काठमाडौं — नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारसँग कांग्रेस र एमालेकै नेताहरु वाक्क हुन थालेको बताएका छन् ।
रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री पुनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरुले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए ।
‘एमालेका नेताहरु आएर बीआरआई पनि भयो, अब कम्युनिष्टहरु मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरु आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ । उहाँहरु विकल्पमा छलफल गरौं भन्न खोज्नुहुन्छ । हामीले रहर गर्नुभएको छ बोक्नुस्, भनिरहेका छौं,’ उनले भने, ‘तर हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरुको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहँदैनौं । यो हाम्रो प्रतिबद्धता हो ।’
पूर्वअर्थमन्त्री रहेका उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने बताए । ‘हामी ०८४ सम्म सरकारमा जादैनौं भनेका छौं । सडक र सदनबाट जनताका मुद्दा उठाउँछौं । अब हामी समाजवादी गणतन्त्रको विकल्पसहित सरकारमा भएका स्थानीय तहहरुमा काम गर्छौं । हिजो हामी क्रान्तिकारी शक्ति थियौं । कांग्रेस, एमालेसँग मिल्दा उनीहरुजस्तै हो कि भनेजस्तो देखियो । तर होइन । हामी समाजवादी गणतन्त्रका लागि काम गर्छौं,’ उनले भने ।
‘सरकार भ्रष्टाचार र विकृतिमा एकपछि अर्को काम गर्दै गएको छ । जनताले एक दिन प्रतिरोध गर्छ हामी जनतासँग हुनेछौं । दिनदिनैको गणितीय खेलमा हामी लाग्दैनौं । सरकार आफैं कुहिएको, भत्किएको वा झरेको अवस्थामा के गर्ने त्यतिबेलै सोचौंला,’ उनले भने ।
श्रीलंका र बंगलादेशमा भएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर माओवादी अघि बढिरहेको उनले बताए । ‘हाम्रा अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको काम र विपक्षमा हुँदा जनताका एजेण्डा उठाएकै कारण जनताले उपनिर्वाचनमा हामीलाई सहरी क्षेत्रमासमेत धेरै मत दिनुभएको छ । सरकार र विपक्षमा बस्दा माओवादीले राम्रो काम गरेकैले जनमत बढ्दै गएको छ,’ उनको दाबी छ ।
देशमा अहिले पनि सरकारका कारण कुनै पनि बेला बंगलादेशको अवस्था आउने खतरा रहेको उनको भनाइ छ । ‘सरकार एकपछि अर्को गलत काम गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयमा मेरिटोक्रेसीविरुद्ध सरकारले हस्तक्षेप गरिरहेको छ, राम्रो काम गरिरहेको विद्युत् प्राधिकरणमा हस्तक्षेप गर्ने जस्ता कामबाट जनता निराश छन् । त्यसैले हामी जनताका एजेण्डा बोक्दै जनतासँगै रहन्छौं,’ उनले भने ।
