संसद्‌मा विचाराधीन विधेयकमाथि विपक्षी दलका प्रमुख सचेतकसँग सत्तारुढ कार्यदलले छलफल गर्ने

पुस ११, २०८१

कान्तिपुर संवाददाता

The ruling working group will discuss the bill pending in the parliament with the chief whip of the opposition party

काठमाडौँ — सत्तारुढ गठबन्धनको संयुक्त संसदीय कार्यदलले संसद्मा विचाराधीन विधेयक समयसीमाभित्रै पास गर्ने विषयमा विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

कांग्रेस र एमालेको संसदीय कार्यदलले संघीय संसद्मा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पास गराउने गरी काम गर्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले प्रतिनिधिसभा र राष्ट्रिय सभाका समितिमा रहेका विधेयक पारित गर्न आवश्यक छलफलका लागि संघीय संसद्मा रहेका दलका प्रमुख सचेतकहरूसँग परामर्श गर्ने निर्णय गरिएको बताए । 

विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने अधिकार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई जिम्मेवारी दिइएको बताए । उनले आगामी १७ गतेभित्र संघीय संसदका विभिन्न समितिमा रहेका विधेयकबारे दलगत समितिका सदस्यसँग आवश्यक छलफल गर्ने निर्णय गरेको पनि बताए ।

‘प्रतिनिधिसभा र राष्ट्रिय सभाका समितिमा रहेका विचाराधीन विधेयकका सन्दर्भमा आगामी संसद्को बैठकमा सबै विधेयक पारित गर्नका निम्ति समितिहरूबाट विधेयक पास भएको हुनुपर्छ । विधेयक पारितका निम्ति आवश्यक छलफलका लागि अन्य दलका प्रमुख सचेतकहरूसँग आवश्यक परामर्श गर्नका लागि नेपाली कांग्रेसका सचेतक श्यामकुमार घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई अन्य दलका प्रमुख सचेतकहरूसँग आवश्यक छलफल अधिकार दिने निर्णय गरेका छौं,' परियारले भने, 'प्रतिनिधिसभाका पाँच समितिमा विधेयक छलफलमा छन् । समितिमा रहेका सदस्यसँग समितिमा विधेयक कस्तो अवस्थामा छ । आगामी संसद्मा उक्त विधेयक पारित गर्न के-के गर्नुपर्छ भन्ने विषयमा आगामी १७ गतेभित्र दलगत समितिका सदस्यहरूसँग आवश्यक छलफल गर्ने निर्णय गरेका छौं ।'

१६ महिनादेखि कतिपय विधेयक समितिमा छलफलमा रहेको परियारले बताए । लामो समयसम्म विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहनु राम्रो कुरा नभएको उनको भनाइ थियो । 

दुई दलीय संयन्त्रले दिएको निर्देशन अनुसार समितिमा विचाराधीन विधेयक तत्काल पारित गर्नुपर्ने परियारले बताए ।  समितिमा रहेका विधेयक समय सीमाभित्रै पारित गर्नेगरी दुवै सदनको नियमावली र कार्यविधिमा संसोधन गर्नेबारे पनि अन्य दलका प्रमुख सचेतकसँग पनि छलफल गर्ने निर्णय भएको परियारले बताए ।

कार्यदलको बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले सांसद योगेश भट्टराई, कांग्रेस सांसद जीवन परियार, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully