काठमाडौँ — कांग्रेस नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका निम्ति कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको बताएका छन् । आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले पटक-पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताएका हुन् ।
सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको समेत कोइरालाले बताए । नेता कोइरालाले संविधानमा केही सुधारहरू गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्तायता कांग्रेस र एमालेबीच सक्रियतापूर्वक काम भइरहेको बताए ।
'अब संविधान जस्तो कुरा अन्य दलहरुसँग पनि मिलेर हामीले संविधानमा केही सुधारहरु गर्नुपर्ने हुन्छ । माओवादी, मधेसका दलहरु, रास्वपा अन्य दलहरुसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ । नेपाली काँग्रेस र एमाले मात्रै मिलेर सोच्यौँ भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौँ,' उनले भने ।
नेता कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको बताए । अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने उनको भनाइ छ ।
