माओवादी सच्चिए आगामी चुनावमा पहिलो पार्टी बन्छ : उपमहासचिव पुन

पुस १४, २०८१

कान्तिपुर संवाददाता

Maoists will become the first party in the upcoming elections: Deputy Secretary General Pun

प्यूठान — नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताका मुद्दा बोकेर माओवादी सुध्रिने हो भने आगामी चुनावमा पहिलो पार्टी बन्ने बताएका छन् । 

माओवादी केन्द्र स्वर्गद्वारी नगरपालिकाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पुनले माओवादीले पनि विगतमा गल्ती गरेको स्वीकार गरे । माओवादी पार्टी पनि टुटफुट र विभाजनको सिकार हुन पुगेको र सत्तामा पुग्दा जनताका कतिपय एजेन्डा छुट्न पुगेकाले माओवादीले त्यसबाट पाठ सिकेर अघि बढ्न तयार हुनुपर्ने उनले बताए । 

आफैंलाई सुधारेर अघि बढ्न तयार भएमा आगामी २०८४ को चुनावबाट माओवादी केन्द्र पहिलो दल बन्ने सक्ने उनको दाबी छ । उपनिर्वाचनमा जनमतको हिसाबले माओवादी दोस्रो र प्रमुख, उपप्रमुख विजयी भएको हिसाबले पहिलो दल भएको उल्लेख गर्दै उनले आगामी चुनावमा माओवादी एक्लै लड्ने बताए । 

जनताले माओवादी एक्लै एजेण्डामा टेकेर उभियोस् भन्ने चाहेको उनले बताए । लोकतन्त्रको विकल्प अझ परिस्कृत लोकतन्त्र हुने उल्लेख गरेका उपमहासचिव पुनले जनताले उठाएका प्रश्नहरुको जवाफ दिने र कमजोरी सच्याएर परिमार्जन गर्दै आफूलाई पुष्टि गर्नुपर्ने बताए । 

नयाँ भनिएका दलहरु पनि विकल्पका रुपमा आउन नसकेको टिप्पणी गर्दै नेता पुनले सिद्धान्त, विचार, संस्कृति र इतिहास नभएकाहरु नयाँ दल र वैकल्पिक शक्ति हुन नसक्ने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully