जसले आफ्नो सारा जीवन पीडितका उद्धारका निम्ति लगाइन्, अरूका निम्ति जीवन समर्पित गरिन्
काठमाडौँ — हालै थाइल्यान्डमा मानव बेचबिखनसम्बन्धी एसियाली देशहरूको सम्मेलन भएको थियो । जसमा नेपालको प्रतिनिधि टोलीमा सुनिता दनुवार पनि थिइन् ।
विभिन्न देशमा भइरहेको महिला बेचबिखन, यौन दासता र महिलामाथि हुने हिंसाका विरुद्धको अभियान कसरी अख्तियार गर्नुपर्छ भन्नेबारे आयोजित उक्त सम्मेलनमा सुनिताले धेरै देशको अवस्था बुझ्ने र अरूलाई नेपालको अवस्था बुझाउने मौका पाइन् । थाइल्यान्डबाट फर्केलगत्तै गत साता सुनिता र सहकर्मी चरिमाया तामाङ सिन्धुपाल्चोक पुगेका थिए, जहाँ उनीहरू मानव बेचबिखन रोक्ने अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विमर्शमा सक्रिय थिए ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा रणनीति तय गरी त्यसलाई कार्यान्वयन गर्ने उपायबारे लागिरहेकै बखत सुनिताको यात्रामा सोमबार बिहान हठात् पूर्णविराम लाग्यो । बेचबिखनमा परेका पीडित महिलाहरूको सशक्तीकरणमा दुई दशकदेखि लागिरहेकी सुनिताको ४७ वर्षको उमेरमा हृदयाघातका कारण मृत्यु भयो । उनी ‘आँसुकी शक्ति’ की लेखक तथा शक्ति समूहकी संस्थापक तथा पूर्वअध्यक्ष पनि हुन् । ‘मलाई अहिले कुरा गर्न पनि गाह्रो भइरहेको छ, टेकेको जमिन नै हल्लिरहेको जस्तो भइरहेको छ,’ मानव बेचबिखनविरुद्धको अभियानमा सुनिताकी सहयात्री चरिमायाले भावविह्वल हुँदै भनिन्, ‘उहाँ हामीमाझ नरहेको कुरा पत्याउन पनि सकिरहेको छैन, यो अकल्पनीय भयो ।’
सिन्धुपाल्चोकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित शक्ति समूहको पुन:स्थापना केन्द्र छ । जहाँ मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण राष्ट्रिय समितिमा सदस्य रहेका सुनिता र चरिमाया समितिका तर्फबाट भेटघाट, अनुगमन, सल्लाहसुझावका लागि गत साता गएका थिए ।
‘यसमा अझ कसरी राम्रो गर्ने भनेर योजना बनाउनका लागि हामी मन्त्रालयको सचिवसहितको टोली त्यहाँ पुगेका थियौं,’ चरिमाया भन्छिन्, ‘अब अचानक यस्तो घटना सुन्न पर्दा स्विकार्न सकिरहेको छैन ।’
सोमबार नै पशुपति आर्यघाटमा श्रीमतीलाई बिदाइ गरेका नृपले सुनितासँगका अनेकन स्मृतिले यतिखेर आहत भएका छन् । ‘कीर्तिपुरमा हाम्रो पहिलो भेट भएको थियो,’ उनी भन्छन्, ‘२०५५ सालमा बिहे गरियो, आज त्यो टुट्नु रहेछ ।’ सुनिताले सन् २०१८ मा सुनिता फाउन्डेसन सुरु गरेकी थिइन् । जसमा कानुनमा स्नातकोत्तर गर्दै गरेकी छोरी स्वस्तिकाले सघाउँदै आएकी थिइन् । ‘पहिले शक्ति समूहमा काम गरेपछि आफ्नै नामको फाउन्डेसन सञ्चालन सुरु गरौं भनेर मैले उनलाई साथ दिएँ,’ नृप थप्छन्, ‘अब उनको सपना पूरा गर्न भए पनि यसैलाई अगाडि बढाउँछौं ।’
भारत भ्रमणमा रहेका सुनिताका छोराबुहारी पनि उनको मृत्युको खबरले स्तब्ध छन् । सुनितालाई नजिकबाट जान्नेहरू उनलाई ‘काँडैकाँडाबीच फुलेकी एक सुन्दर फूल’ भन्ने गर्छन् । हुन पनि बेचबिखनमा परेपछि जीवनमा आइलागेको पीडा छिचोल्दै सुनिताले संघर्ष र बहादुरीका साथ आफूलाई त्यसबाट निकालिनन् मात्रै, मानव बेचबिखनविरुद्ध सतिसालझैं उभिइन् । बेचबिखनमा परेका महिलाका पुन:स्थापनाका लागि आफ्नो पूरै जीवन अर्पण गरिन् । १४ वर्षकै उमेरमा दुई नेपालीबाट उनी भारतमा बेचिएकी थिइन् । चार वर्ष पीडादायी जीवन बिताएकी उनको २०५२ फागुनमा पाँच सय बढी किशोरीसँगै उद्धार भएको थियो । छ महिना भारतीय सरकारी उद्धार केन्द्रमा बिताएपछि २०५३ सालमा सुनिता नेपाल फर्किइन् । उनले त्यतिबेलै निश्चिय गरिसकेकी थिइन्, ‘बेचबिखनमा परेका पीडित महिलाहरूका लागि काम गर्नेछु ।’ लगत्तै उनीसहित १५ जना साथीहरू मिलेर ‘शक्ति समूह’ खोले, पछि उनी उक्त संस्थाको अध्यक्षसमेत बनिन् ।
लामो समय बेचबिखनमा परेका महिलाहरूको शक्तीकरणमा बिताएकी सुनिता सन् २०१३ मा ‘रमन म्यागासेसे अवार्ड’ र सन् २०१४ मा ‘सी–१० अवार्ड’ बाट सम्मानितसमेत भएकी थिइन् । साथै ऊनले सन् २०१५ मा ‘द एसिया डेमोत्रेसी एन्ड ह्युमन राइट्स अवार्ड’, ‘फ्रेन्च रिपब्लिक ह्युमन राइट्स अवार्ड’ र ‘वर्ल्ड उमन लिडरसिप एचिभमेन्ट अवार्ड’, सन् २०१६ ‘विथ एन्ड फर गर्ल्स अवार्ड’ लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी थिइन् ।
२०३४ साउन १ मा दैलेखमा जन्मिएकी सुनिता जीवनको अन्तिम समयसम्म पीडित महिलाका पक्षमा समर्पित रहिन् । आफूले भागेको जस्तो पीडादायी अवस्था अरूले भोग्न नपरोस् भनी उनी निरन्तर अभियानमा लागिरहिन् । उनले गरेको काम बेचबिखनमा परेका महिलाहरूका निम्ति कोसेढुंगा भएको चरिमायाको विश्लेषण छ ।
चरिमाया सुनिताको सहकर्मी मात्र नभई बालसखा पनि हुन् । ‘उहाँ हक्की स्वभावको हुनुहुन्थ्यो,’ चरिमाया भन्छिन्, ‘सुनितासँग मैले साथसाथै बाँच्ने कोसिस गरें र लड्दालड्दै पनि उठें अनि त्यही अवस्थाका अरूलाई अघि बढाउन साथसाथै हातेमालो गरें ।’
