काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपाली कांग्रेस विधि र नीतिमा सधैँ अडिग रहेको दाबी गरेका छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घ्याङस्वारामा नेपाल तरुण दलले गरेको ‘कांग्रेसको एकसय दिने कार्यक्रम’ अन्तर्गत प्रशिक्षण कार्यक्रममा प्रवक्ता महतले पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पार्टीको छवि कायम राख्न कांग्रेस सफल हुँदै आएको बताए ।
प्रवक्ता महतले नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा कारबाही, निलम्बन र निष्काशन हुने गरेको भन्दै वाक–स्वतन्त्रता, लोकतान्त्रिक पद्दतिको अभ्यास, विधिको शासन, नीति प्रधान भएकै कारण आफ्नो पार्टीमा सो समस्या नरहेको बताए ।
सो अवसरमा महतले आगामी २०८४ सालको चुनाव नुवाकोटबाट लड्ने घोषणा गरेका छन् । उनले भने, 'म ०८४ सालको चुनाव यहीं (नुवाकोट) बाटै लड्छु ।' हाल प्रतिनिधिसभा सदस्य रहेका महत ०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सीता मिजार, कांग्रेसका जिल्ला सभापति रमेशकुमार महत, नेता केदारनरसिंह केसी, कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवाली, रसुवा सभापति प्रभात तामाङ, तरुण दल क्षेत्रीय अध्यक्ष शरण घलेलगायतले पार्टीमा युवाको सहभागिताका लागि भातृ संस्थालाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।
