भ्रष्टाचारमा ९ करोड २२ लाख र सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख बिगो मागदाबी
काठमाडौँ — काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दुई छुट्टाछुट्टै सजाय मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ ।
घरजग्गा कारोबारी राजुप्रसाद कँडेलबाट घुसबापत रकम लिएर त्यसलाई शुद्धीकरण गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी घुस लिएको र घुसबापतको रकमलाई शुद्धीकरण गरेको अभियोगमा छुट्टाछुट्टै सजाय मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । बस्नेत २०७४ र पछिल्लो पटक २०७९ गरी दुवै स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी भएका थिए । कँडेल पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक हुन् ।
घरजग्गा कारोबारका क्रममा मेयर बस्नेतले कँडेलबाट घुस लिएको अनुसन्धानबाट खुलेको हो । विशेष अदालतमा दायर अभियोगपत्रअनुसार कँडेलबाट लिएको घुसलाई शुद्धीकरण गरी बस्नेतले अन्यत्रै लगानी गरेको पनि खुलेको छ । यही प्रकरणमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थपेर अभियोगपत्र दायर गरिएको हो ।
घुसलाई शुद्धीकरण गरेको अभियोगमा मेयर बस्नेतकी पत्नी उर्मिला बस्नेतलाई पनि मेयर बस्नेतविरुद्ध मागदाबी गरिएसरह नै सजाय गर्नुपर्ने अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ । घुस दिने व्यापारी कँडेललाई पनि अख्तियारले घुसबापतको रकमलाई बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मेयर बस्नेतविरुद्ध घुस प्रकरणमा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बिगो कायम गरी ८ वर्षदेखि १० वर्षसम्म कैद र जरिवानाको सजाय मागदाबी गरिएको छ ।
अख्तियारले घुसबराबरको रकम बिगो कायम गरी सोहीबमोजिम जरिवाना र घुसको रकमले बढे/बढाइएको जायजेथा जफत गर्न पनि मागदाबी लिएको छ । मेयर पत्नी उर्मिलाविरुद्ध पनि अख्तियारले बस्नेतलाई मागदाबी गरिएसरह नै सजाय मागदाबी गरेको छ । त्यस्तै घुस खुवाउने कँडेलविरुद्ध मेयर बस्नेतलाई माग गरिएको बिगोसरह नै सजाय मागदाबी गरिएको हो ।
यसबाहेक मेयर बस्नेतलाई सार्वजनिक ओहदामा रहेर भ्रष्टाचार गरेको धन शुद्धीकरण गरेको कसुरमा छुट्टै सजाय मागदाबी गरिएको अख्तियार प्रवक्ता घिमिरेले बताए । अख्तियारले सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाएको यो दोस्रो पटक हो । लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख तथा इन्जिनियर सरोज भट्टराईविरुद्ध पनि गत वर्ष सम्पत्ति शुद्धीकरणमै मुद्दा चलाएकोमा उनी विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् । आइतबार नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरुद्ध अख्तियारले दायर गरेको सम्पत्ति शुद्धीकरण मुद्दा दोस्रो हो ।
ब्यापारी कँडेलबाट लिएको घुस शुद्धीकरण गरेको अभियोगमा अख्तियारले बस्नेतविरुद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेर मुद्दा दायर गरेको हो । शुद्धीकरण गरेको सम्पत्तिबाट बढेबढाइएको सम्पत्ति जफत गर्न र पदमा रहेर कसुर गरेकोमा थप सजायको पनि मागदाबी गरिएको छ । उर्मिलाविरुद्ध मेयर बस्नेतविरुद्ध मागदावी गरिएको बिगो नै कायम गरी कैद र जरिवानाको हकमा मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको छ । घुस खुवाउने व्यापारी कँडेलविरुद्ध सम्पत्ति शुद्धीकरण गर्न दुरुत्साहन, मद्दत, सहजीकरणसमेत गरेकोमा मतियार कायम गरी बिगो, कैद र जरिवाना मागदाबी गरी मुद्दा दायर भएको हो ।
‘नगर प्रमुख मोहनबहादुर बस्नेतले नगर प्रमुखको पद ओहदाको दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहको घर/जग्गा व्यवसायी पद्मा कोलोनी प्रा.लि/पद्मा मर्चेन्ट कम्पनी प्रा.लि./जगतगुरु कृपालु प्रतिष्ठान नेपालका संचालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट घुस/रिसवत लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको/दिन लगाएको, उक्त प्रतिष्ठानलाई व्यक्ति तथा संघ संस्थाहरुवाट विदेशी सहायता ७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिए/दिन लगाएको, उक्त प्रतिष्ठानको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत आफ्नै दस्तखतबाट गरी/गराई उक्त प्रतिष्ठानको ख्याती वृद्धि गरी/गराई सोही प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी जग्गाहरु प्रतिवादी राजुप्रसाद कँडेल तथा निजको कम्पनीहरुलाई उपलब्ध गराउने गरी सम्झौता गरे/गराएकोमा सोही सम्झौतासमेत कार्यान्वयन गर्न, गराउन जग्गा धनीहरुलाई भुलभुलैयामा पारी जग्गाधनीहरुसँग सम्झौता गरी/गराई उल्लिखित जग्गाहरु मन्दिर निर्माणका लागि भनी लिएर प्लटिङमा बिक्री गर्ने काममा संलग्न रहेको’ अभियोगपत्रमा उल्लेख छ । यसबापत उनले पद्म कोलोनीबाट घुस लिएका हुन् ।
बजार मूल्य ४७ करोड ७५ लाख पर्ने जग्गा पद्म कोलोनीले १८ करोड ९४ लाख १८ हजार ४ सय ४८ रुपैयाँ मात्रै भुक्तानी दिएको र बाँकी रकम मिलेमतोमा मेयर र व्यापारी कँडेलले मिलेर व्यवस्थापन गरेको पनि खुलेको छ ।
अख्तियारको अभियोगपत्रमा भनिएको छ, ‘यसबापत बस्नेतले नगर प्रमुखको पद ओहोदाको दुरुपयोग गरी उल्लिखित कार्य गर्न, गरिदिएबापत बैंक खातामार्फत २ करोड १५ लाख ७३ हजार ३ सय ९५ रुपैयाँ र ६ करोड ८२ लाख मूल्य बराबरको जग्गा र वैवाहिक भोज गर्दा लागेको २४ लाख ७२ हजार ६ सय ३७ रुपैयाँ शंकर होटलमा भुक्तानी गर्न लगाएको समेत गरी ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बराबर घुस रिसवत प्रतिवादीहरु मोहनबहादुर बस्नेत र उर्मिला बस्नेतले पद्मा कोलोनी प्रा.लि, पद्मा मर्चेन्ट कम्पनी प्रा.लि तथा उक्त कम्पनीका संचालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट लिएको कसूर वारदात पुष्टि हुन आयो ।’
अख्तियारको अभियोगपत्रअनुसार मेयर बस्नेतले घुसबापत लिएको रकम आफू र पत्नीका खातामा ल्याएर शुद्धीकरण गरेको देखिन्छ । जगतगुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको मन्दिरका लागि भनी खरिद गर्न लागेको जग्गासमेत सोही नगरपालिकाका स्थानीयलाई बिक्री गर्न जग्गा बैनाबट्टा गरेको पनि खुलेको छ । त्यसबापत मेयर बस्नेतले आफ्नो बैंक खातामा विभिन्न व्यक्तिबाट ३ करोड ७२ हजार रुपैयाँ लिएको खुलेको छ । जग्गा खरिद गर्न र गराउन व्यापारीलाई अनुकूल हुने गरी काम गरिदिएबापत मेयर बस्नेतले पद्म मर्चेन्ट प्राली र पद्म कोलोनीको खाताबाट घुस लिएका थिए । आफू र पत्नी उर्मिलाको खाताबाट उक्त रकम लिए थिए । यतिमात्र होइन, मेयर बस्नेतले पद्म कोलोनीका सञ्चालक कँडेलसँग २०७८ का विभिन्न मितिमा कारोबार गरी साझेदार बनेको पनि देखिन्छ ।
यसरी साझेदारमा कारोबार गरेर आर्जित गैरकानुनी लाभबापतको जग्गा मेयर बस्नेतकी पत्नी उर्मिलाका नामबाट पद्म कोलोनीका सञ्चालक कँडेलकी पत्नी सरस्वती शर्मालाई बिक्री गरेको पनि भेटिएको छ । अभियोगपत्रअनुसार मेयर बस्नेत र उनकी पत्नी उर्मिलाको खातामा पद्म कोलोनीका तर्फबाट ६ करोड २८ लाख ६८ हजार ५ सय ६२ रुपैयाँ जम्मा भएको देखिएको छ भने मेयर बस्नेतमार्फत पद्म कोलोनीले जग्गा खरिद गर्दा तिरेको रकम ३ करोड ७२ लाख छ ।
त्यस्तै मेयर बस्नेत र उनकी पत्नी उर्मिलाले जग्गा बिक्री गर्दा १ करोड १२ लाख २३ हजार १ सय ६६ रुपैयाँ हात पारेका थिए । पद्म कोलोनीका कँडेलबाट घुसबापत लिएको २ करोड १५ लाख ७३ हजार ३ सय ९५ रुपैयाँ पनि बैंकमै जम्मा गरेका थिए ।
२०८० फागुन र चैतका विभिन्न मितिमा मेयर बस्नेतको खातामा प्यासिफिक फ्रोजन फुड्सका तर्फबाट ७ करोड १२ लाख २७ हजार रुपैयाँ पनि जम्मा भएको देखिन्छ । यी कुनै पनि कारोबारको वैध स्रोत खुलाउन नसकेको र यो रकम घुसबाट प्राप्त गरी विभिन्न माध्यमबाट शुद्धीकरण गरेको अभियोगपत्रमा उल्लेख छ ।
