वाइडबडीमा घूस खुवाउने कम्पनीलाई अमेरिकामा ५५ मिलियन डलर जरिवाना

जरिवाना तोकिएको एएआर कर्पोरेसन नेपाली मूलका बेलायती नागरिक दीपक शर्माको अमेरिकी कम्पनी, शर्मा गत महिना नेपालको विशेष अदालतबाट पनि दोषी ठहर

पुस १०, २०८१

मातृका दाहाल

Company fined $55 million in US for paying bribes to widebody

काठमाडौँ — नेपाल वायु सेवा निगमलाई दुई वटा वाइडबडी जहाज बिक्री गर्ने क्रममा घूस दिएको अभियोगमा अमेरिकी सरकारले जहाज आपूर्तिकर्ता कम्पनी एएआर कर्पोरेसनलाई ५५ मिलियन डलर जरिवाना गरेको छ ।

जहाज खरिद ठेक्का प्रक्रियाकै बेला नेपाली अधिकारीलाई २५ लाख अमेरिकी डलर घूस दिएको प्रमाणित भएपछि अमेरिकी न्याय मन्त्रालयले एएआर कर्पोरेसनलाई साढे ७ अर्ब नेपाली रुपैयाँ बराबर जरिवाना तोकेको हो ।

एएआर कर्पोरेसन नेपाली मूलका बेलायती नागरिक दीपक शर्माको अमेरिकी कम्पनी हो । शर्मा जहाज खरिद प्रकरणमै नेपालको विशेष अदालतबाट दोषी भइसकेका छन् । शर्मासहित ११ जनालाई गत मंसिर २० मा विशेष अदालतले दोषी ठहर गरी करिब डेढ अर्ब रुपैयाँ जरिवाना र कैद सजाय सुनाएको थियो । 

विशेष अदालतबाट शर्माका साथै सरकारका दुई पूर्वसचिव शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगाना, वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, निगम सञ्चालक समिति सदस्य तथा सहसचिव बुद्धिसागर लामिछाने, जर्मन एभिएसन क्यापिटलकी प्रबन्ध निर्देशक अना टोपा, प्रतिनिधि क्रिस्चियन न्युहेलेन र एएआरका वित्तीय निर्देशक ओलेग कालिस्त्रु, एआरका सीईओ जोन होल्मेस, हाइफ्लाई एक्सका अध्यक्ष पाउलो मिरिपुरी र निर्देशक गेराल्ट थ्रोन्टन दोषी ठहर भएका हुन् । 

जहाज खरिद गर्दा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २२ मा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, दुई पूर्वसचिव अधिकारी र ढुंगानासहित ३२ जनाविरुद्ध १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतबाट फैसला आएको दुई सातापछि अमेरिकी सरकारले पनि घूस खुवाएको अभियोगमा आपूर्तिकर्ता कम्पनीलाई दोषी ठहर गरेको हो । अमेरिकाको न्याय मन्त्रालयले यस विषयमा डिसेम्बर १९ (गत बिहीबार) मा विज्ञप्ति नै जारी गरेको छ । 

वाइडबडी जहाज खरिद प्रकरण नेपालमा ठूलो आर्थिक घोटालाका रूपमा चिनिएको छ । यस विषयमा अमेरिकी सरकारले ‘फेडरल ब्युरो अफ इन्भेस्टिगेसन’ (एफबीआई) मार्फत सूक्ष्म रूपमा अनुसन्धान गरेको थियो । अमेरिकी जाँचबुझ एजेन्सी एफबीआईको अनुसन्धानका क्रममा जहाज आपूर्तिकर्ता कम्पनीले घूस खुवाएको पुष्टि भएको थियो । अवैध माध्यमबाट व्यापार गरेर एएआरले २६ मिलियन डलर नाफा कमाएको पनि अमेरिकी मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘एएआरले नेपाल र दक्षिण अफ्रिकाका उच्च तहका सरकारी अधिकारीलाई घूस दिएर राज्य–स्वामित्वको एयरलाइन्ससँग व्यापार गरेको र यसबाट लगभग २४ मिलियन डलर अवैध नाफा कमाएको थियो,’ न्याय मन्त्रालयअन्तर्गत अपराध अनुसन्धान गर्ने विभागका प्रमुख सल्लाहकार ब्रेन्ट विबलेले विज्ञप्तिमा भनेका छन् । 

एएआरले नेपाल र दक्षिण अफ्रिकाका सरकारी अधिकारीलाई घूस दिएर अमेरिकी कानुन उल्लंघन गरेको होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स (एचएसआई), न्युयोर्क फिल्ड अफिसका विशेष एजेन्ट इन चार्ज विलियम एस वाकरले बताएका छन् । ‘आजको परिणामले एचएसआईको विश्व व्यापारमा जवाफदेहिता कायम गर्ने दृढ प्रतिबद्धता गर्छ,’ उनको भनाइ छ, ‘एचएसआई न्युयोर्कले भ्रष्ट अभ्यासमा संलग्न जहाँ र जुनसुकै पदको भए पनि पूर्ण रूपमा जवाफदेही बनाउन आवश्यक सबै कदम चाल्छ ।’

नेपाली अधिकारीसँग मिलेमतो गरेर शर्माको कम्पनी एएआरले दुइटा जहाज किन्ने ठेक्का पाएको थियो । जर्मन नागरिक क्रिस्चियनले अन्य ३ कम्पनीसँग मिलेमतो गरी जहाज खरिद प्रक्रियामा भूमिका खेलेका थिए । कालिस्त्रुले जहाज किन्नकै लागि हाइफ्लाई एक्स कम्पनी खोलेको अनुसन्धानबाट पुष्टि भएको थियो ।

निगमसँग सुरुमा ठेक्का सम्झौता गर्दा एएआरमा अध्यक्ष एवं सीईओ जोन होल्मेस थिए । पछि कम्पनीको अध्यक्षमा बेलायती नागरिक शर्मा छिरे । जहाज खरिदको आवरणमा भ्रष्टाचार गर्नकै लागि शर्माले विदेशी नागरिक अध्यक्ष भएको कम्पनी खडा गरी २०७३ फागुन १९ मा दुई ठूला जहाज खरिद गरेर करिब २४ अर्ब रुपैयाँमा निगमलाई बेचिएको थियो । 

शर्माको समूह सरकारी अधिकारीलाई हातमा लिएर कानुन, सर्त र सम्झौताविपरीत जहाज खरिद सम्झौता गराउन सफल भएको थियो । निगमका लागि नयाँ जहाज किन्न उपसमिति बनाइएकामा बदनियतपूर्ण चलखेल गरेर पुरानो विमान किन्न प्रपञ्च रचिएको अनुसन्धानमा पाइएको छ ।

जहाज किन्न तत्कालीन महाप्रबन्धक कंसाकारकै संयोजकत्वमा खरिद समिति बनेको थियो । त्यसपछि कंसाकारले सञ्चालक समिति सदस्य सूर्यप्रसाद आचार्यको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेका थिए ।

२०७३ असार ३० मा सञ्चालक समितिले मापदण्ड संशोधन गरी मन्त्रिपरिषद्‌बाट जहाज किन्ने निर्णय गराएको थियो । उपसमितिले २०७३ साउन ३२ मा प्रतिवेदन पेस गर्‍यो । यो सबै प्रक्रियामा एएआरलाई अनुकूल हुने गरी सर्तका विषय घुसाइएको थियो । दुई महिनापछि असोज ५ मा सञ्चालक समिति बैठकले खरिदसहितको ३ वर्षे कार्ययोजना ल्याउने गरी निगम व्यवस्थापनलाई निर्देशन दिएको थियो ।

त्यसपछि कंसाकारले निमित्त निर्देशक रामहरि शर्माको संयोजकत्वमा बनेको उपसमितिले एयर बसका ए–३३०–२०० वाइडबडी जहाज किन्न उचित हुने राय दियो । त्यसअघि एयरबस र निगमबीच सन् २००९ नोभेम्बरमै एमओयू हुँदा प्रतिविमान मूल्य ८ करोड ८० लाख ९९ हजार ३ सय १७ अमेरिकी डलर उल्लेख थियो । एमओयूअनुसार सन् २०१७ मा मूल्य वृद्धिसहित जोड्दा प्रतिविमान ११ करोड ८१ लाख ६३ हजार ७ सय ७३ डलर कायम गरिएको थियो । तर पछि सन् २०१४ पछि बनेका जहाज किन्न भनी प्रक्रिया थालियो । 

मिलेमतोमा मापदण्ड संशोधन गरेर २०७३ असोज ७ मा सञ्चालक समिति अध्यक्षसमेत रहेका तत्कालीन पर्यटन सचिव अधिकारीको अध्यक्षतामा बसेको बैठकले पुराना दुइटा वाइडबडी जहाज किन्न सार्वजनिक सूचना आह्वान गर्न स्वीकृति दिएको थियो । तीन दिनपछि असोज १० मा सूचना जारी गरियो । कात्तिक २३ मा कामु नायब महाप्रबन्धक रमेशबहादुर शाहको नेतृत्वमा ११ सदस्यीय मूल्यांकन समिति बन्यो ।

समितिले पुस २ मा प्रतिवेदन पेस गर्दा ११ कम्पनीका प्रस्ताव आएकामा पहिल्यै मिलेमतो गरी मापदण्ड तय गरिएकाले निश्चित कम्पनी मात्रै प्रतिस्पर्धा परे । एएआर छनोट भएपछि कंसाकारले एएआरका शर्मालाई पत्र पठाउदै जहाज खरिदका लागि सम्झौता गर्न डाकेका थिए । ०७४ वैशाख ७ को मन्त्रिपरिषद् बैठकले जहाज खरिदका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट २५ अर्ब ऋण उपलब्ध गराउन सरकार जमानी बस्ने निर्णय भयो ।

त्यसपछि अर्थ मन्त्रालयले सञ्चय कोष र लगानी कोषलाई ग्यारेन्टी पत्र पठाएको थियो । तर, खरिद प्रक्रियामा प्रश्न उठ्नुका साथै अख्तियारमा पनि उजुरी परेपछि ऋण दिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष हच्किएका थिए । तर शक्तिकेन्द्रको दबाब र प्रभावमा मन्त्रिपरिषद्‌बाट निर्णय गराएर रकम भुक्तानी गरिएको थियो ।

विमान खरिद प्रकरणमा २०७३ पुस २७ मै अख्तियारमा उजुरी परेको थियो । त्यसको बेवास्ता गरेर विमान किन्ने निर्णय गरिएको थियो । २०७५ पुस २६ मा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि वाइडबडी प्रकरणमा भ्रष्टाचार भएको भन्दै अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको थियो । तर सत्ता–शक्तिको दबाब र प्रभावका कारण सूक्ष्म अनुसन्धान नै हुन सकेको थिएन । गत वर्ष अनुसन्धान अघि बढाएर अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो ।

मातृका दाहाल दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully