एमाले नदी हो, यसमा सबै खोला मिसिन्छिन् : ओली

'मौरीको संगत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ, झिँगाको संगत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ'

पुस १४, २०८१

कान्तिपुर संवाददाता

UML is a river, all streams merge into it: Oli

काठमाडौँ — प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उद्देश्य सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासमा आइतबार आयोजित कार्यक्रममा ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरूको रुचि फरक-फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताए । 

कार्यक्रममा ओलीले एमाले सबैको साझा पार्टी भएको बताए । 'एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको संगत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको संगत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईँहरूको एमालेमा आउने छनोट सही छ । तपाईँहरू नमुना हुनुपर्छ,' पार्टी प्रवेश गर्नेहरूलाई ओलीले भने, 'प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरू सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरूको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरू ब्रेक गर्नुछ र नयाँ-नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरूलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।'

ओलीले कामको प्रभाव छोड्ने नभई नतिजा निकाल्नुपर्ने बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully