युक्रेनमा युद्धबन्दी बनेका नेपालीद्वारा सिधै स्वदेश फर्कन अस्वीकार

युक्रेनबाट सिधै स्वदेश फर्कंदा रुसी सेनामा भर्ती भएबापत रुसको सरकारले दिने सेवा र सुविधाबाट वञ्चित भइने चिन्ता

पुस ११, २०८१

होम कार्की

Nepalis, who were prisoners of war in Ukraine, refused to return to their country directly

काठमाडौँ — एक वर्षदेखि युक्रेनमा युद्धबन्दी बनाइएका ७ नेपालीले सिधै स्वदेश फर्कन अस्वीकार गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीहरूले युक्रेनी अधिकारीसँगको बयानमा आफूहरू सिधै नेपाल नगई रुस गएर मात्र स्वदेश फर्कन चाहेको बताएका हुन् ।

नेपालले युक्रेन सरकारसँग रिहाइका लागि पहल गरिरहेका बेला युद्धबन्दी ती नेपालीले सिधै स्वदेश फिर्ता हुन नमानेका हुन् ।

‘युक्रेनमा रहेका एक नेपालीले युद्धबन्दीका रूपमा रहेका ७ नेपाली र युक्रेनी सेनाबीच भाषा अनुवादकको काम गरिरहेका छन् । सात जनाले रुसमा नै गएर पछि मात्र नेपाल जाने बयान दिए,’ परराष्ट्रका एक अधिकारीले भने । उनका अनुसार युक्रेनबाट सिधै स्वदेश फर्कंदा सेनामा भर्ती भएबापत रुसी सरकारले दिनुपर्ने सेवा र सुविधाबाट वञ्चित भइने हुँदा युद्धबन्दी नेपालीले रुस गएर मात्र फर्कन चाहेका हुन् । 

रुसी सरकारले एक वर्षको सेवा अवधिपछि सेनामै रहन चाहनेका लागि युद्ध मैदानबाटै स्थायी आवासीय (पीआर) र राहदानीका लागि आवेदन दिन पाइने सुविधा दिएको थियो । यही सुविधाको प्रलोभनमा परेर अध्ययनका लागि वा र अन्य माध्यमबाट रुस पुगेका नेपालीसमेत सेनामा भर्ती भएका थिए । भर्ती भएका नेपालीलाई सामान्य तालिम मात्र दिएर रुसले युक्रेनविरुद्धको लडाइँमा खटाएको थियो । 

करिब १५ सय नेपाली रुसी सेनामा भर्ना भएको अनुमान छ  । ४९ नेपालीको युद्धमा ज्यान गएको पुष्टि भएको छ । परिवारको सम्पर्कमा नरहेका र खोजीका लागि १ सय १८ जनाका परिवारले कन्सुलर विभागमा निवेदन दिएका छन् । नेपाल सरकारको पहलपछि रुसले गत मेबाट नेपालीलाई भर्नामा लिन छाडेको परराष्ट्रको दाबी छ । त्यसयता करार नवीकरण गर्न नचाहनेका लागि रुसी सरकारले खुकुलो नीति लिएको छ ।

रुसी सेनामा भर्ती भएकामध्ये सात जना अझै युक्रेनी सेनाको नियन्त्रणमा छन् । परराष्ट्र मन्त्रालयले उनीहरूलाई रिहाइ गर्न युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावास र दिल्लीस्थित नेपाली दूतावासमार्फत पहल गर्दै आएको छ । ‘सेवासुविधालगायत कारण देखाएर उनीहरूले रुस जाने अडान लिएपछि थप पहल गर्न सकिने अवस्था बनेन,’ ती अधिकारीले भने । 

रुसी सेनामा भर्ती भएर युद्ध क्षेत्रमा खटिएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, मकवानपुरका ईश्वर लामिछाने, चितवनका सुजन सुवेदी र गोरखाका मदन कुमाल हाल युक्रेनी सेनाको नियन्त्रणमा छन् । कुमालले आईसीआरसीमार्फत परिवारलाई सन्देश पठाउँदै आफू सुरक्षित भएको बताएका छन् । उनले सन्देशमा भनेका छन्, ‘धेरै चिन्ता नलिनु होला ।’ 

युक्रेनले पनि नियन्त्रणमा रहेका ७ नेपालीलाई युद्धबन्दीसँग सम्बन्धित अन्तर्राष्ट्रिय कानुन अनुसार व्यवहार गरिएको जनाएको छ । उनीहरू सबैलाई युक्रेनको राजधानी किभमा राखिएको छ । युक्रेनले पहिलो पटक गत चैतमा रुसी सेनामा भर्ती भएका ५ नेपाली आफ्नो नियन्त्रणमा रहेको भिडियो सार्वजनिक गरेको थियो । त्यतिखेर युक्रेनले आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा रोक लगाउन नेपाललाई सार्वजनिक रूपमै आग्रह गरेको थियो ।

रुसले ती नेपालीलाई युक्रेनले बन्दी बनाएका आफ्ना सेनाको सूचीमा राखेको छ । ‘रुसले कैदीबन्दी साटासाट गर्ने बेला उनीहरूलाई ल्याउने जवाफ नेपाललाई दिएको छ,’ ती अधिकारीले भने । गत भदौ पहिलो साता संयुक्त अरब इमिरेट्सको मध्यस्थतामा रुस र युक्रेनबीच दुई सय ३० युद्धबन्दी साटासाट गरिएको थियो । हालसम्म १७ सय ८८ युद्धकैदी साटासाट भइसकेका छन् । 

परराष्ट्र अधिकारीका अनुसार युद्धबन्दी नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । ‘एक जनालाई युद्धमा गोलीको छर्रा लागेर घाइते अवस्थामा लगिएको थियो । उनको गोली लागेको घाउ खतसमेत बसिसकेको छ । एक जनाले कान अलि कम सुन्छन् । सबैको अवस्था सामान्य नै छ,’ ती अधिकारीले भने, ‘उनीहरूलाई कुनै खालको यातना दिइएको छैन ।’

अन्तर्राष्ट्रिय कानुनअनुसार युद्धबन्दीलाई पूर्ण रूपमा सुरक्षित व्यवहार गर्नुपर्छ । दैनिक ज्याला उपलब्ध गराउनुका साथै परिवारसँग सम्पर्क गर्नसमेत दिनुपर्छ । तर, बन्दी बनाइएका नेपालीलाई परिवारसँग सम्पर्क गर्न दिइएको छैन । 

राजापुर–१, बर्दियाका २३ वर्षीय विवेकको परिवारले उनको बाटो कुरेर बसेको एक वर्षभन्दा बढी भयो । विवेकलाई युक्रेनी सेनाले बन्धक बनाएको २०८० असोज ७ मा खुलेको थियो । ‘युक्रेनी सेनाले नियन्त्रणमा लिएपछि विवेकले घरमा भिडियो कल गर्दै आफू पक्राउ परेको जानकारी गराएका थिए । सरकारले पहल गरेर विवेकलाई सकुशल घरसम्म पुर्‍याइदेओस्,’ विवेककी फुपू महिमा सिंहले भनिन् ।

विवेक २०२२ अक्टोबर २३ मा अध्ययनका लागि मस्को पुगेका थिए । युक्रेनी सेनाले बन्दी बनाएपछि मात्र परिवारले विवेक रुसी सेनामा भर्ती भएको थाहा पाएका थिए । 

दाङ बिजौरीका प्रतीक पुन गत वर्ष मंसिर तेस्रो साता दक्षिणपूर्वी युक्रेनको जापोरिजी क्षेत्रबाट युक्रेनी सेनाको कब्जामा परेका हुन् । उनी रुसको ७०औं मोटोराइज्ड राइफल रेजिमेन्टको सदस्यसमेत रहेको बताइएको छ । पुनकी आमा तिलकुमारीले छोराको बाटो हेरेर बसिरहेको बताइन् । 

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully