नागार्जुनका मेयर बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार अभियोगमा मुद्दा

भ्रष्टाचारमा ९ करोड २२ लाख र सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख बिगो मागदाबी

पुस १५, २०८१

कान्तिपुर संवाददाता

Case against Nagarjuna Mayor Basnet on charges of money laundering and corruption

काठमाडौँ — काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको छ । घरजग्गा कारोबारी राजुप्रसाद कँडेलबाट घूसबापत रकम लिएर त्यसलाई शुद्धीकरण गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

घरजग्गा कारोबारका क्रममा मेयर बस्नेतले कँडेलबाट घूस लिएको अनुसन्धानबाट खुलेपछि अदालतमा मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।

सार्वजनिक पदको दुरुपयोग गरी बस्नेतले कँडेलबाट लिएको घूसलाई शुद्धीकरण गरी बस्नेतले अन्यत्रै लगानी गरेको खुलेको विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ । बस्नेत २०७४ र २०७९ गरी दुवै स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी भएका थिए । कँडेल भने पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक हुन् । 

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मेयर बस्नेतविरुद्ध घूस प्रकरणमा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बिगो कायम गरी ८ वर्षदेखि १० वर्षसम्म कैद र जरिवानाको सजाय मागदाबी गरिएको छ ।

घूस प्रकरणमै ‘लाभ प्राप्त गर्ने प्रकृतिको मतियार’ भएको कसुरमा मेयर बस्नेतलाई सरह नै उनकी पत्नी उर्मिलालाई पनि सजाय गर्नुपर्ने अख्तियारको मागदाबी छ । घरजग्गा कारोबारी कँडेललाई पनि अख्तियारले घुसबापतको रकम ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँलाई बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेको छ ।

व्यापारी कँडेलबाट लिएको घूस शुद्धीकरण गरेको अभियोगमा अख्तियारले बस्नेतविरुद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेर मुद्दा दायर गरेको छ । शुद्धीकरण गरेको सम्पत्तिबाट बढे–बढाइएको सम्पत्ति जफत गर्न र पदमा रहेर कसुर गरेकामा थप सजायको पनि मागदाबी गरिएको छ ।

मेयर बस्नेतकी पत्नी उर्मिलाविरुद्ध भने मेयर बस्नेतविरुद्ध मागदाबी गरिएको बिगो नै कायम गरी कैद र जरिवानाको हकमा मुख्य कसुरदारलाई हुने सजायको आधा मागदाबी गरिएको छ । घूस खुवाउने व्यापारी कँडेलविरुद्ध सम्पत्ति शुद्धीकरण गर्न दुरुत्साहन, मद्दत, सहजीकरणसमेत गरेकामा मतियार कायम गरी बिगो, कैद र जरिवाना मागदाबी गरी मुद्दा दायर भएको हो । 

‘मोहनबहादुर बस्नेतले नगर प्रमुखको पद दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहेको घर/जग्गा व्यवसायी पद्मा कोलोनी प्रालि/पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा जगतगुरु कृपालु प्रतिष्ठान नेपालका अध्यक्ष राजुप्रसाद कँडेलबाट घूस/रिसवत लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको/दिन लगाएको, प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाबाट विदेशी सहायता ७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिए/दिन लगाएको’ अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

यस्तै, ‘प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी जग्गा प्रतिवादी राजुप्रसाद कँडेल तथा निजका कम्पनीहरूलाई उपलब्ध गराउने गरी सम्झौता गरे/गराएकामा सोही सम्झौतासमेत कार्यान्वयन गर्न, गराउन भुलभुलैयामा पारी जग्गाधनीसँग सम्झौता गरी/गराई मन्दिर निर्माणका लागि भनी लिएर जग्गा प्लटिङमा बिक्री गर्ने काममा संलग्न रहेको’ अख्तियारले जनाएको छ ।

४७ करोड ७५ लाख रुपैयाँ बजार मूल्य पर्ने जग्गाका लागि पद्म कोलोनीले १८ करोड ९४ लाख १८ हजार ४ सय ४८ रुपैयाँ मात्रै भुक्तानी दिएको र बाँकी रकम मिलेमतोमा मेयर बस्नेत र व्यापारी कँडेलले व्यवस्थापन गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

अख्तियारको आरोपपत्रमा भनिएको छ, ‘यसबापत बस्नेतले नगर प्रमुखको पद ओहदाको दुरुपयोग गरी उल्लिखित कार्य गर्न, गरिदिएबापत बैंक खातामार्फत २ करोड १५ लाख ७३ हजार ३ सय ९५ रुपैयाँ र ६ करोड ८२ लाख मूल्य बराबरको जग्गा र वैवाहिक भोज गर्दा लागेको २४ लाख ७२ हजार ६ सय ३७ रुपैयाँ शंकर होटलमा भुक्तानी गर्न लगाएको पुष्टि हुन आयो ।’

अख्तियारका अनुसार मेयर बस्नेतले घूसबापत लिएको रकम आफू र पत्नीका खातामा ल्याएर शुद्धीकरण गरेको देखिन्छ । जगतगुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको मन्दिरका लागि भनी खरिद गर्न लागेको जग्गासमेत स्थानीयलाई बिक्री गर्न जग्गा बैनाबट्टा गरेको पनि खुलेको छ ।

त्यसबापत मेयर बस्नेतले आफ्नो बैंक खातामा विभिन्न व्यक्तिबाट ३ करोड ७२ हजार रुपैयाँ लिएको खुलेको छ । जग्गा खरिद गर्न र गराउन व्यापारीलाई अनुकूल हुने गरी काम गरिदिएबापत मेयर बस्नेतले पद्म मर्चेन्ट प्रालि र पद्म कोलोनीको खाताबाट घूस लिएको अख्तियारको दाबी छ । 

मेयर बस्नेतले पद्म कोलोनीका सञ्चालक कँडेलसँग २०७८ का विभिन्न मितिमा कारोबार गरी साझेदार बनेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यसरी साझेदारमा कारोबार गरेर आर्जित गैरकानुनी लाभबापतको जग्गा मेयर बस्नेतकी पत्नी उर्मिलाका नामबाट पद्म कोलोनीका सञ्चालक कँडेलकी पत्नी सरस्वती शर्मालाई बिक्री गरेको पनि भेटिएको अख्तियारले जनाएको छ । 

अख्तियारले सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाएको यो दोस्रो पटक हो । लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख तथा इन्जिनियर सरोज भट्टराईविरुद्ध पनि गत वर्ष सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएको थियो । भट्टराई विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् ।

कान्तिपुर

Link copied successfully