'जबर्जस्ती ठीक छु भन्ने नेतृत्व पतन हुने र बिलाएर सकिने बलियो सम्भावना छ अथवा कुनातिर कतै फ्याँकिन्छ'
रोल्पा — नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपालको राज्य व्यवस्थाप्रति जनताले प्रश्न उठाएको बताएका छन्। रोल्पामा प्रेस सेन्टर रोल्पा शाखाको छैटौं अधिवेशनको आइतबार उद्घाटन गर्दै उनले अस्थिर राजनीति र विश्वको पुँजी बजारका कारण व्यवस्था माथि नै प्रश्न उठाइएको बताए।
'जनताले विभिन्न ढंगले अहिलेको व्यवस्थामाथि प्रश्न उठाएका छन्। काठमाडौंमा मेयर पदको निर्वाचनमा 'स्वतन्त्र' उम्मेदवारका रूपमा जनताको प्रश्न थियो। अन्यत्र पनि त्यसैगरी व्यवस्था प्रति फरक ढंगले प्रश्न उठाउने गरिएको छ।' पार्टीको उपमहासचिव समेत रहेका नेता पुनले भने, 'जनताको प्रश्न विभिन्न रूप र अवस्थामा प्रकट हुने गरेको छ।' उनले राजनीतिक दल र नेतामाथिको विश्वास र भरोसामा कमी आउँदा व्यवस्था प्रति प्रश्न उठ्ने अवस्था सिर्जना भएको स्वीकार गरे।
लामो समयसम्म बिरामी भएर उपचारपछि गृह जिल्ला आएका उनी यतिबेला पार्टी गतिविधि बढाउन व्यस्त छन्। कार्यकर्ता भेला, प्रशिक्षण एवं घरदैलो अभियानमा लागेका उनले विकास निर्माणका योजनाको अनुगमनमा समेत चासो राखेको दाबी गरे । 'हामीले नै गाउँको विकास गर्ने हो। स्थानीय सरकारको काम कारवाहीबारे समन्वय गरेर समानुपातिक विकास प्रति ध्यान दिनु आवश्यक छ।' उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीको उत्थान र निर्वाचन नतिजाबारे टिप्पणी गर्दै उनले भने, 'एकथरी शक्तिले हामी लगायत पुराना पार्टीको औचित्य सकियो समेत भने। अर्काथरीले त्यसैको विकल्प खोजिएको अर्थ लगाए भने अन्यले बरु राजतन्त्र नै ठफक छ भनेर पछाडि फर्कन खोजे। यसरी प्रश्न गर्दै व्यवस्थामाथि नै व्यंग्य गरेको स्पष्ट देख्न सकिन्छ।' उनले भने अहिलेको लोकतान्त्रिक व्यवस्था भन्दा राम्रो व्यवस्था विश्वमा न भएको तर्क गरे। 'कसैले बढी अधिकार दिइएको र कसैले पछि फर्केर राजतन्त्र नै मान्ने भने पनि हाम्रो पार्टी माओवादी केन्द्रको विचार यसै व्यवस्थालाई मलजल गरेर बलियो बनाउनुपर्छ भन्नेमा अडिग छ,' उनको भनाइ छ ।
उपमहासचिव पुनले देशअनुसारको लोकतन्त्रमा मौलिकता र विशेषता हुने बताए । नेपालमा पनि जनताले चाहेको जस्तो मौलिक लोकतन्त्र पाइएको उनको धारणा छ। ' लोकतन्त्रभित्रका समस्या हुन्छन्, अहिले प्राप्त लोकतन्त्रलाई 'सर्भिसिङ' गरेर टिकाउनुपर्ने अवस्था छ। एकपछि झन राम्रो बन्दै जान्छ। बरु विरोध गर्नु न्यायिक होइन,' उनले भने। लोकतान्त्रिक व्यवस्थालाई नयाँ र पुरानोबीचको लडाइ बनाउनु नपर्ने उनको आग्रह छ। जनताको चेतनास्तर अगाडि भएकाले प्रतिगमन र अग्रगमनबारेको अनुमान गर्नु उचित नहुने उनी बताउँछन्।
पार्टीजस्तै परिमार्जित भएर अघि जाने नेता मात्र अहिलेको व्यवस्थामा टिक्ने र नेतृत्वमा पुग्ने अवस्था भएको उनको भनाइ छ। हरेक पार्टीभित्र नेतृत्वको लडाइँ भएको इंगित गर्दै उनले भने, 'जबर्जस्ती ठीक छु भन्ने नेतृत्व पतन हुने र बिलाएर सकिने बलियो सम्भावना छ अथवा कुनातिर कतै फ्याँकिन्छ,' उनले भने ।
