एक्स्काभेटरसहित कर्णालीमा एक बेपत्ता

पुस १४, २०८१

कान्तिपुर संवाददाता

One missing in Karnali with excavator

कालीकोट — कालीकोटमा कर्णाली नदी तार्ने क्रममा एक्स्काभेटर पल्टिँदा एक जना बेपत्ता भएका छन् । एक्स्काभेटरका सहचालक ४० वर्षीय कुस्माखर सन्ज्याल बेपत्ता भएका हुन् । प्रहरीले खोजी गरिरहे पनि शनिबार साँझसम्म भेटिएका छैनन् । चालक नमराज मल्ललाई भने स्थानीयले उद्धार गरेका छन् । 

कालीकोटको पचालझरना–८ चाटेबगरदेखि वडा–४ जारकोटमा शुक्रबार साँझ बा२क ५९८६ नम्बरको एक्स्काभेटर तार्ने क्रममा पल्टिएको हो । सडक खन्न उक्त एक्स्काभेटर लगिँदै थियो । एक्स्काभेटर पल्टिएर व्यक्ति डुबेको भिडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

प्रत्यक्षदर्शी स्थानीय प्रकाश सेजुवालले सहचालक कुस्माखर करिब दुई सय मिटर तल एकछिन देखिएलगत्तै बेपत्ता भएको बताए । जिल्ला प्रहरी कालीकोटका निमित्त प्रमुख इन्स्पेक्टर गोविन्द चौधरीले बेपत्ताको खोजीका लागि कर्णालीको तल्लो तटीय क्षेत्रमा प्रहरी परिचालन गरिएको जानकारी दिए ।

‘पानीमा पस्ने औजार उपकरण केही छैन, चिसो पानीमा डुबेर खोज्न सहज छैन,’ उनले भने, ‘स्थानीयसित मिलेर खोजी गरिरहेका छौं ।’ 

कुस्माखरले नदी किनारमा ४ वर्षीय छोरा विवशलाई छाडेका थिए । शुक्रबार बिहान विवशले बुबासँगै जान्छु भनेर जिद्दी गरेपछि छोरालाई काँधमा बोकेर घरबाट एक घण्टा टाढा पर्ने कर्णाली करिडोरको चाटेबगर झरेका थिए कुस्माखर ।

One missing in Karnali with excavator

‘घरबाट नजाऊ भनेको बाबुले जिद्दी गर्‍यो । बुबासँग छोराको अन्तिम दिन रहेछ,’ कुस्माखरकी पत्नी गौराले भनिन्, ‘यहाँ डुबेर बेपत्ता भएका अहिलेसम्म कोही जीवित भेटिएका छैनन् । अब जिउँदो भेटिने त आस नै छैन, शव भेटाइदिए पनि हुन्थ्यो ।’ उनका ३ छोरी र १ छोरा छन् । 

पचालझरना–१ देखि ५ वडामा पर्ने सिकु, खयरकोट, लाफा, खार्दु, जारकोट, रास्नाकोट र बाझकोट गाउँलाई जोड्न कर्णाली नदीमा पुल नहुँदा स्थानीयलाई सास्ती छ । जारकोटमा पक्की पुल बनाउन २०७७ मा १३ करोड लागतमा पूर्वाधार विकास कार्यालयबाट श्रीहिराचन–क्याराभान सुपरस्टार जेभीले ठेक्का लिएको थियो ।

ठेकेदारले १ करोड १६ लाख पेस्की लगेकोमा ४४ लाखको काम गरेको बिल पठाएको कार्यालयका इन्जिनियर लक्ष्मण पाण्डेले बताए । ‘काम त २०७९ मै सक्नुपर्ने सम्झौता हो । म्याद थपेर आगामी चैतसम्म छ,’ उनले भने, ‘हालसम्म २५ प्रतिशत मात्र काम भएको छ । बाँकी अवधिमा पनि पूरा हुने सम्भावना छैन ।’

कान्तिपुर

Link copied successfully