एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

पुस १३, २०८१

कान्तिपुर संवाददाता

Prosperity should be achieved through united efforts: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताएका छन् । 

नेपाल संवत् ११४५ का अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौं महानगर कमिटीद्वारा शनिबार वसन्तपुरमा आयोजित जलपान कार्यक्रममा ओलीले एकताबद्ध प्रयासबाट मुलुकलाई शान्त र समृद्ध बनाउन सकिने उल्लेख गर्दै त्यसतर्फ लाग्न सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गरेका थिए । 

कला, संस्कृति र सभ्यतामा धनी नेपालले आफ्नो राष्ट्रिय पहिचान र संस्कृतिलाई बचाएर मानव जगत्को कल्याणका लागि काम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । ‘हाम्रा चाडहरू, हाम्रा संस्कृतिहरू अत्यन्त महत्वपूर्ण रहेका छन् । नेपालको कला, नेपालको संस्कृतिको अत्यन्तै ऐतिहासिक महत्व छ । हाम्रा मन्दिरहरू, मन्दिरका शैलीहरू, विभिन्न प्रकारका शैलीहरूको आफ्नै महत्व छ, आफ्नै इतिहास छ । हजारौं वर्ष अघिदेखि हाम्रा कला स्थापित र प्रचलित छन्,' उनले भने, 'विभिन्न देशबाट कला सिक्न मानिस आउने गरेका छन् । यो कलाहरूको देश हो । संस्कृतिको देश हो । यो सभ्यताको देश हो । यहाँ गीत, संगीत, वाद्यवादन, नृत्य कला आफ्नै ढंगले विकास भएका छन्, समृद्ध ढंगले विकास भएका छन् । वाद्यवादन धुन आफ्नै मौलिकताका छन् ।’

नेपालले संस्कृतिलाई जीवन्त राख्नुपर्ने उनको आग्रह थियो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्यहरू आनन्द पोखरेल, रामेश्वर फुयाँल, केन्द्रीय सदस्य शान्ति अधिकारी, काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललगायत महानगर कमिटीका सदस्य सहभागी थिए ।  

कान्तिपुर

Link copied successfully