संघीयता कार्यान्वयन गर्न तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड

पुस ९, २०८१

रासस

Emphasis on cooperation, coordination and cooperation between all three levels to implement federalism

ललितपुर — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले  संविधानको मर्मअनुसार संघीयता कार्यान्वयन गर्न तीनवटै तहका सरकारबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

संघीय संसद सचिवालय र गैरसरकारी संस्था 'फेड्रलिजम एण्ड लोकलाइजेशन सेन्टर'द्वारा  ‘संघीयता, राष्ट्रियसभा र आगामी कार्यभार’ विषयमा मंगलबार आयोजित छलफलमा राष्ट्रिय सभा अध्यक्ष दाहालले संघीयतालाई सुदृढ बनाउन आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले भने, 'राष्ट्रिय सभालाई प्राप्त जिम्मेवारी सक्रियाताका साथ पूरा गर्ने, कमजोरी सच्च्याउँदै उपलब्धिको रक्षा हुनेछ ।' उनले जनताको बलिदानबाट प्राप्त  संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन प्रणालीलाई सुदृढ तुल्याउन संसद र तीन तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले लोकतन्त्र र संघीयतालाई सबल बनाउन संविधानले दिएका जिम्मेवारी सबैले समयमै पूरा गर्न आवश्यक रहेको बताइन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयता  कार्यान्वयनमा देखिएका कमीकमजोरी सुधार गरी सुशासन गर्ने, राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने र जनसहभागितामा आधारित समावेशी विकासलाई कार्यान्वयनमा सबैको साझा धारणा आवश्यक भएको बताए ।

नेकपा (एकीकृत समाजवादी) का नेता वेदुराम भुसालले राष्ट्रियसभाले संघीयता सबलीकरणका लागि विधिको शासन पालना गर्नुपर्नेमा जोड दिए । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले संघीयता कार्यान्वयन गर्न आवश्यक कानुन शीघ्र निर्माण गर्नुपर्ने बताए ।

सेन्टरका अध्यक्ष खिमलाल देवकोटाले संघीयता कार्यान्वयनसम्बन्धी संस्थाका निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । राष्ट्रियसभाका पूर्वसदस्य प्रकाश पन्थले जनप्रतिनिधिको पनि प्रतिनिधिमूलक थलोका रुपमा रहेको राष्ट्रियसभा र प्रदेशसभा संघीयताको मेरुदण्ड रहेको बताए । 

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कुनै पनि शासन प्रणाली आफैँमा असल वा खराब नभई त्यसको नेतृत्व गर्ने व्यक्तिको कार्यशैलीमा त्यो निर्भर रहने बताए । राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्यालले संविधानको मर्मअनुरुप सम्बद्ध सबैले काम गर्नुपर्नेमा जोड दिएका थिए ।

रासस

Link copied successfully