सुदूरपहाडकी ‘लेडी ड्राइभर’

स्नातक पहिलो वर्षमा अध्ययनरत रविना चन्द भन्छिन्, ‘सार्वजनिक सवारी चालक बीचमै पढाइ छोड्ने गर्छन्, पढ्दैनन् भन्ने सोच परिवर्तन गर्न चाहन्छु’

पुस ८, २०८१

मेनुका ढुंगाना

Sudoorpahadki 'Lady Driver'

अछाम — सुदूरपश्चिमका घुम्ती र मोडमा हुइँकिँदै तराई–पहाड ओहोरदोहोर गर्ने बोलेरो जिपको स्ट्रेरिङ घुमाइरहेकी भेटिन्छिन् एक युवती । उनी हुन्, बैतडीको दुर्गम मानिने पञ्चेश्वर गाउँपालिका–४ निङलाडकी २० वर्षीया रविना चन्द । 

रविना सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सार्वजनिक यातायात चलाउने एकमात्र महिला चालक हुन् । सातामा दुई दिन बैतडीबाट कञ्चनपुरको महेन्द्रनगरसम्म करिब ५ सय किमि गाडी चलाउँछिन् । स्नातक पहिलो वर्षमा अध्ययनरत रविनाले बलेरो चलाउन थालेको ७ महिना बितिसकेको छ । 

गाउँमा किराना पसल चलाउँदै आएका उनका बुबा डबलबहादुरले ७ वर्षअघि बोलेरो किनेका थिए । तर गाडी चलाउन राखिएका चालक कोही छोटो समयमै छाडेर जाने र कोहीले लापरबाही गर्ने भएपछि सार्वजनिक गाडी नियमित रूपमा चलाउन समस्या भयो । सधैंजसो गाडी चालककै समस्या आउन थालेपछि रविनाले आफैं चालक बन्ने अठोट लिइन् ।

Sudoorpahadki 'Lady Driver'

‘जिप किनेपछि चालकले गाडी बीचबाटोमै छोडेको, कहिले बिनाजानकारी छाडेर हिँडेको जस्ता समस्या सुनिरहनुपर्थ्यो । त्यसले गर्दा उमेर पुगेपछि आफैं गाडी चलाउँ कि क्या हो भन्ने सोच आउन थाल्यो,’ उनले भनिन् । 

‘बुबाको समस्या समाधान गर्न र जिम्मेवारी लिन चालक बन्ने सपना देखें, अहिले पूरा पनि भयो,’ उनले भनिन् । चालक पेसा र पढाइ सँगसँगै अघि बढाउन चाहन्छिन् रविना । भन्छिन्, ‘सार्वजनिक सवारी चालकहरू बीचमै पढाइ छोड्ने गर्छन्, पढ्दैनन् भन्ने भाष्यलाई गलत सावित गर्न चाहन्छु म ।’

रविनालाई उनका साथीहरू ‘रवि गुरु डन’ भनेर सम्बोधन गर्छन् । सुरुमा गुरु भनेर बोलाउँदा उनलाई लाज लाग्थ्यो । सवारी चालकलाई गुरु भनिने भएकाले अहिले रविनाले पनि सामान्य रूपमा लिन थालेकी छन् । महाकाली यातायात व्यवसायी समितिमा दर्ता भएको म१ज नम्बरको बलेरो चलाएर उनले बैतडीदेखि सुदूरपश्चिमको प्रदेश राजधानी धनगढी र कञ्चनपुरको महेन्द्रनगरसम्म यात्रुलाई सुविधा दिँदै आएकी छन् । बैतडीको पञ्चेश्वर, शिवनाथ र मेलौलीका यात्रुलाई उनी कच्ची सडक हँॅदै तराईसम्म पुर्‍याइरहेकी छन् ।

‘पहिले त गाडीमा बसेका यात्रुले ड्राइभर खोइ भनेर सोध्थे । मै हो भन्दा पत्याउँदैनथे । कोही त अर्को गाडीमा जान्छौं भन्दै हिँड्थे । छोरी मान्छेले यति लामो बाटोमा सुरक्षित लैजान सक्दिन कि भनेर डराउँथे सायद,’ रविना सम्झिन्छिन्, ‘यात्रुलाई सम्झाइबुझाइ गरेर लग्यो, बीचमा फेरि ट्राफिकले झन् धेरै केरकार गर्ने । विश्वास नलागेर लाइसेन्स पटक–पटक घुमाएर हेर्ने । कति ट्राफिकले त फोटोसमेत खिचेर राख्ने गर्थे ।’ सातामा दुई पटक तराई–पहाड ओहोरदोहोर गर्ने भएकाले अहिले ट्राफिक प्रहरीले चिन्न थालेको र राम्रो व्यवहार गर्दै आएको उनले बताइन् ।

Sudoorpahadki 'Lady Driver'

परिवारमा रविनासहित ६ दिदीबहिनी छन् भने उनका एक दाइ छन् । जेठी दिदी मञ्जु वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छिन् । ‘बुबाको हौसला र साथले सुरुमा गाउँमै चलाउन सिकें, त्यसपछि महेन्द्रनगर गएर ट्रेनिङ सेन्टरमा १५ दिन सिकें, पहिलो प्रयासमा ट्रायल पास भएँ र लाइसेन्स पनि पाएँ,’ उनले भनिन् ।’

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully