अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदबारे प्रत्यक्ष निर्वाचन हुने

पुस ९, २०८१

कान्तिपुर संवाददाता

There will be direct elections in Akhil Kavrakari about the age limit of 32 years

काठमाडौँ — माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको नेतृत्वका लागि ३२ वर्षे उमेर हदको विवाद प्रत्यक्ष निर्वाचनबाट टुंगो लगाइने भएको छ ।

माओवादीका नेता एवं विद्यार्थी इञ्चार्ज हिमाल शर्मासहित विद्यार्थी नेताहरुको मंगलबारको बैठकले उमेर हदबारे निर्वाचनमा गर्ने निर्णय गरेको हो ।

अखिल क्रान्तिकारीको असोज दोस्रो राष्ट्रिय सम्मेलन भइरहेका बेला उमेर हद लगाउने विवाद उत्कर्षमा पुगेको थियो । त्यसपछि सम्मेलनको स्थगित भएको थियो । मंसिर अन्तिम साता सम्मेलन गर्ने तयारी भए पनि विवादका कारण रोकिएको थियो ।

अखिल क्रान्तिकारी केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले विज्ञप्ति जारी पुस १३ मा मतदान हुने जनाएका छन् । ‘केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको उमेर हद ३२ वर्ष लाग्ने वा खुल्ला गर्ने भन्ने सम्बन्धमा निर्वाचन गर्न’ तालिका सार्वजनिक भएको जनाएका छन् ।

कार्यतालिका अनुसार पुस १० गते मतदाता नामावली प्रकाशित, पुस ११ गते देखि १२ गते बिहान १० बजेसम्म मतदाता नामावली उपर दाबी/विरोध, पुस १२ गते ५ बजेपछि अन्तिम मतदाता नामावली प्रकाशित र पुस १३ गते बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने छ ।

मतदानका लागि भूगोल र गैरभूगोल गरी ८६ वटै जिल्लाहरुमा केन्द्र तोकिएको छ । पुस १४ मा अन्तिम परिणाम प्रकाशन हुने छ ।

अखिल क्रान्तिकारीका इञ्चार्ज शर्माले विद्यार्थी मोर्चा सम्हाल्न ३२ वर्ष लगाउने विषयमा ठूलो विवाद भएकाले प्रत्यक्ष निर्वाचनबाट टुंगो लगाइने बताए ।

‘उमेर हदको विवाद प्रत्यक्ष निर्वाचनबाट टुंगो लागेपछि केन्द्रीय पदाधिकारीको निर्वाचन हुनेछ’ उनले भने ।
केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन पुस १७ मा तोकिएको छ ।

कार्यतालिका अनुसार  पुस १५ गते केन्द्रीय पदाधिकारी तथा सदस्यको उम्मेदवारी मनोनयन दर्ता, पुस १६ उम्मेदवारी उपर दाबी विरोध, पुस १६ गते बिहान ८ बजे देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता, १६ गते अपरान्ह ५ बजे उम्मेदवारको अन्तिम नामावली  प्रकाशित र पुस  १७ गते बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुने छ ।

केन्द्रीय नेतृत्वका लागि भूगोल र गैरभूगोल गरी ९ प्रदेश स्तरमा मतदान केन्द्र हुनेछ ।  

कान्तिपुर

Link copied successfully