मुद्दा दर्ताका लागि रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो

पुस ७, २०८१

कान्तिपुर संवाददाता

Ravi Lamichhane was produced in Kaski court for registration of the case

पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दर्ताका लागि कास्की जिल्ला अदालत लगिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको रायबमोजिम मुद्दा दायर गर्नका लागि लामिछानेलाई कास्की प्रहरीले अदालतमा उपस्थित गराएको हो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीको टोली पनि अभियोग पत्र लिएर अदालतमा उपस्थित भइसकेको छ ।  

प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो । लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले सहकारी ठगीअन्तर्गत सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो १ करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो कायम गर्नुपर्ने राय अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरूद्ध कसूर र बिगो थप गर्दै पूरक अभियोगपत्र शुक्रबार नै अदालतमा दर्ता गरिसकेको छ । सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलाई संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन विरूद्धको कसूरमा मुद्दा चलाइएको छ । आज लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङ विरूद्ध पनि मुद्दा दर्ता गरिँदै छ ।

कान्तिपुर संवाददाता

Link copied successfully