जीर्ण स्वास्थ्यचौकीबाट उपचार

सल्यानका दुई दर्जन स्वास्थ्य चौकीका भवन जीर्ण

पुस ७, २०८१

विप्लव महर्जन

Treatment from dilapidated health centers

सल्यान — सल्यानका १० पालिकाका दुई दर्जन स्वास्थ्यचौकी भवन जीर्ण भएका छन् । दुई दशकअघि निर्माण गरिएका यिनै स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मीले सेवा दिँदै आएका छन् । 

शारदा नगरपालिकाका ७ स्वास्थ्यचौकीमध्ये श्रीनगर, स्यानीखाल, मार्के, सेजवालटाकुरा, डाँडागाउँ, बाग्चौर नगरपालिकामा ५ मध्ये एक, बन्गाड कुपिण्डे नगरपालिकामा ७ मध्ये जयतपानी र माझकाँडा गरी २, दार्मामा ३, कपुरकोटमा ४, कालीमाटीमा ४, कुमाखमा ५ मध्ये २, त्रिवेणीमा ५ मध्ये १, सिद्धकुमाख गाउँपालिकामा ३ मध्ये २ स्वास्थ्यचौकी जीर्ण छन् ।

साँघुरो कोठा भएका भवनमा वर्षात्को समयमा पानी चुहिने समस्या छ । तर नयाँ भवन बनाउन संघीय सरकार र पालिकाले बजेट अभाव भएको जनाउँदै आएका छन् । पुरानो तथा जीर्ण भवनबाट सेवा दिनुपर्दा स्वास्थ्य सेवा प्रभावित हुँदै आएको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लाभर ४५ स्वास्थ्यचौकी भए पनि २० वटाको मात्र पक्की भवन निर्माण भएका छन् ।

कालीमाटी गाउँपालिका–७ काप्रेचौरको घुइँयाबारी स्वास्थ्यचौकीका इन्चार्ज तथा स्वास्थ्यकर्मी यज्ञबहादुर परियारले साँघुरो कोठा तथा कर्कटपाता खिया लागेर वर्षात्मा पानी चुहिने समस्या रहेको बताए ।

‘पालिकाले मर्मत गरिदिएपछि जेनतेन सेवा दिन मिल्ने त भएको छ तर प्रभावकारी छैन । एकै पटक धेरै बिरामी उपचारको लागि आए भने बाहिर बसाउनुपर्छ,’ उनले भने, ‘अहिलेसम्म बत्तीको ब्यवस्था छैन । बर्थिङ सेन्टरसमेतको सेवा दिँदै आएको यो स्वास्थ्य संस्थामा टर्च बालेर सुत्केरी गराउनुपर्छ ।’ 

यस्तै अवस्था त्रिवेणी गाउँपालिका–४ सरिकोटको स्वास्थ्यचौकीको पनि छ । यो स्वास्थ्यचौकीको भवन २०४८ सालमा बनेको हो । नयाँ भवन निर्माणमा सम्बन्धित निकायले चासो नदिएको स्वास्थ्यचौकीका इन्चार्ज बलिभान विष्टले बताए । ‘बाहिरबाट हेर्दा मर्मत गरेकाले ठिकै देखिन्छ तर पुरानो भवन भएकाले पर्याप्त कोठा छैन,’ उनले भने, ‘भएका कोठा पनि साँघुरा छन् । एउटै कोठाबाट धेरै किसिमका सेवा दिनुपर्छ ।’

Treatment from dilapidated health centers

दार्मा गाउँपालिका–५ ढाकाडाम स्वास्थ्यचौकीको भवन भूकम्पले चर्किएको छ । ‘दुई दशकअघि बनेको भवनको बाहिर र भित्र भूकम्पले चिराचिरा परेको छ । पालिकाले भवनको व्यवस्था नगर्दा न चटक्कै भवन छाड्न सकिएको छ न त सेवा नै । आएका बिरामीलाई त्यत्तिकै पठाउन नमिल्ने भएकाले डराइडराई सेवा दिनुपरेको छ,’ इन्चार्ज दीपक चन्दले भने । पुनर्निर्माणको माग राख्दै आए पनि बजेट नपरेको उनले जानकारी दिए ।

शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्रकुमार हमालले बजेट नआएकाले नयाँ भवन बनाउन नसकिएको बताए । पालिकासग पनि पर्याप्त बजेट नभएको उनको भनाइ छ । दार्मा गाउँपालिकाका ३ स्वास्थ्यचौकी मात्र नभई पालिकाले सञ्चालन गरेका ५ आधारभूत तथा सामुदायिक स्वास्थ्य केन्द्रको भवनको अवस्था पनि नाजुक रहेको स्वास्थ्य शाखा प्रमुख यत्रबहादुर बस्नेतले बताए ।

गत वर्षको भूकम्पले स्वास्थ्यचौकीको भवनमा असर गरेपछि कतिपय स्थानमा टेन्टबाट सेवा दिँदै आएको उनले जानकारी दिए । दुई स्वास्थ्य संस्थाको भवन बनाउने तयारी भइरहे पनि अन्यलाई बजेट नभएको बस्नेतको भनाइ छ । 

बन्गाड कुपिण्डेमा सात स्वास्थ्यचौकीमध्ये जयतपानी र माझकाँडामा भवन निर्माण गर्न नसकिएकाले मर्मत गरेर चलाइरहेको स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलले बताए । पालिकाले सञ्चालन गरेका ६ सहरी स्वास्थ्य इकाइ केन्द्रको भवन पनि गतिलो नभएको उनले जानकारी गराए ।

कालीमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरखबहादुर थापाले पालिकाले एउटै भवन बनाउन २–३ करोड खर्च गर्न नसक्ने बताए । जसका कारण मापदण्डविपरीतका पुराना तथा जीर्ण भवनबाट सेवा दिन बाध्य हुनुपरेको उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully