कानुन सबैका लागि बराबर हो : उपप्रधानमन्त्री सिंह

पुस ११, २०८१

कान्तिपुर संवाददाता

Law is equal for all: Deputy Prime Minister Singh

चितवन — उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानुनीरुपमा स्वतन्त्र रुपमा अघि बढेको बताउनुभयो । 'कानुन सबैका लागि समान हो । कानुनअनुरुप हुनुपर्ने हुन्छ,' उनले भने । 

उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि संसद्मा रहेका सबै दलसँग परामर्श भइरहेको बताए । उनले भने, 'संविधान संशोधन गर्न निश्चित विधि र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । एउटा पार्टीले गरेर मात्र हुँदैन । यो काम संसद्मा रहेका सबै दलसँगको परामर्शमा दुई तिहाइ बहुमतबाट गर्नुपर्ने हुन्छ ।'

अहिलेको सरकारले अघिल्ला सरकारहरुले गरेका कामलाई विशेष ध्यान दिँदै व्यवस्थित गरेर अघि बढेको उपप्रधानमन्त्री  सिंहको भनाइ थियो । अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनेमा जोड दिँदै उनले कांग्रेस र एमालेबीचको समझदारीअनुसार सरकार अघि बढेको बताए ।

फरक प्रसंगमा उपप्रधानमन्त्री सिंहले मेला महोत्सवबाट  देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । उनले भने, 'निजी क्षेत्रले गरेका यस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।'

कान्तिपुर संवाददाता

Link copied successfully