कपडा च्यातिएको र शरीरका विभिन्न स्थानमा नीलडाम भएकी पीडितको अचेत अवस्थामा उद्धार
जहदा, मोरङ — मोरङको जहदा गाउँपालिका–३ खदरा बस्तीकी एक २२ वर्षीया दलित महिलालाई हातखुट्टा बाँधेर सामूहिक बलात्कार गरिएको छ । मंगलबार बिहान शौच गएकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमाकपडा कोचिएको तथा हातखुट्टा बाँधिएको र अचेत अवस्थामा फेला परेपछि उद्धार गरिएको थियो ।
उद्धारपछि कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचारका क्रममा साँझ मात्र होसमा आएकी ती महिलाले शौचस्थलबाट आफूलाई अपहरण शैलीमा बाँसघारीमा लगेर हातखुट्टा बाँधी सामूहिक बलात्कार गरिएको आफन्त र प्रहरीलाई बताएकी छन् । पीडित महिलाको बयानका आधारमा मंगलबार तीन र बुधबार एक गरी चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपडा च्यातिएको अवस्थामा उद्धार गरिएकी उनको शरीरका विभिन्न स्थानमा नीलडाम छन् । अस्पतालले उनको स्वास्थ्यमा सुधार आएको जनाएपछि बुधबारदेखि उनलाई विराटनगरकै एक आश्रयस्थलमा राखिएको छ ।
कटहरी गाउँपालिका–२ कदमगछियाकी ५२ वर्षीया शान्ति ऋषिदेवले उनलाई बाँसघारीको बीचमा देखेपछि गाउँलेलाई बोलाएर ल्याएकी थिइन् । त्यसपछि स्थानीयले प्रहरी बोलाएर उनको उद्धार गरेका थिए । प्रहरी चौकी कटहरीदेखि करिब डेढ किमि मात्र दक्षिणतर्फ रहेको बाँसघारीमा सामूहिक बलात्कार भएको हो ।
मुसहर समुदायको बाहुल्य रहेको सुकुम्बासी बस्तीकी ती महिला काखे बच्चा ओछ्यानमै छाडेर झिसमिसेमै घरदेखि करिब डेढ सय मिटर दूरीमा रहेको जुडी खोलामा शौच गर्न गएकी थिइन् । श्रीमान्ले अर्कै महिलासँग बिहे गरेर भारत गएपछि उनी दुई बालबच्चासहित ३ वर्षदेखि माइती घर खदरामा बस्दै आएकी थिइन् ।
बेलाबखत मजदुरी गर्न जाने भएकाले बिहान अबेरसम्म घर नफर्के पनि ‘छोरी बिहानैदेखि कामतिर गई होला’ भन्ने ठानेर खोजी नगरिएको पीडितकी आमाले बताइन् । ‘मेरी छोरीलाई नराम्रो काम गर्नेलाई कडा दण्डसजाय दिनुपर्छ,’ उनले भनिन् ।
प्रहरीले मंगलबार कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान, सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररिया कुशाकट्टाका १९ वर्षीय मोहम्मद गुल्जारलाई पक्राउ गरेको थियो भने बुधबार बिहान थप एक जना पक्राउ परेका छन् । उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पीडितको बयानपछि उनीहरू पक्राउ परेका हुन् । प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।
उपचारपछि ती महिलालाई विराटनगरको एक आश्रयस्थलमा राखिएको छ । ‘पीडितले आफ्नो हातखुट्टा बाँधेर जबर्जस्ती गरेको बताएकी छन्, उनको बयान सुन्दा सामूहिक बलात्कार हो,’ मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले भने, ‘थप अनुसन्धान भइरहेको छ, यथार्थ चाँडै सार्वजनिक हुन्छ ।’
