‘बाँदर नियन्त्रणका लागि ‘मंकी पार्क’ बनाउनुपर्छ’

पुस ८, २०८१

कान्तिपुर संवाददाता

”Monkey Park” should be made to control monkeys.

काठमाडौँ — केही समयता प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न समितिहरूमा बाँदरले गाउँघरमा दिएको सास्तीलाई सांसदहरूले प्रमुख मुद्दा बनाउँदै आएका छन् । बाँदरले खेतीबाली खाएर नोक्सान गरेको मात्र नभई घरमै आएर आक्रमण गर्न थालेपछि बिनाअभिभावक बालबालिका घरमा बस्न छाडेको सोमबार राष्ट्रिय सभाअर्न्तगतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सदस्यहरूले छलफलका क्रममा उठाएका छन् ।

राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनमा वन क्षेत्र र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित विषयमा आयोजना गरिएको छलफलमा सहभागी समिति सदस्य राजेन्द्रलक्ष्मी गैरेले पाल्पाको उत्तर र दक्षिणी क्षेत्रमा बाँदरका कारण छोराछोरी घरमा छाडेर अभिभावक मेलापात जानसक्ने अवस्था नरहेको सुनाइन् ।  

‘ती भेगका स्थानीयहरूको गुनासो बाँदरले घरमै आएर आक्रमण गर्छन, जसले गर्दा घरमा केटाकेटी छाडेर अभिभावक हिँड्ने अवस्था छैन, साथै लिएर हिँड्नु पर्ने बाध्यता छ,’ उनले भनिन, ‘बाँदर मार्न सकिँदैन, तर कसैलाई उपहार त दिन सकिन्छ नि ।’

यो कुरालाई वन तथा वातावरण मन्त्रालयले गम्भीर रूपमा लिई समाधानको उपाय खोज्नुपर्ने उनले बताइन् । ‘यो संवेदनशील विषय हो,’ उनले भनिन्, ‘यस विषयमा सम्बन्धित निकाय गम्भीर बनेर निराकरणको खोजिनुपर्छ ।’ अर्का समिति सदस्य जगतप्रसाद शर्माले बाँदरले घर गाउँमा हैरान पारेकाले समाधानको उपाय छिटो खोजिनुपर्ने बताए ।

सुरक्षाका दृष्टिकोणले दुम्सी, बँदेलललाई समात्न र मार्न मिले पनि बाँदरलाई धार्मिक मान्यता अनुसार मार्न नमिल्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए । ‘तर, बाँदरलाई अतिक्रमित ठाउँहरूमा लगेर राख्न सकिन्छ,’ उनले समितिको बैठकमा सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै भने, ‘चितवनको बाँदरझुलामा करिब ८ सय बिघा जग्गा अतिक्रमण गरिएको छ, त्यस्तो ठाउँलाई मंकीपार्क बनाउन सकिन्छ ।’ अब यस्तो ठाउँको खोजी गरेर बाँदरको व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हुँदा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा तिब्बततिर  एउटा बाँदर दिएर एउटा च्याङ्ग्रा ल्याउने कुरा उठेको वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरालले बताए । ‘पछिल्लो समय बाँदर र बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारीमा छौं,’ उनले भने, ‘कृषि मन्त्रालयले यसमा सकारात्मक राय दिएको छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully