काठमाडौँ — आज देश-दुनियाँमा दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १ सय ७९ जनाको मृत्यु, सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारीदेखि सीएनएनको साहसी खेलाडीको सूचीमा आरोही पूर्णिमा श्रेष्ठसम्मका खबर चर्चामा रहे ।
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा १ सय ७९ जनाको मृत्यु भएको छ । १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण-पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आइतबार बिहान स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त विमानबाट चालक दलका दुई सदस्यको भने जीवितै उद्धार गरिएको छ ।
दक्षिण कोरिया विमान दुर्घटना : १७९ जनाको मृत्यु, चालक दलका दुई सदस्यको उद्धार [अपडेट]
सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने उद्देश्यले ल्याइएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले अध्यादेश स्वीकृतसहित जारी गरेका हुन् । योसँगै अब सरकारलाई अध्यादेश कार्यान्वयनको बाटो खुलेको छ । सरकारले गत मंगलबार अध्यादेशमार्फत सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने निर्णय गरेको थियो ।
सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी, कार्यान्वयनको बाटो खुल्यो
नुवाकोटाको शेरा दरबार र शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा व्यक्तिको नाममा लैजान गरेको घटनाको गम्भीर रूपमा छानबिन गर्नका लागि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख दीपक थापालाई निर्देशन दिएका छन् ।
शेरा दरबार जग्गाको गम्भीर छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन
चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले १४९ वटा मुलुकसँग व्यापार गरेको छ । त्यसमध्ये ३० मुलुकसँगको व्यापार नाफामा र ११८ मुलुकसँग घाटामा रहेको भन्सार विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपैयाँको वस्तु आयात गर्दा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको मात्रै वस्तु निर्यात गरेको छ ।
११८ मुलुकसँग घाटामा व्यापार गर्दा ३० मुलुकसँग मात्रै नाफामा
दुई हप्तामै तीन पटक सगरमाथाको आरोहण गरेकी पूर्णिमा श्रेष्ठ सीएनएनको साहसी खेलाडीको सूचीमा परेकी छिन् । फोटोपत्रकारसमेत रहेकी पूर्णिमा सीएनएनको 'द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४' को सूचीमा परेकी हुन् । एकै सिजनमा तीन पटक सगरमाथा चढ्ने उनी विश्वकै पहिलो महिला आरोही हन् । उनले गत मे १२, १९ र २५ मा लगातार सगरमाथाको आरोहण गरेकी थिइन् ।
सीएनएनको साहसी खेलाडीको सूचीमा आरोही पूर्णिमा श्रेष्ठ
