सामुदायिक शौचालयले फेरिएको बस्ती

खुला शौच, दूषित खानेपानी र सरसफाइको अभावले स्थानीय बिरामी पर्ने क्रम बढेपछि द विकन परियोजनाअन्तर्गत सामुदायिक शौचालय निर्माण

पुस १६, २०८१

अजित तिवारी

A slum transformed by a community toilet

लहान — जन्मिँदै सरस्वती पासवानका दुवै खुट्टा थिएनन् । खुट्टा नहुँदा दिनचर्यामा सकस त छँदै थियो, शौचको बेला झन् गाह्रो हुन्थ्यो । घरबस्तीमा शौचालय थिएन । शौच गर्न घिस्रिँदै नजिकको खेत वा बाँसघारी पुग्नुपर्थ्यो । 

लहान–११ पररियाको सदाय (मुसहर) बस्तीकी १३ वर्षीया सरस्वती अहिले ह्विलचेयरमा बसेर शौचालय पुग्छिन् । 

बस्तीको अपांगतामैत्री सामुदायिक शौचालयले सहज बनाएको हो । भन्छिन्, ‘पहिला बहुत कष्ट हुन्थ्यो, अहिले धेरै सुबिस्ता भएको छ । घरभन्दा पनि मलाई शौचालयको माया लाग्छ ।’

पररियाको सदाय बस्ती सकिनै लाग्दा दुईतिर दुई पोखरी छन् । पोखरीसँग टाँसिएका खेत र बाँसघारी छन् । स्थानीय राजकुमार सदा पहिले शौचका लागि नजिकका खेत र बाँसघारी पुग्ने गरेको बताउँछन् । ‘पहिला धेरै दिक्कत थियो । जग्गाधनीले थाहा पाए कुट्न आउँथ्यो । यो पोखरी हात धुने ठाउँ थियो,’ उनले भने, ‘अहिले खेततिर हेर्न पनि मन लाग्दैन । सानले शौचालय जान्छु–आउँछु ।’ 

खुला शौच, दूषित खानेपानी र सरसफाइको अभावले स्थानीय बिरामी पर्ने क्रम बढेपछि द विकन परियोजनाअन्तर्गत लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड, एलियन वाटर र दलित जनकल्याण युवा क्लबको सहकार्यमा सामुदायिक शौचालय निर्माण, स्वच्छ खानेपानी र सरसफाइका लागि काम थालिएको हो । परियोजनाअन्तर्गत पहिलो चरणमा लहान–११ पररिया र वडा २२ जहदीमा सामुदायिक शौचालय बनाइएको छ । ४६ वर्षकी सोमनीदेवी पासवान पररियाको सलेश–दिनाभद्री सामुदायिक शौचालय सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष हुन् । उनको रेखदेखमा १० वटा सिट भएको शौचालय छ । एउटा भने अपांगतामैत्री छ । ३० घरका २ सय ५० जनालाई तोकेरै शौचालय छुट्याइएको छ । हरेक घरबाट मासिक १ सय रुपैयाँ लिएर शौचालयको सरसफाइ र बिजुली बिल तिर्न खर्च गरिन्छ । पासवानले भनिन्, ‘पहिला रोगको धेरै समस्या थियो । अहिले धेरै सुधार भएको छ ।’ जहदीको शौचालय रेखदेख लुटनीदेवी सदायले गर्छिन् । बस्तीका २२ घरका करिब २ सय जनाले सामुदायिक शौचालय प्रयोग गर्छन् ।

केही वर्षपहिले ‘खुला दिसापिसाबमुक्त क्षेत्र’ घोषणा गरिँदा यहाँ प्यान र सिट बाँडिएको थियो । एउटै कोठामा भान्सा र सुत्नुपर्ने बाध्यतामा रहेका भूमिहीन पासवान र मुसहर समुदायलाई शौचालय थपिएपछि झन् आपत् पर्‍यो । भान्सा र शौचालय नछुट्टिने भयो । यसबाट खानेपानीको स्रोत प्रदूषित हुन पुग्यो । परिणामस्वरूप, छाला, झाडापखाला र पानीजन्य रोगका बिरामी बढे । 

लहान–२२ जहदीकी ५८ वर्षीया बरतनिया सदायले भान्सानजिकै दाउरा राखेको ठाउँमा शौचालय बनाएकी थिइन् । ‘शौचालयले त बिरामी पार्‍यो,’ बरतनिया देवीले भनिन्, ‘जेठो छोरालाई झाडापखाला चल्यो । मलाई दादले हैरान बनायो । स्वास्थ्य चौकी गएपछि पो थाहा पाइयो, दूषित पानीले रोगी बनाएको रहेछ ।’

लहान नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पररियामा अघिल्लो वर्ष छालासम्बन्धी रोगका मात्रै करिब चार सयले उपचार गराए । लहान–११ मै दूषित खानेपानीले पाँच सयभन्दा बढी बिरामी परे । लहान–२२ मा गत वर्ष छालासम्बन्धी रोगका चार सयभन्दा बढी बिरामी देखिए । यो वडामा दूषित खानेपानी प्रयोगले झन्डै आठ सय बिरामी परेका थिए । ‘अधिकांश बिरामीमा टाइफाइड, आउँ, झाडापखाला र जुकाको समस्या देखिएको थियो,’ स्वास्थ्य शाखा प्रमुख रामानन्द चौधरीले भने, ‘छाला रोगमा एक्जिमा, दाद, घाउ, पिलो र लुतो देखियो ।’ 

 शौचालय प्रयोगपछि बिरामीको संख्या घटेको लुटनीदेवीले बताइन् । ‘यो शौचालय मात्र होइन, हाम्रा लागि रोगव्याधिबाट छुटकारा दिलाउने घर पनि बनेको छ,’ उनले भनिन् । लहान नगरप्रमुख महेशप्रसाद चौधरीले मुसहर, पासवान र डोम बस्तीलाई लक्षित गरेर सामुदायिक शौचालय निर्माण गरिएको बताए । खानेपानीका लागि पाइपलाइन जडानका क्रममा रहेको उनले जानकारी दिए । लहानका सबै २४ वडामा सामुदायिक शौचालय बनाउने र शुद्ध खानेपानी पुर्‍याउने लक्ष्य रहेको वाटर एडका प्रोजेक्ट म्यानेजर राजेश लोहनीले बताए ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully