डीपीआर स्विकृत भएपछि निर्माण हुन पाँच वर्ष लाग्ने
काठमाडौँ — शिलान्यासको ८ वर्षपछि राष्ट्रिय प्राणी उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्विकृतिका लागि वन तथा वातावरणमा मन्त्रालयमा पेस भएको छ । भक्तपुरको सुर्यविनायक जंगलमा अन्तर्राष्ट्रिय मापदण्डको खुला चिडियाखाना बनाउने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले डीपीआर पेस गरेको हो ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै २०७३ असार ९ मा उद्यानको शिलान्यास गरेका थिए । ललितपुरको जावलाखेलस्थित चिडियाखाना सानो हुदा वन्यजन्तु थप गर्न नसकिएकाले सरकारले सूर्यविनायकमा उद्यान निर्माण गर्न लागेको हो । विभागका महानिर्देशक रामचन्द्र कँडेलले डीपीआर वन मन्त्रालयमा विचाराधीन रहेको बताए । ‘यसमा मन्त्रीज्यूले पनि चासो दिनुभएको छ । चाडै स्वीकृत हुने जानकारी पाएका छौं,’ उनले भने ।
त्यसको आठ वर्षपछि बल्ल भक्तपुरस्थित सूर्यविनायक जंगलमा बन्ने राष्ट्रिय प्राणी उद्यानको गुरु योजना र डीपीआर स्विकृतिको चरणका लागि अहिले वन तथा वातावरणमा मन्त्रालयमा पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।
‘यो वनमन्त्रालयमा विचाराधिन छ,’ उनले भने, ‘यसमा मन्त्रीज्यूले पनि चासो दिनुभएको छ । यो चाडै हुन्छ ।’
सुर्यविनायकमा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको खुला चिडियाखाना निर्माणको कार्य अगाडी बढाएको र यो नयाँ चिडियाखाना निर्माण गर्ने सरकारको लक्ष्य रहेको वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको भनाइ छ ।
सरकारले नयाँ प्राणी उद्यान निर्माण कार्य अगाडी बढाएको उनले बताए । ‘जावलाखेलको सदर चिडियाखाना छ हेक्टरमा मात्र फैलिएकाले सानो क्षेक्रफलको छ,’ उनले भने, ‘कतिपय वन्यजन्तु थप गर्नुपर्ने आवश्यकता र उपलब्धताको सम्भावना हुँदाहुँदै पनि हालको क्षेत्रमा यो सम्भव देखिँदैन ।’ सदर चिडियाखानाको सिमिततालाई ध्यानमा राख्दै सरकारले भक्तपुरको सुर्यविनायकमा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको खुला चिडियाखाना निर्माणको कार्य अगाडी बढाएको उनको भनाई छ । यसैगरी सदर चिडियाखानालाई भने उपत्यकाको ऐतिहासिक एंव ‘हेरिटेज जू’ को रुपमा विकास गर्दै लाने योजना रहेको मन्त्री शाहीले बताए ।
प्राणी उद्यान सूर्यविनायक नगरपालिका ६, ७ र ८ वडाका (सेतीदेवी, सूर्यविनायक, सञ्जिवनी, लिखानारायण, मन्थली, बालकुमारी र गौरादेवी) गरी सातवटा सामुदायिक वनको २ सय ५९ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ । प्राणी उद्यानले २ सय ४५ हेक्टर क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना र राष्ट्रिय प्रकृति संरक्षण कोषले १४ हेक्टर क्षेत्रफलमा पशु उपचार केन्द्र निर्माण गर्ने जनाइएको छ ।
‘यसमा दुर्लभ, संकटापन्न वन्यजन्तु हुन्छन् । त्यस्तो हुर्काउन नसकेका छन् भने तिनीहरूलाई यहाँ राखेर जगर्नो गर्ने उद्देश्य हो,’ विभागका महानिर्देशक कँडेलले भने, ‘सहरको कोलाहलबाट टाढा, संरक्षण, अध्ययन अनुसन्धान गर्ने क्षेत्र बनोस् भनेर काम गर्न खोजिएको हो ।’
राष्ट्रिय प्राणी उद्यानको अहिलेको अनुमानित बजेट १० अर्ब रुपैयाँ रहेको उनको भनाई छ । पूर्वाधारहरू निर्माण गर्न, जनावरको औषधी उपचार गर्न, तिनीहरूलाई ल्याउन, संरक्षण गर्नलगायत खर्च लाग्ने उनले सुनाए । कँडेलले थप भने, ‘मन्त्रालयबाट स्विकृत भई बजेट पाए निर्माण सम्पन्न गर्न क्रमिक रूपमा पाँच वर्ष लाग्छ ।’
यसैगरी सरकारले सातै प्रदेशमा प्राणी एंव वनस्पती उद्यान निर्माण गर्ने तयारी गरिरहेको जनाएको छ । सोही बमोजिम गण्डकी प्रदेशको तनहुँमा विस्तार गर्न लागिएको भानुभक्त प्राणी उद्यानको भने कुन स्रोतबाट मुआब्जा दिने र निजी जग्गाा अधिग्रहण गर्ने प्रकृयामा रहेको उनले जानकारी दिए ।
देशको एक मात्र जावलाखेल सदर चिडियाखाना ३० औं वर्षमा प्रवेश
जावलाखेल सदर चिडियाखाना सञ्चालनको २९ वर्ष पूरा भएको छ । १९८९ सालमा तत्कालिन प्रधानमन्त्री जुद्ध शम्शेर जंग बहादुर राणाले स्थापना गरेको यस सदर चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ६० वर्षका लागि हस्तान्तरण गर्ने भनी २०५२ पुष १४ गतेको मन्त्रिपरिषदबाट निर्णय भएको थियो । उक्त निर्णय बमोजिम कोषले चिडियाखाना व्यवस्थापन गरेको २९ वर्ष पुरा भएको छ । चिडियाखाना व्यवस्थापनको पहिलो ३० वर्षको अवधि पुरा भएपछि थप ३० वर्ष कोषले व्यवस्थापन गर्ने भनी सरकारको मन्त्रिपरिषद्ले गत कात्तिक २ गते निर्णय गरेको थियो । सोही निर्णय बमोजिम कोष र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबीच चिडियाखानाको सञ्चालन व्यवस्थापनका लागि सम्झौता नविकरण भएको छ ।
कोषले आइतबार चिडियाखाना व्यवस्थापनको २९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको एक समारोहकाबीच विभागसँग सम्झौता नविकरण गरिएको हो । सम्झौता पत्रमा कोषका सदस्य सचिव नरेश सुवेदी र विभागका महानिर्देशक रामचन्द्र कँडेलले हस्ताक्षर गरे ।
सो अवसरमा वन तथा वातावरण मन्त्री ऐन बाहदुर शाही ठकुरीले सरकारले सातै प्रदेशमा प्राणी उद्यान एंव वनस्पति उद्यान निर्माण गर्ने नीति लिएको र यसका प्रकारका उद्यान निर्माणमा कोषले प्राविधिक एंव आर्थिक रूपमा मन्त्रालयसँग सहकार्य गर्न सक्ने बताए ।
यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जावलाखेल सदर चिडियाखाना ललितपुरको गहना भएकाले यसलाई विस्थापित गर्न नपाइने बताए । ‘यहाँ नअटेको बाघ, भालु लानुस् तर चिडियाघरै लान पाइँदैन,’ उनले भने, ‘यो चिडियाखाना ललितपुर महानगरको गहना हो । यो हामी दिन्नौं ।’
कांग्रेसका नेता एंव प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान स्थापना गर्ने धेरै अगाडीदेखि हल्लाखल्ला भए पनि अब सो प्राणी उद्यान गर्व गर्न लायक बनाउने प्रतिबद्धता व्यक्त गरे ।
दैनिक ३ हजारले अवलोकन गर्छन् सदर चिडियाखाना
जावलाखेल सदर चिडियाखाना प्रमुख सत्य नारायण शाहका अनुसार जावलाखेल सदर चिडियाखानामा प्रतिदिन ३ हजार जनाले अवलोकन गर्नेछन् । यसबाट चिडियाखानाले दैनिक ५ देखि ६ लाख रुपैयाँसम्म राजश्व संकलन गर्दछ । ‘हाम्रो वन्यजन्तुको दानापानीमात्रै वार्षिक तीन करोड रुपैयाँ खर्च हुन्छ,’ उनले भने ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक चिरञ्जीवीव रिजालले यस अवधिमा वन मन्त्रालय अन्तर्गतका विभिन्न निकाय र सुरक्षा निकायसँगको सहकार्यमा विभिन्न प्रजातिका ५ हजारभन्दा बढी वन्यजन्तुहरूको उद्धार, उपचार र पुनःर्स्थापना गरिएको जानकारी दिए ।
यसैगरी कोषका संरक्षण अधिकृत गोविन्द प्रसाद पोखरेलका अनुसार सदर चिडियाखानाको व्यवस्थापन कोषलाई हस्तान्तरण गर्दाको बखतमा कुल १०४ प्रजातिका जम्मा ६६० वन्यजन्तु रहेको थियो । ‘हाल हाल ११९ प्रजातिका १४०६ वटा वन्यजन्तु रहेका छन्,’ उनले भने, ‘स्तनधारीका ४० प्रजाति, पंक्षिका ६०, सरिसृपका ११ र माछाका ८ प्रजाति रहेका छन् ।’
