आगामी निर्वाचनमा एमालेसँगै मुख्य प्रतिस्पर्धा : नेता कोइराला

पुस १६, २०८१

अर्जुन सुवेदी

Main competition with UML in upcoming elections: Leader Koirala

सुनसरी — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिले दुई ठूला दल मिलेर सरकार बनाए तापनि आगामी २०८४ को निर्वाचनमा एमालेसँगै मुख्य प्रतिस्पर्धा हुने बताएका छन् । नेपाल पत्रकार महासंघ सुनसरीमा निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै कोइरालाले ०८४ सालको चुनावमा गठबन्धन नहुने बताए ।

 कोइरालाले अहिलेको सरकार असफल भएमा अराजकता निम्तिने भन्दै केपी ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको बताए । 

कोइरालाले भने, ‘अहिलेको सरकार असफल हुने छुट छैन र छिटोभन्दा छिटो काम गर्नुपर्ने अवस्था छ, राजनीतिक स्थायित्वको निम्ति कांग्रेस र एमाले ठूला दल मिलेर सरकार बनाएकाले निराश जनतामा आशा ल्याउने काम गर्न ढिलाई गर्न हुँदैन ।’ 

सुशासन र विकासलाई प्राथमिकतामा राखेर काम गर्न उनले सरकारलाई सुझाव दिए । लोकतन्त्रको पहरेदार सञ्चारमाध्यमले आशा जगाउने किसिमका समाचारहरूलाई पनि प्राथमिकता दिन उनले आग्रह गरे । ‘अहिले चारैतिर निराशा रहेका बेला सानोभन्दा सानो भए पनि राम्रो कामलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्छ,’ नेता कोइरालाले भने । 

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्काले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सबैको सहकार्य हुनुपर्ने बताए  ।

कार्यक्रममा मंसिर २८ गते भएको नेपाल पत्रकार महासंघको निर्वाचनअन्तर्गत सुनसरीमा अध्यक्षमा विजयी कार्यसमिति, प्रदेश परिषद् सदस्य र संघीय परिषद् सदस्यलाई पदस्थापन गरिएको थियो ।

अर्जुन सुवेदी

Link copied successfully