काठमाडौँ — उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पीएल सिंहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
शनिबार सिंहको १३ औँ दिनको पुण्यतिथिमा कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले गरेको कार्यक्रममा बोल्दै उनले पीएल सिंहले ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनमा पुर्याएको योगदानको स्मरण गरे ।
०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनका बेलामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 'सिद्धान्त र आदर्शको राजनीति गर्ने परिवारमा कष्टको त साध्य नहुने । त्यस्तो समयमा उहाँ हाम्रो अभिभावक बन्नुभयो,' उपप्रधानमन्त्री सिंहले भने, 'उहाँ सरल र सहज स्वभावको, सबैले स्वीकार गर्ने र सबैसँग भिज्न सक्ने हुनुहुन्थ्यो । भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखर र पीबी नरसिंह रावसमेत उहाँसँग प्रभावित हुनुहुन्थ्यो । त्यसबाट पनि उहाँको क्षमता र प्रभावको अनुमान लगाउन सकिन्छ ।'
पीएल सिंह गणेशमान सिंहसँग मात्र नभई सन्त नेता कृष्णप्रसाद भट्टराईको पनि प्रिय रहेको उनले बताए । पीएल सिंहले काठमाडौँ नगरपालिकाको मेयरका रुपमा समेत राम्रो नेतृत्वदायी भूमिका खेलेको उनले स्मरण गरे ।
