प्रवासी नेपालीलाई मताधिकार प्रस्ताव गरिएको विधेयक गृहमा थन्कियो

‘निर्वाचन व्यवस्थापन ऐन’ को मस्यौदामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ तथा वडाध्यक्षमा दलले कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने उल्लेख, ‘नो भोट’ को समेत प्रस्ताव

पुस ७, २०८१

राजेश मिश्र

The bill proposing voting rights to migrant Nepalis was stalled in the House

काठमाडौँ — निर्वाचन आयोगले तयार गरेको एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा गृह मन्त्रालयमा थन्किएको डेढ वर्ष भएको छ । निर्वाचनसम्बन्धी कानुनमा सुधार तथा परिमार्जन गर्ने गरी विधेयकको मस्यौदा तयार गरेर आयोगले २०८० असार १८ मै गृह मन्त्रालय पठाएको थियो । मस्यौदा मन्त्रिपरिषद् हुँदै विधेयकका रूपमा संसद् लगेर पारित गरेपछि मात्र कार्यान्वयनमा आउँछ ।

२०७२ मा संविधान जारी भएपछि छिटो चुनाव गर्नुपर्ने दबाबमा निर्वाचनसम्बन्धी विभिन्न कानुन ल्याइएका थिए ।

आयोगले मतादाता नामावली, निर्वाचन (कसुर तथा सजाय), स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा सदस्य निर्वाचन, प्रदेशसभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन तथा राष्ट्रियसभा सदस्य निर्वाचनसहित ७ वटा ऐन एकीकृत गरेर ‘निर्वाचन व्यवस्थापन ऐन’ को मस्यौदा तयार गरेको हो । सरकारले विधेयक मस्यौदाका लागि २०७८ पुस १४ मा आयोगलाई सैद्धान्तिक सहमति दिएको थियो । 

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरोकारवालासँग विभिन्न चरणमा छलफल तथा प्रदेशगत रूपमा अन्तरक्रिया गरेर विधेयकको मस्यौदा तयार गरेको जानकारी दिए ।

‘संविधान जारी भए लगत्तै चुनाव गर्न हतारहतार कानुन ल्याइएका थिए । दुईवटा चुनावको अभ्यास गरिसक्दा धेरै समस्या पहिचान भए । कतिपय नयाँ आवश्यकता महसुस भएका छन् । अदालतको आदेशअनुसार र अन्तर्राष्ट्रिय अभ्यासलाई समेत हेरेर मस्यौदा बनाइएको छ,’ उनले भने, ‘राजनीतिक दलहरू मिसन–०८४ मा होमिएका छन् । आयोग पनि कानुनमा रहेका कमीकमजोरी सुधार गर्दै निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, विश्वसनीय र प्रभावकारी बनाउने तयारीमा जुटेको छ । त्यसका लागि नयाँ कानुन आवश्यक छ ।’ 

आयोगले गत वर्ष नै हिउँदे अधिवेशनमा विधेयक अघि बढ्ने अपेक्षा गरेको थियो । नया ऐन आएपछि नियम, निर्देशिका र कार्यविधि बनाउनुपर्ने भएकाले अब ढिला नगरी मस्यौदालाई अघि बढाउनुपर्ने निर्वाचन आयुक्त भण्डारीले बताए । ‘आयोगले २०८४ को चुनावमै नयाँ कानुन कार्यान्वयन होस् भन्ने चाहेको छ,’ उनले भने । 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा आवश्यक प्रक्रियामा रहेको बताए । उनका अनुसार अर्थ मन्त्रालयको सहमति लिएपछि गृहले मस्यौदालाई कानुन मन्त्रालय पठाएको छ । ‘कानुनबाट छिट्टै मस्यौदा आउने कुरा छ,’ उनले भने, ‘त्यसपछि मन्त्रिपरिषद्मा जानेछ ।’ मन्त्रिपरिषद्मा पुगेपछि पनि विधायन समितिमा छलफल गरेर अन्तिम रूप दिइएपछि मात्र विधेयकका रूपमा संसद् लगिन्छ ।  गृहमन्त्री रमेश लेखकले चासो देखाएपछि बल्ल मस्यौदा सहमतिका लागि अर्थ र कानुन मन्त्रालय पठाइएको हो । 

प्रस्तावित विधेयकमा मतदाता नामावली संकलनलाई सरल बनाउने प्रयास गरिएको छ । उमेर पुगेका योग्य व्यक्तिले देशभरको कुनै पनि निर्वाचन कार्यालयबाट आफ्नो स्थायी बसोबास रहेको स्थानका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्छन् ।

मतदाता नामावलीमा विदेशमा रहेका नेपाली नागरिकको विवरण संकलन गरिने व्यवस्था थपिएको छ । मतदान हुने अघिल्लो दिनसम्म १८ वर्ष उमेर हुने मतदाताको नाम नामावलीमा समावेश गर्न सकिने प्रावधान थपिएको छ । विद्युतीय माध्यमबाट पनि मतदाता नामावलीमा नाम दर्ताको प्रस्ताव गरिएको छ । 

प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा सम्बन्धित दलले जति निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो, त्यसको कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने प्रस्ताव छ ।

यस्तै राजनीतिक दलले स्थानीय तहमा उम्मेदवार दिने सम्पूर्ण वडाध्यक्षमध्ये कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार तोक्नुपर्ने प्रावधान मस्यौदामा छ । पालिका अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एक महिलालाई दलले उम्मेदवार बनाउनुपर्ने प्रावधान यथावत् छ । एउटा पदमा मात्रै उम्मेदवारी दिँदा महिला हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । 

विद्युतीय उपकरण प्रयोग गरी मतदान गराउन सकिने प्रावधान पनि मस्यौदामा छ । विदेशमा रहेका मतदाताका सम्बन्धमा सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगको सहयोगमा मतदान गर्न पाउने व्यवस्था मिलाउन सकिने प्रस्ताव गरिएको छ । तर, विदेशमा रहेका मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने भनिएको छ ।

प्रस्तावित विधेयकमा उम्मेदवारको योग्यता/अयोग्यतासम्बन्धी प्रावधान थपिएका छन् । समानुपातिक प्रणालीबाट निर्वाचित हुने अवसर दुई पटकका लागि मात्रै हुने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने आयोगको प्रस्ताव छ ।

कुनै दलको सदस्य रहेको व्यक्ति त्यस्तो दलको सदस्य पद त्याग नगरी अर्को राजनीतिक दलबाट उम्मेदवार हुन नसक्ने पनि मस्यौदामा उल्लेख छ । 

संघीय संसद्, प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने प्रावधान पनि प्रस्तावित छ । तर त्यस्तो व्यक्तिलाई सोही निर्वाचन क्षेत्र वा तहमा हुने सोही पदको उपनिर्वाचनमा भने उम्मेदवार हुन पाउने सुविधा दिन खोजिएको छ ।

समानुपातिक तर्फ अग्रिम मतदान गर्न सकिने व्यवस्था राखिएको छ । कुनै पनि उम्मेदवारलाई मत दिन नपाउने ‘नो भोट’ को अधिकार समेत प्रस्तावित विधेयकमा समेटिएको छ । 

राजेश मिश्र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully