काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस र एमालेबीचको शक्ति सन्तुलन हुनु आवश्यक देखिएको बताएका छन् । उनले संयुक्त सरकारमा शक्ति सन्तुलन मिलाउने जिम्मेवारी प्रधानमन्त्रीको हुने बताए ।
कांग्रेसको १०० दिने विशेष अभियानअन्तर्गत इलाममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता महरले वर्तमान सरकारमा कांग्रेस र एमाले सहभागी भएपनि शक्ति सन्तुलन कायम हुन नसकेको बताए ।
'एमाले नेतृत्वको यो सरकारमा कांग्रेस पनि सहभागी छ । तर कांग्रेसको योजना र घोषणापत्रमा सरकारले कुनै काम गरेको छैन । सरकार गठन भएको पाँच महिना बित्दा पनि गठबन्धनको स्प्रिड समात्न सकेको छैन,' उनले भने, 'जनतामाझ व्याप्त निराशालाई आशामा परिणत गर्न सरकारले जुन प्रतिबद्धता जनाएको हो, त्यसअनुरुप काम हुन सकेको छैन ।'
उनले प्रधानमन्त्रीले संसद्मा प्रतिबद्धता जनाएबमोजिम सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाए ।गठबन्धन दलबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको ध्यान जानुपर्ने उनको भनाइ थियो ।
