आमाको शोकमा छोरीको पनि गयो ज्यान

शनिबार बाटोमाथिबाट खसेको ढुंगा लागेर पञ्चमाला जोशीको मृत्यु भएको थियो । आमाको शोकमा बेहोस भएकी छोरी रोहिणीको सोमबार ज्यान गएको हो ।

पुस १६, २०८१

वसन्तप्रताप सिंह

The daughter also died due to the grief of the mother

बझाङ — दुर्घटनामा परेर आमाको ज्यान गएको शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ । गत शनिबार थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडकबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि २५ वर्षीया छोरी रोहिणी जोशीको पनि मृत्यु भएको हो ।

आमाको दुर्घटनाको खबर सुन्नेबित्तिकै धनगढीमा रहेकी रोहिणी आइतबार साँझ बझाङ पुगेकी थिइन् । उनले आमाको शव हेर्न निकै जिद्दी गरिन् । आमाको पार्थिव शरीर देख्नेबित्तिकै उनी बेहोस भइन् ।

‘बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गरायौं,’ आफन्त विश्वप्रकाश जोशीले भने, ‘स्लाइन पानी चढाएपछि केही बेर होसमा आएपनि फेरि बेहास भइहालिन् ।’ सोमबार दिउँसो बेहोस अवस्थामा जिल्ला अस्पताल चैनपुर लगे पनि अस्पताल पुर्‍याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको जोशीले बताए ।

आमाको अन्त्येष्टि नहुँदै छोरीको पनि मृत्यु भएको हो । सोमबार साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ । आमाछोरीको मृत्युसँगै गाउँ शोकमा डुबेको छ । दुई दशकदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत पञ्चमालाको मृत्युमाथि छोरी रोहिणीलाई पनि गुमाउनुको पीडा थपिएको स्थानीय बताउँछन् । रोहिणी स्नातक तेस्रो वर्षमा अध्ययन गर्दै थिइन् ।

‘कसैलाई समस्या पर्दा सहयोग गर्न सबैभन्दा अगाडि पुग्ने उनकी आमाको स्वभाव थियो । छोरी पनि सबैकी प्रिय थिइन्,’ स्थानीय बलराम भण्डारीले भन्छन्, ‘गाउँ नै शून्य भएको छ ।’ १५ दिनअघि मात्रै रोजगारीका क्रममा दुबई पुगेका जगतप्रशाद जोशी श्रीमती मृत्युपछि घर पुग्न नपाउँदै छोरीलाई पनि गुमाउँदा भावविह्वल बनेका छन् । 

वसन्तप्रताप सिंह सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully