निजामती सेवामा ट्रेड युनियन पूर्ण खारेज गरौँ : राप्रपा सचेतक लामा

पुस ११, २०८१

कान्तिपुर संवाददाता

Abolish trade unions in civil service: RPP whip Lama

काठमाडौँ — निजामती सेवामा ट्रेड युनियन पूर्ण रूपमा खारेज गर्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक बिना लामाले बताएकी छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राप्रपाको धारणा राख्दै सचेतक लामाले कर्मचारीतन्त्रलाई काम गर्न दिनका लागि पनि कर्मचारीतन्त्रमा ट्रेड युनियन खारेज गर्नुपर्ने बताइन् । 

कर्मचारीतन्त्रमा पार्टीगत ट्रेड युनियन राख्नु गलत भएको सचेतक लामाको प्रस्ताव थियो । 'ट्रेड युनियनका नाममा कर्मचारीतन्त्रमा पार्टीगत भर्तिकेन्द्र भए । कर्मचारीभित्र ट्रेड युनियन पूर्ण रूपमा खारेज गरौँ, कर्मचारीलाई काम गर्न दि‍‍औँ,' उनले भनिन् ।

कर्मचारीलाई दलको सदस्य बन्नमा रोक लागउनुपर्ने सचेतक लामाको भनाइ थियो । 'निजामती कर्मचारीलाई राजनीतिक दलमा लाग्न रोक लगाउने, राजनीति नगर्ने कानुन बनाउनुपर्छ,' उनले भनिन् ।

कर्मचारीको मनोबल राजनीतिक संलग्नताले पनि घटाएको उनको भनाइ थियो । कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेत्र हुन नहुने र कर्मचारीमा स्थायी सरकार भन्ने दम्भ पनि हुन नहुने उनले बताइन् । कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिन नहुने उनले बताइन् । कर्मचारीको काममा नै राजनीतिक हस्तक्षेप रहेकाले त्यसमा रोक लगाउनुपर्ने उनले बताइन् । 

कर्मचारीको सेवा सुविधामा पनि ख्याल गर्नुपर्ने उनले बताइन् । मूल्यांकन विधिमा सुधार गर्नुपर्ने र राम्रो काम गर्नेलाई पुरस्कृत, काम नगर्ने दलमा आबद्धलाई दण्डको व्यवस्था राख्नुपर्ने उनले बताइन् ।

त्यस्तै, कर्मचारीहरूलाई सेवा निवृत्त भएपछि कुनै पनि एनजिओ र आइएनजीओमा जागिर खानबाट कम्तीमा ५ वर्षसम्म रोक लगाउनुपर्ने सचेतक लामाको भनाइ थियो । निजामती विधेयकलाई राजनीतिक दलविशेष र कर्मचारीमुखी भन्दा पनि जनताको सेवामुखी बनाउनुपर्ने उनले बताइन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully