धनगढी — माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुशासनका विरोधीहरुले सरकारमा बस्न नदिएको बताएका छन् । ‘सुशासनका विरोधी, भ्रष्टाचारका पक्षधरहरुले सरकारमा बस्न दिएनन्,’ उनले भने ।
माओवादी केन्द्रद्वारा कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने ‘भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचारको पक्षमा काम गरेको छ । तर हामी सरकारमा आयो भने गिरीबन्धुको फाइल खुल्ने छ, लुकाउन दिइने छैन,’ उनले भने ‘ओम्नीमा भएको भ्रष्टाचार छोडिने छैन । वाइडबडीमा भएको भ्रष्टाचार छोडिने छैन ।’
उनले आफ्नो सरकारले थालेको भ्रष्टाचारका विरुद्धको अभियानबाट भयभीत र आतंकित भएकाहरुले सरकारबाट हटाएको दाबी गरे ।
सुदूरपश्चिममा थालनी भएका अधिकांश विकासका ठूला परियोजना आफैले सुरु गरेको दाबी गरेका उनले प्रधानमन्त्री भएका बेला आफूले भारत भ्रमणका क्रममा कञ्चनपुरलगायत सीमानाको समस्या समाधानका लागि भारतीय प्रधानमन्त्रीसँग खुलेर कुरा गरेको पनि दाबी गरे । ‘इतिहासमा पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्याका बारेमा बोल्नुभएको थियो,’ उनले भने ।
उनले आफ्नो पार्टी पहिलो भएमा देशमा सुशासन कायम हुने र भ्रष्टाचार अन्त्य हुने बताए । उनले आफू प्रधानमन्त्री हुँदा सुदूरपश्चिममा नदी नियन्त्रणदेखि विश्वविद्यालय स्थापना लगायतका कामरु गरेको बताए । यसका साथै सुख्खा बन्दरगाह निर्माणको काम पनि आफ्नै पालामा अघि बढेको उनले दाबी गरे ।
