राष्ट्रसंघका शान्तिदूतले सुनाए द्वन्द्वपीडितलाई संगीत

पुस १३, २०८१

घनश्याम खड्का

The peace envoy of the United Nations played music for the victims of the conflict

काठमाडौँ — द्वन्द्वपीडित महिला लस्करै बसेका छन् । साथमा छन् संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिङ्गर र अरु उच्च अधिकारी । अघिल्तिर चार महिला भायोलिन बजाइरहेका छन्, एउटै धून र तालमा । मोजार्टका धून तिनले जसै सुनाउँदै गए, द्वन्द्वपीडित त्यसमा लट्ठिँदै गए । 

राष्ट्रसंघको नेपालस्थित कार्यालय हरिहर भवनमा शुक्रबार बिहान कार्यालय खुल्नेबित्तिकै देखिएको यो दृश्य कुनै नाटकको थिएन, न कुनै औपचारिक सांगीतिक प्रस्तुति नै थियो । यो थियो, राष्ट्रसंघका अन्तर्राष्ट्रिय शान्तिदूतले नेपालका द्वन्द्वपीडितका लागि गरेको मनोचिकित्सा ।

राज्य न्याय दिलाउन कहिले तयार हुने भन्ने तय नभए पनि विगतका घाउले अशान्त मनलाई संगीतमार्फत शान्त पार्न सकिने भएकाले केही द्वन्द्वपीडित महिला छनोट गरेर राष्ट्रसंघले शान्ति दूतहरूसँग सांगीतिक भेटघाट कार्यक्रम गरेको थियो । 

झन्डै पौने घण्टा भायोलिनको लयबद्ध संगीत सुनाएपछि राष्ट्रसंघीय शान्तिदूत तथा अमेरिकी भायोलिनवादक मिदोरीले भनिन्, ‘संगीत एउटा चिकित्सा हो र त्यो अहिले तपाईंहरूले महसुस गर्नु नै भयो होला, आज तपाईंहरूसँग केही पल साट्न पाउँदा खुसी लाग्यो ।’ उनी संसारभर नै पीडितको वेदनालाई संगीतले सम्बोधन गर्दै आएकी राष्ट्रसंघीय शान्तिदूत हुन् । 

मिदोरी र उनको समूहको अद्भुत भायोलिनवादन सुन्दा एक किसिमको सुखद अनुभव भएको पीडितहरूले बताए । ‘संगीतले पनि मनको घाउ निको पार्छ भन्ने सुनेकी थिएँ, आज अनुभव गर्न पाइयो,’ सशस्त्र द्वन्द्वका समयमा बलात्कारमा परेका महिलाको न्यायका लागि लड्दै आएकी अभियन्ता देवी खड्काले भनिन्, ‘सरकारले हामीलाई न्याय दिने नाममा झुलाइरह्यो । शान्ति प्रक्रियाका संयन्त्रमा कार्यकर्ता नियुक्त गर्न खोजेर प्रक्रिया नै भाँड्दा मन झन् दुखेको छ । यस्तो बेला मोजार्टको धूनले एकछिन् भए पनि आनन्द दिएको छ ।’ आफूहरूमाथि भएको अन्याय पीडकले स्वीकार्नुपर्ने सामान्य माग राख्दा पनि पीडक र राज्य संयन्त्र भने यसलाई वास्तै नगरी प्रस्तुत हुँदा द्वन्द्वको घाउमा कहिल्यै खाटा नलागेको खड्काले बताइन् । 

गोरखाकी विमला ढकालले २०५५ मा श्रीमान् राजेन्द्र ढकाल बेपत्ता पारिएका बेलाको याद आएको बताइन् । ‘मेरा श्रीमान्लाई प्रहरीले बेपत्ता पारेका बेला छिमेकीका घरमा बाजा बजेको सम्झना भयो मलाई त,’ अधिवक्ता राजेन्द्रकी पत्नी विमलाले भनिन्, ‘हाम्रो दुःख भन्ने ठाउँ कहीँ छैन, राज्यले न्याय देला भन्ने विश्वास पनि अब छैन ।’ 

द्वन्द्वपीडितका कुरा सुनिसकेपछि राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिङ्गरले द्वन्द्वपीडितले न्याय पाउनुपर्छ भन्नेमा राष्ट्रसंघ सदा अडिग रहेको बताइन् । ‘हामी तपाईंहरूको दुःख हटाउन त सक्दैनौं, तर त्यो हट्नुपर्छ र राज्यले न्याय दिलाउनुपर्छ भन्ने धारणामा सदा अडिग छौं,’ उनले भनिन्, ‘केही बेरको संगीतको मल्हमले पीडितहरूको जीवनमा केही शान्ति ल्याउन सकिन्छ कि भनेर यो कार्यक्रम आयोजना गरेका हौं । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा तत्काल पदाधिकारी नियुक्त हुनुपर्छ र तपाईँहरूको आवाज सुनिनुपर्छ भन्नेमा राष्ट्रसंघ अडिग छ ।’

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully