शताब्दी उमेरमा अस्ताए नेपाली शान्ति प्रक्रियाका साथी

शान्ति प्रक्रिया र संविधानसभा निर्वाचन सफल बनाउन पनि उनी सक्रिय रहे

पुस १६, २०८१

घनश्याम खड्का

A friend of the Nepali peace process who has reached the age of 100 years

काठमाडौँ — अमेरिकी पूर्वराष्ट्रपति जेम्स अर्ल कार्टर जुनियर (जिम्मी कार्टर) को सय वर्षको उमेरमा आइतबार निधन भएको छ । धेरैले नेपालसँग उनको सम्बन्ध जोड्दा शान्ति प्रक्रिया अघि बढाउन र संविधानसभाको चुनाव गराउन पहल गर्ने साथीका रूपमा चिन्छन् । यद्यपि, उनको नेपाल साइनो त्यसभन्दा पनि दशकौं पुरानो हो । 

‘राष्ट्रपति छँदै उहाँले बीपी कोइरालाको जेल रिहाइका लागि पहल गर्नुभएको थियो, त्यसका लागि राजा वीरेन्द्रलाई फोन गर्नुभएको थियो,’ कांग्रेस नेता मीनेन्द्र रिजाल भन्छन्, ‘संसारमा लोकतन्त्रविरुद्ध जहाँ जे भए पनि बोल्ने मानिस हुनुहुन्थ्यो कार्टर ।’ राष्ट्रपतिबाट हटेको एक वर्षपछि नै सन् १९८२ मा कार्टर सेन्टर स्थापना गरेर विश्वभर लोकतन्त्र, मानवअधिकार र बालअधिकारका क्षेत्रमा काम गर्न थालेका उनी सन् १९८५ मा पत्नी रोजालिनका साथ पदयात्राका लागि नेपाल आएका थिए । 

‘त्यतिबेला उहाँ कालापत्थर पनि जानुभएको थियो, नेपालमा दुई साता बिताउनुभएको थियो,’ सन् २००४ मा नेपालको शान्ति प्रक्रियालाई सघाउन खुलेको कार्टर सेन्टरका राजनीतिक विश्लेषक घनश्याम ओझा भन्छन्, ‘त्यही बेलादेखि उहाँलाई नेपालको निकै माया लागेको रहेछ ।’ नेपालप्रति कार्टरको यही चासो बुझेर होला, दरबार हत्याकाण्डपछि राजाले सत्ता हत्याउँदा गणतन्त्रका लागि संयुक्त आन्दोलन गर्ने तयारीमा रहेका ७ दल र विद्रोही माओवादीले अन्तर्राष्ट्रिय समर्थन जुटाउन कार्टरलाई नै सम्पर्क गरेका थिए । 

‘त्यसका लागि सन् २००५ को अन्ततिर एटलान्टास्थित कार्टर सेन्टर पुगेर उहाँसँग भेटेको थिएँ,’ अमेरिकाका लागि नेपालका पूर्वराजदूत अर्जुन कार्की भन्छन्, ‘त्यतिबेला उहाँले नेपालको बिग्रँदो अवस्था र बढ्दो द्वन्द्वलाई जतिसक्दो चाँडो हटाएर लोकतन्त्र बहाली गर्ने पक्षमा चासो देखाउनु भएको थियो ।’ 

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कार्टरले अमेरिकी दृष्टिकोणलाई बढी लचिलो बनाउन मुख्य भूमिका निर्वाह गरेका थिए । पहिलो संविधानसभाको चुनाव २०६४ चैत २८ मा हुनुअघि उनी पर्यवेक्षणमा आएका थिए । अमेरिकाले आतंकवादी सूचीमा राखिराखेकै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल, तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराईलगायत नेतालाई कार्टरले भेटेका थिए । त्यो भेटको सम्झना अझै ताजा रहेको भट्टराईले बताए । 

‘भारत, चीन र अमेरिका सामरिक रूपले महत्त्वपूर्ण शक्ति भएकाले शान्ति प्रक्रियामा यिनीहरूको सहयोग चाहिन्छ भन्ने हामीलाई लागेको थियो,’ भट्टराई भन्छन्, ‘सेना समायोजन, संविधान निर्माण र संक्रमणकालीन न्यायलगायत सबै मुद्दा टुंग्याउन चीन र भारतसँगको सम्बन्ध त हामीलाई सहजै थियो, तर अमेरिकाले आतंकवादी सूचीमा राखिराखेका बेला कार्टरले हामीलाई भेटेर त्यतिबेलाको अमेरिकी राज्य प्रशासनलाई शान्ति प्रक्रियाबारे लचिलो हुन आग्रह गरे, त्यो ठूलो कुरा थियो ।’ 

कार्टरलाई एक्काइसौं शताब्दीका सम्झिनलायक विश्व नेता मान्छन्, पूर्वप्रधानमन्त्री भट्टराई । ‘लोकतन्त्र र मानवअधिकार रक्षाका लागि उहाँको ठूलो योगदान रह्यो,’ उनी भन्छन्, ‘चुनाव जितेर पहिलो पार्टी भइसक्दा पनि अमेरिकाले हामीलाई आतंकवादीकै सूचीमा राखिराखेको थियो, त्यसलाई हटाउन आफूले पहल गर्ने कुरा उहाँले मसँगको भेटमा गर्नुभएको थियो ।’

२०६३ माघमा अन्तरिम संविधान जारी भएपछि ६ महिनाभित्र संविधानसभाको चुनाव गराउने तय भएको थियो । ‘हामीले २०६४ जेठमा चुनावको मिति तोक्यौं, पर्यवेक्षणका लागि कार्टर स्वयं आउने कुरा थियो,’ तत्कालीन प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्छन्, ‘दलहरूबीच निर्वाचन प्रणालीमा कुरा नमिल्दा अन्तिम समयमा चुनाव स्थगित हुन पुग्यो, तर पनि कार्टर पूर्वनिर्धारित तालिकाअनुसार नेपाल आउनुभयो र सिधै निर्वाचन आयोगमा छिरेर कसरी नेपालको शान्ति प्रक्रियालाई अघि बढाउन सकिएला भनेर सोधखोज गर्नुभयो ।’

अर्को पटक मंसिरमा गर्ने भनिएको चुनाव पनि रद्द भयो । निर्वाचन प्रणालीमा चित्त नबुझाएको माओवादीले सत्ता छाडेपछि निर्वाचन आयोगले समानुपातिक सूचीको उम्मेदवारी दिने अन्तिम दिन चुनाव स्थगित गरेको घोषणा गर्‍यो । त्यतिखेर पनि कार्टर नेपाल आएर ‘शान्ति प्रक्रिया भाँडियो भने बर्बाद हुन्छ’ भन्दै नागरिक समाजका अगुवादेखि दलका नेताहरूसम्मलाई भेटेर सहजीकरण गर्ने काम गरेको पोखरेल सम्झन्छन् । 

खासगरी, निर्वाचन प्राणलीमा माओवादी र अन्य दलबीच सहमति हुन सकेको थिएन । माओवादी शतप्रतिशत समानुपातिक निर्वाचनको पक्षमा थियो भने कांग्रेस र एमाले शतप्रतिशत प्रत्यक्ष चुनाव चाहन्थे । दुवै पक्षलाई भेटघाट गरेर समानुपातिक ६० र प्रत्यक्ष ४० प्रतिशत गरी मिश्रित प्रणालीबाट सांसद चुनिने विधिमा सहमत गराउन कार्टरले मुख्य भूमिका निर्वाह गरेको राजनीतिक विश्लेषक ओझाले बताए । 

२०६४ मा पहिलो संविधानसभा चुनावको पर्यवेक्षणका लागि कार्टर सेन्टरले देशैभर आफ्ना पर्यवेक्षकलाई पठाएको थियो । तिनले दिएको सूचनाका आधारमा अपराह्न ३ बजे नै कार्टरले छिटपुट घटनाबाहेक चुनाव शान्तिपूर्ण रहेको अभिव्यक्ति दिए, जसलाई संसारभरका सञ्चार माध्यमले प्रमुखताका साथ प्रकाशन प्रसारण गरे । ‘धेरैले उहाँको अभिव्यक्ति अलिक हतारमा आएको भनेर आलोचना गरेका थिए,’ पोखरेल भन्छन्, ‘तर, उहाँले त्यति भन्दिनाले नेपालको निर्वाचनले अन्तर्राष्ट्रिय जगत्मा वैधता पायो, केही गरी दलहरूमध्ये कसैले चुनावको परिणामलाई धाँधली भयो भनेर नस्विकारेको भए नेपालको शान्ति प्रक्रिया नै भाँडिन सक्थ्यो ।’

दोस्रो संविधानसभाको चुनाव २०७० मंसिर ४ मा हुँदा पनि ८९ वर्षका कार्टर नेपाल आएका थिए । ‘यस पटक मैले उहाँलाई पहिलेझैं मतदान सम्पन्न नहुँदै यस्तो भयो भनेर प्रतिक्रिया दिँदा आलोचना आउन सक्ने संकेत दिएको थिएँ,’ तत्कालीन प्रमुख आयुक्त नीलकण्ठ उप्रेती भन्छन्, ‘उहाँले यसलाई बडो सकारात्मक रूपमा लिनुभयो र साँझ साढे ६ बजेतिर फोन गरेर अब मैले बोल्दा हुन्छ त भनेर सोध्नुभयो, यति ठूलो भईकन पनि यस्तो नम्र स्वभावको मानिस मैले देखेकै थिइनँ ।’

अमेरिकाका ३९औं राष्ट्रपति कार्टरले सार्वजनिक सेवा, विश्वव्यापी शान्ति निर्माण र मानवतावादी कार्यमा गहिरो र स्थायी छाप छाडेका छन् । उनको प्रभाव केवल ह्वाइटहाउससम्म सीमित थिएन, संसारको कुनाकुनामा फैलिएको थियो, जहाँ शान्ति र न्याय संकटमा थियो । सन् १९२४ को १ अक्टोबरमा अमेरिकाको जर्जियामा जन्मिएका कार्टरका बुबा बदाम किसान थिए । उनको बाल्यकाल ठूलो मन्दी र पृथकतावादी दक्षिणी अमेरिकी समाजमा बित्यो । 

अमेरिकी नौसेनामा पनि काम गरेका कार्टरले पछि जागिर छाडेर बुबाकै बदाम खेतीलाई सम्हाले । साथसाथै राजनीति पनि अघि बढाए । सन् १९६२ मा उनी जर्जियाको सिनेटमा निर्वाचित भए, १९६६ मा हारे पनि १९७० मा त्यसै राज्यको गभर्नर पद जिते । सन् १९७७ मा राष्ट्रपति चुनिएका कार्टरले मानवअधिकारका पक्षमा विश्वव्यापी वकालत गरे र मध्यपूर्व एसियामा शान्ति ल्याउन उल्लेखनीय कदम चाले । विशेष गरी क्याम्प डेविड सम्झौतामा इजिप्ट र इजरायलबीच शान्ति स्थापना गराए । पर्यावरणदेखि सामाजिक न्यायसम्मका धेरै मुद्दामा उल्लेख्य सुधार गरेका थिए । 

चीनसँगको नीतिका मामलामा निक्सनको उपलब्धिलाई विस्तार गर्दै कार्टरले सन् १९७९ जनवरीमा पूर्ण कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरे । कार्टरका लागि यो एक कठिन निर्णय थियो, जसका लागि ताइवानसँगको औपचारिक कूटनीतिक सम्बन्धलाई उनले समाप्त गर्नुपरेको थियो । त्यसपछि चीनका नेता देङ स्याओपिङको अमेरिका भ्रमणले दुई देशबीचको सम्बन्धमा ऐतिहासिक सुधार ल्यायो ।

त्यसै वर्ष कार्टरले सोभियत प्रमुख लियोनिद ब्रिझनेभसँग ‘दोस्रो रणनीतिक अस्त्र सीमा वार्तालाप समाप्त गर्ने सम्झौता (साल्ट सेकेन्ड)’ मा हस्ताक्षर गरे । यसले रणनीतिक आणविक अस्त्रको प्रसारलाई खुम्च्यायो । त्यसैबेला अमेरिकामा ऊर्जा संकट चुलिएको थियो । सन् १९७९ मा कार्टरले सम्बोधन गर्दै राष्ट्रपति पदका आलोचनाहरूले राष्ट्रलाई नैतिक र आत्मिक अवसादमा पारेको भन्दै तिनको आलोचना गरे जसले उनलाई ठूलो राजनीतिक क्षति पुर्‍यायो । उनका विपक्षीहरू, विशेष गरी रोनाल्ड रेगनलाई कार्टर एक नकारात्मक र प्रेरणाहीन नेता हुन् भनेर प्रचार गर्न सजिलो बनायो । सन् १९८० को चुनावमा रिपब्लिकन उम्मेदवार रेगनसँग कार्टर पराजित भए ।

तर, कार्टरका लागि राष्ट्रपतीय पदबाट बाहिरिएपछिका वर्षहरू अझ बढी उपलब्धिमूलक भए । उनी कुनै पूर्वराष्ट्रपति जस्तो विश्राममा बसेनन्, बरु उनले आफ्नो जीवनलाई सेवामा समर्पित गरे । विश्वभर स्वास्थ्य, मानवअधिकार र लोकतान्त्रिक शासनका पक्षमा महत्त्वपूर्ण कार्य गरिरहे ।

 उनले १ सय ३५ भन्दा बढी देशमा १ सय २५ भन्दा बढी चुनावको निगरानी गरे । यही कामका लागि २००२ मा उनलाई नोबेल शान्ति पुरस्कार दिइयो ।

उनले सधैं भन्ने गर्थे, ‘एक व्यक्तिले संसार बदल्न सक्छ, यो विश्वास मात्र होइन, यो मेरो जीवनको ध्येय हो ।’ विश्व नेताहरूले जिम्मी कार्टरको निधनले लोकतन्त्रका धरोहरको अवसान भएको भन्दै समवेदना व्यक्त गरेका छन् । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सीसीले इजरायलसँग आफ्नो देशको शान्ति सम्झौता गराउन कार्टरले गरेको प्रयासका कारण उनी इतिहासमा अमिट रहनेछन् भनेका छन् भन्दै मृत्युको खबरले दुःख लागेको बताएका छन् । 

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले जीवनभरि सबैभन्दा कमजोरका अधिकारका लागि काम गरेका कार्टरको मृत्युमा शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गर्छु भनी सन्देश पठाएका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले वक्तव्य जारी गर्दै भनेका छन्, ‘मलाई राष्ट्रपति कार्टरको निधनको खबरले धेरै दुःख लाग्यो ।’ चीन, भारत, जापान, जर्मनीदेखि विश्वभरका सरकार तथा राष्ट्रप्रमुखले कार्टरको मृत्युमा गहिरो शोक प्रकट गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कार्टरको निधनमा शोक प्रकट गरेका छन् । 

कार्टरले गत अक्टोबर २०२४ मा आफ्नो १०० औं जन्मदिन मनाएका थिए । क्यान्सरको उपचारका क्रममा रहेका उनका अन्तिम १९ महिना हस्पिस सेन्टरमा बितेको थियो । प्रेममा परेको एक वर्षपछि नै उनले सन् १९४६ मा एलेनोरा रोजालिन स्मिथसँग विवाह गरेका थिए । सन् २०१५ मा उनले आफ्नो पुस्तक ‘ए फुल लाइफ’ पनि लेखेका थिए । 

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully