बढाउन सक्नुपर्नेमा जोड दिए । त्यसका लागि कांग्रेसलाई आउँदै गरेको चुनौती सामना गर्न सक्षम, प्रभावकारी र व्यवस्थित पार्टी बनाउनतर्फ ध्यान दिनुपर्ने मन्त्री सिंहले बताए ।
प्रजातन्त्र बचाउने र राष्ट्रियता बलियो बनाउने नीति लिएर कांग्रेस अघि बढ्नुपर्ने उनले बताए । ‘तत्कालीन समयमा दक्षिण एसियाका देशहरूमा अस्थिरता बढेको र राष्ट्रियता नै संकटमा परिरहेको थियो । त्यसबेला बीपी कोइराला, गणेशमान सिंह राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर देशको राष्ट्रियता जोगाउनका लागि चुनौती मोलेरै स्वदेश फर्कनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभयो,’ रामपुरमा नवनिर्मित गणेशमान सिहं स्मृति भवनको उद्घाटन गर्दै उनले भने ।
राष्ट्रियतामाथि नै आँच आउनसक्ने सम्भावना भएकाले प्रजातन्त्रवादीहरूले त्यस्तो अवस्थामा दुख कष्ट गरेर भए पनि राष्ट्रियता जोगाउन देशभित्रै बस्नुपर्छ भन्ने नीति लिएर आएको मन्त्री सिंहले बताए । कांग्रेसका संस्थापक नेताहरूले प्रतिपादन गरेको सिद्धान्त र स्थापित गरेको प्रजातान्त्रिक मूल्य मान्यताको कदर गर्नुपर्ने पनि उनले बताए ।
कालीगण्डकी नदी बेंसी क्षेत्रको पहिलो क्याम्पस सहिद बहुमुखी क्याम्पसमा मंगलबार देखि सुरु भएको महायज्ञबाट क्याम्पसको भौतिक संरक्षण निर्माणमा सहयोग पुग्ने बताए । आफूले आफ्नोतर्फबाट र मन्त्रालयबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सहिद क्याम्पसको संकाय थप, सीपमूलक शिक्षा र छात्रवासको स्थापनाका लागि पुस २३ गतेसम्म महायज्ञ एवं धार्मिक महोत्सवको आयोजना गरेको हो । महायज्ञमा पण्डित दीनबन्धु पोखरेलबाट प्रवचन हुनेछ । क्याम्पसमा शिक्षा र व्यवस्थापन संकायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदै आएको छ । समुदाय स्तरबाट सञ्चालित क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर जिल्लाका करिब एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धनप्राप्त क्याम्पस २०४८ सालमा स्थापना भएको हो ।
