सहकारीपीडितको बचत फिर्ताबारे सर्वोच्चको प्रश्न

योजना, नीति वा कार्यक्रमसहित छलफलका लागि इजलासमै उपस्थित हुन चार मन्त्रालयका सचिवसहित तीन सम्बन्धित अधिकारीलाई आदेश

पुस १०, २०८१

घनश्याम खड्का

Supreme Court's question about return of savings of co-operative victims

काठमाडौँ — सरकारले घोषणा गरेको समस्याउन्मुख सहकारीका ५ लाख रुपैयाँसम्म बचत गर्ने पीडितको रकम फिर्ता गर्ने योजनामा काम भए/नभएको जानकारी गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले रकम अपचलन गर्ने सञ्चालकबाटै असुलउपर गर्ने गरी समस्याउन्मुख सहकारीमा ३ लाख र ५ लाखसम्मका बचतकर्ताको विवरण संकलन गरी रकम फिर्ता गर्ने कार्यक्रम ल्याएको थियो । 

त्यस सम्बन्धमा योजना, नीति वा कार्यक्रमसहित छलफलका लागि इजलासमा आफैं उपस्थित हुन सर्वोच्चले चार मन्त्रालयका सचिवसहित तीन सम्बन्धित अधिकारीलाई आदेश पनि गरेको छ । आदेशअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहकारी विषय हेर्ने सचिव, अर्थ सचिव, सहकारी सचिव, कानुन सचिव तथा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, सहकारी विभागका रजिस्ट्रार र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्य–सचिव माघ १० मा सर्वोच्चमा स्वयं उपस्थित हुनुपर्नेछ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले उक्त आदेश जारी गरेको हो । इजलासले मंगलबार तयार पारेको लिखित आदेशमा सरकारलाई माघ ४ भित्र संसदीय छानबिन विशेष समितिबाट तयार भएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन प्रतिवेदन २०८१ को कार्यान्वयनका सम्बन्धमा भए/गरेका कामकारबाहीको प्रगति विवरण पेस गर्न पनि भनिएको छ ।

सहकारी ठगीको समस्या समाधानार्थ कानुन बनाउनुपर्ने भए बनाउन र संशोधन गर्नुपर्ने भए संशोधन गर्न भएका प्रगति बुझाउन पनि आदेश दिइएको छ । बजेटमा उल्लेख बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गर्ने काम भए/नभएको बारे पनि प्रतिवेदन बुझाउन भनिएको छ ।

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully