अर्थशास्त्रकी श्रीज्याले पाइन् दुई पदक र एक पुरस्कार

त्रिविको स्वर्ण दीक्षान्तमा ७४ हजार १४९ विद्यार्थी दीक्षित 

पुस १४, २०८१

सुदीप कैनी

Sreeja of Economics won two medals and one award

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको स्वर्ण (५० औं) दीक्षान्तमा ७४ हजार १ सय ४९ छात्रछात्रा दीक्षित भएका छन् । दीक्षित हुनेमध्ये ८० प्रतिशत विद्यार्थी साधारण र २० प्रतिशत प्राविधिक धारतर्फका छन् । व्यवस्थापन, शिक्षा, मानविकी, कानुन संकाय साधारण र इन्जिनियरिङ, मेडिकल, विज्ञान, कृषि, वन विज्ञानसहितका विषय प्राविधिक धारतर्फका हुन् । 

५९ हजार १ सय १६ विद्यार्थी साधारण र १५ हजार ३३ जना प्राविधिक धारतर्फका रहेको रजिस्ट्रार केदार रिजालले जनाए ।

सबैभन्दा बढी व्यवस्थापन संकाय र सबैभन्दा कम वन विज्ञान संकायका विद्यार्थी दीक्षित भएको परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक छ । व्यवस्थापनमा ३१ हजार ९० जना छात्रछात्राले शैक्षिक उपाधि प्राप्त गरेका हुन् । त्यसपछि मानविकीका १३ हजार ६ सय २३, शिक्षा संकायका ११ हजार ३ सय १७ छात्रछात्रा छन् । 

त्यस्तै विज्ञान संकायका ७ हजार ७ जना, इन्जिनियरिङका ५ हजार ३ सय ४, कानुन संकायका ३ हजार ८६, मेडिकल शिक्षाका १ हजार ७ सय ७० जना, कृषि तथा पशु विज्ञानका ६ सय ४८ र वन विज्ञानतर्फका ३ सय ४ जना विद्यार्थी दीक्षित भएका हुन् ।

स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि पूरा गर्ने विद्यार्थीलाई दीक्षित गरिएको थियो । स्नातक पूरा गरेका ५३ हजार ६ सय ८२, स्नातकोत्तर तहका २० हजार १ सय ३५, एमफिलका १ सय ७८ र विद्यावारिधि पूरा गरेका १ सय ५४ जना दीक्षित भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली, शिक्षामन्त्री तथा सहकुलपति विद्या भट्टराई लगायतको उपस्थितिमा विश्वविद्यालयका विभिन्न तहको परीक्षामा सर्वोत्कृष्ट हुने छात्रछात्रालाई पदक र पुरस्कारसमेत प्रदान गरिएको थियो । २२ पुरस्कार र पदक वितरण गर्दा १७ वटा छात्राहरूले पाएका थिए । १४ हजार ३ सय ८ जना विद्यार्थी समारोहमा सहभागी थिए । तिनका अभिभावक, अतिथि र पाहुना गरी कार्यक्रममा २० हजारभन्दा बढीको सहभागिता रहेको त्रिविले जनाएको छ ।

बहुविश्वविद्यालय अवधारणाअन्तर्गत देशभर २२ विश्वविद्यालय सञ्चालनमा रहे पनि ७८ प्रतिशतभन्दा बढी विद्यार्थीको भार त्रिविमा रहँदै आएको छ । ५० औं दीक्षान्तको अवसरमा त्रिविले समयानुकूल शैक्षिक कार्यक्रम, पाठ्यक्रम निर्माण, सोहीअनुसार अध्ययन अध्यापन तथा अनुसन्धान र प्रविधिको उच्चतम प्रयोग गरी देशीविदेशी विद्यार्थीलाई आकर्षण गर्ने प्रतिबद्धता जनाएको छ ।

समारोहमा प्रमुख अथिति कृषि अर्थशास्त्री डा. रामप्रकाश यादवले दीक्षित हुने विद्यार्थीलाई इमानदारी र लगनशीलताले नै सफलता हात पार्न सकिने सुझाव दिए । प्रधानमन्त्री ओलीले शिक्षा र सीपलाई समाजको भलाईमा प्रयोग गर्न दीक्षित छात्रछात्रालाई आग्रह गरे । ‘पीएचडी गरे पनि अध्ययन कहिल्यै पूरा हुँदैन, व्यवहारमा लागू गर्दै ज्ञानलाई नवीकरण गर्नुपर्छ,’ उनले भने, ‘विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीपलाई समाजको भलाईमा समुचित प्रयोग गर्नुहोस् ।’ 

उनले त्रिभुवन विश्वविद्यालयले उच्चशिक्षामा योगदान गरेकोमा प्रशंसा गर्दै केही कमीकमजोरी रहेकोमा आगामी दिनमा सुधार गर्दै जाने बताए । शिक्षामन्त्री भट्टराईले विद्यार्थीले शैक्षिक उपाधि प्राप्त गरे पनि रोजगारीका अवसरसँग तालमेल हुन नसकेको बताइन् ।

सोही कारण विद्यार्थी र युवाहरू विदेशतर्फ आकर्षित भएको उनको भनाइ थियो । त्रिविका उपकुलपति केशरजंग बरालले त्रिविलाई क्रमिक रूपमा सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए । शैक्षिक, भौतिक, प्रशासनिक सेवा परिमार्जन गरिने उनले बताए । 

त्रिविका ७६ जिल्लामा ६४ आंगिक र एक हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । डोटी र दाङमा दुई वटा आंगिक क्याम्पस स्थापनाको चरणमा छन् । सम्बन्धन प्राप्तमध्ये ३ सय ३९ वटा सामुदायिक र ५ सय १४ वटा निजी क्याम्पसहरू हुन् । सेमेस्टर र वार्षिक परीक्षा प्रणालीमा विभिन्न संकाय र विषयका गरी ७१ भन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । सबैभन्दा बढी विद्यार्थी त्रिविका सामुदायिक क्याम्पसमा अध्ययन गर्ने विश्वविद्यालय अनुदान आयोगको तथ्यांक छ ।

 त्रिविमा हाल अध्ययनरत ४ लाख ९१ हजार विद्यार्थीमध्ये २ लाख २ हजार सामुदायिक, १ लाख ७४ हजार आंगिक र १ लाख १४ हजार निजी क्याम्पसमा पढ्छन् । सामुदायिक क्याम्पसको संख्या बढी भए पनि दूरदराजको क्याम्पसमा विद्यार्थी संख्या कमी आएकाले समायोजनको नीति लिइएको उपकुलपति बरालले जनाए । विश्वविद्यालयको संरचना भीमकाय ठूलो भएपछि पुनःसंरचनाको नीति पनि अघि सारिएको छ । पाठ्यक्रम र परीक्षा प्रणालीलाई परिमार्जन गर्ने घोषणा गरिएको छ ।

रोजेको विषय पढ्यो र मिहिनेत गर्‍यो भने सफलता मिल्छ’

Sreeja of Economics won two medals and one award

इच्छाशक्ति र मिहिनेतले सफलता मिल्ने रहेछ । कसैको दबाब अथवा सल्लाहमा भन्दा पनि आफ्नै इच्छाले अर्थशास्त्र रोजेर पढेको हुँ । सबैको एउटा/एउटा सपना हुन्छ नै । बच्चादेखि नै डाक्टर बन्ने मन थियो । सेन्ट मेरिज, जावलाखेलबाट एसएलसी पास गरें । डाक्टर बन्छु भनेर ‘प्लसटु’ मा विज्ञान (बायोलोजी) लिएको थिएँ । कक्षा १२ पास नगर्दासम्म त्यही थियो । ‘प्लसटु’ सकेपछि धारणामा परिवर्तन आयो । डाक्टर पढिनँ । इन्जिनियरिङ पढ्न पनि मन लागेन ।

काठमाडौं विश्वविद्यालयमा बीबीए भर्ना भएँ । बीबीएमा भर्ना भएपछि अर्थशास्त्रतर्फ थप आकर्षित हुँदै गएँ । दिदीले पनि अर्थशास्त्र पढ्न सहयोग गर्नुभयो । आफैंलाई भित्रबाट मन पर्न थालेपछि एमए अर्थशास्त्रमा भर्ना भएको हुँ । एमए सकेपछि केही समय काम पनि गरें । अहिले पीएचडीको तयारीमा छु । आफूले रोजेको विषय पढ्यो र मिहिनेत गर्दै गयो भने सफलता हात पर्ने रहेछ । 

अर्थशास्त्रकै विद्यार्थी भएकाले मुलुकको अर्थतन्त्रबारे चासो राख्ने गरेको छु । अहिले देशको अर्थतन्त्र शिथिल भएको कुरा छ । मेरो विचारमा लगानीकर्ताहरूको आत्मबल घटेको हो । बैंकले ऋण दिन्छु भन्दा पनि लगानीकर्ताहरूले ऋण लिने अवस्था छैन । यस्तो अवस्था किन आयो ? सरकारले यसमा ध्यान दिनुपर्छ । राज्यले लगानीकर्ताहरूलाई विश्वासमा लिन सक्नुपर्छ ।

पूर्वाधारमा लगानी बढाएर मात्र अर्थतन्त्रमा सुधार गर्न सकिन्छ जस्तो लाग्छ । उद्योगधन्दालगायत उत्पादनका क्षेत्रमा पनि लगानी गर्ने वातावरण बनाउनुपर्छ । त्यसका लागि सहज अवस्था बनाउनुपर्छ । अर्थतन्त्र सुधारका लागि कतिपय कानुनहरू पनि बाधक छन् । त्यसमा पनि सुधार गर्न आवश्यक छ । ऐन, कानुन पनि सहज बनाउनुपर्छ ।

 (काफ्ले त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबाट एमए अर्थशास्त्रमा सर्वप्रथम भएर दुई पदक र एक पुरस्कारबाट सम्मानित भएकी छन् । उनले तारापद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पाएकी हुन् ।)

सुदीप कैनी कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully