थातथलो खोज्दै ४० वर्षपछि नेपाल

बालखमै घर छाडेकाले परिवार र गाउँघरको सम्झना मधुरो छ, आफन्त भेट्ने आशा बोकेर आएका उनी परिवार खोज्ने प्रयासमा छन्

पुस ११, २०८१

तृप्ति शाही

Nepal after 40 years searching for that

वीरेन्द्रनगर — घर छाड्दा बमबहादुर डाँगी १३ वर्षका थिए । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ का उनी साथीहरूसँगै खेल्दै एक घण्टा दूरीको वीरेन्द्रनगर बजार पुगेका थिए । त्यहींबाट एक अपरिचित भारतीयको साथ लागेर अनायासै भारततिर लम्किए ।

ती भारतीयले काम पाउने लोभ देखाएपछि अभावैअभावमा जीवन गुजारिरहेका बमबहादुर सीमा पार गर्न मन्जुर भए । 

सीमा वारिसम्म त भारतीयको आडभरोसा थियो । तर, जब उनी गडवाल पुगे त्यसपछि अलपत्र पारिए । ‘त्यहाँ पुगेपछि मात्र मलाई थाहा भयो ती मान्छे त बालबालिकालाई भारत तस्करी गर्ने ठेकेदार पो रहेछन्,’ बमबहादुरले सम्झिए, ‘मलाई भारत पुर्‍याउँदा उनले पैसा पाउने रहेछन् ।’ 

बमबहादुरका दुःखका दिन त्यसपछि सुरु भयो, जतिबेला उनी बिरानो भारतीय बजार गडवालमा अलपत्र परे । घर फर्कन पनि सकेनन् । जीवनका करिब ४० वर्ष भारतमा बिताएका ५३ वर्षका उनी अहिले थातथलो खोज्दै घर फर्किएका छन् । तर, अहिलेसम्म उनले न आफ्नो घर फेला पारेका छन्, नत परिवारका सदस्य नै । 

दुई छोरीसहित वीरेन्द्रनगर आइपुगेका उनी हैरानीमा छन् । बालखमै घर छाडेकाले परिवार र गाउँघरको सम्झना मधुरो छ । आफन्त भेट्ने आशा बोकेर आएका उनी परिवार खोज्ने प्रयासमा छन् । ‘वीरेन्द्रनगर आएको साता बित्दासम्म पनि घरपरिवार भेट्टाउन सकेको छैन,’ बमबहादुरले भने । घरपरिवार नभेटेपछि भारत फर्कने तयारीमा छन् । ‘ठूलो आशा बोकेर आएको थिएँ तर परिवारसँग मिलन हुन पाएन, अब भारततिरै फर्कन्छु,’ उनी भन्छन् ।

गडवालमा अलपत्र परेका उनले एउटा होटलमा भाडा माँझ्ने काम पाए । पछि भरिया भए । गडवालमा केही वर्षको संघर्षपछि रकम जोहो गरेर उनी हिमाञ्चलतिर उक्लिएका थिए । त्यहाँ उनको आर्थिक हैसियत पनि सुध्रियो । त्यही मेसोमा नेपालबाटै रोजगारीका लागि गएका रोल्पाका एक परिवारसँग उनको चिनापर्ची भयो । 

त्यो परिवारकी छोरीसँग मायापिरती बस्यो । अनि बिहे गरे । त्यसपछि नेपालको परिवार र घरगाउँ लगभग बिर्सिए । दसैं–तिहार जस्ता चाडपर्वका बेला उनी घर फर्कन खोज्थे । तर फर्कन सकेका थिएनन् । ‘बिहेपछि बच्चाहरू पनि भए, घर आउँभन्दा खर्च पनि हुँदैनथियो । उता काम गरेको पैसाले घरपरिवार पाल्न पनि मुस्किल हुन्थ्यो । यस्तै जञ्जालमा फसियो,’ उनले भने । 

उनका पाँच छोरी र एक छोरा छन् । छोराछोरीले पनि नेपालबारे सोधेर हैरान पार्न थालेपछि उनी परिवार खोज्न आएका हुन् । बमबहादुरलाई लाग्यो, आफ्नो थातथलो त खोज्नैपर्छ । अनि भारतको हिमाञ्चल प्रदेशको सिम्लामा बसोबास गर्दै आएका उनी नेपालमा परिवार खोज्दै आइपुगेका हुन् । 

१२ कक्षा पास गरेर घरमा बुबाआमालाई सघाउँदै आएकी माइली छोरी किरण केही वर्षअघिबाट भारतको फार्मेसी कम्पनीमा काम गर्दै आएकी छन् । घरपरिवार खोज्न मुख्य चासो लिने काम माइली किरणले नै गरेकी हुन् । आफूले पढ्दै गएपछि आफ्नो घरबारे चासो लिएर बुबालाई सोध्दा नेपालको सुर्खेत भन्ने थाहा भयो । उनले भनिन्, ‘अनि मैले यसबारे नेटमा सोधीखोजी गर्न थालें । अहिले यहाँ पुग्यौं । तर परिवार भेट्टाउन सकेका छैनौं ।’

उनीहरू नेपाली हुन् तर परिवारसँगको बिछोडले नेपाली नागरिक हुन पाएका छैनन् । उनीहरूसँग भारतीय रासन कार्डबाहेक कुनै पनि आधिकारिक कागजात छैन ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully