गोर्खा मिडिया छोडेपछि पनि कम्पनीको आर्थिक कारोबारमा संलग्न थिए लामिछाने

पुस ७, २०८१

कान्तिपुर संवाददाता

Even after leaving Gorkha Media, Lamichhane was involved in the financial affairs of the company

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया ग्रुपबाट बाहिरिएपछि पनि त्यहाँको आर्थिक कारोबारमा संलग्नता रहेको देखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोगपत्रमा लामिछानेले गोर्खा मिडिया ग्रुप छोडेपछि पनि विभिन्न व्यक्ति र सहकारीहरूलाई चेकमार्फत भुक्तानी दिएको उल्लेख छ ।

जिल्ला अदालत कास्कीमा आइतबार दायर अभियोगपत्रमा उल्लेख भएअनुसार कम्पनीमा रहँदा र बाहिरिइसकेपछि पनि लामिछानेले विभिन्न व्यक्ति र संस्थाहरूलाई भुक्तानी दिएका थिए । 'यी प्रतिवादी (रवि लामिछाने)ले विभिन्न मितिमा आफूसमेत खाता संचालक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकको खाताबाट चे‍कमार्फत विभिन्न व्यक्ति र कम्पनी तथा सहकारीहरूलाई कम्पनीमा रहँदा र आफूले उक्त कम्पनीको सेयर बिक्री गरी अलग भएपश्चात् पनि चेक मार्फत भुक्तानी दिएको,' अभियोगपत्रमा उल्लेख छ, 'सो चेकहरूमा भएको हस्ताक्षर परीक्षण प्रतिवेदनबाट भिडेको देखिएको ।'

लामिछानेले त्यसरी सहकारी बचतकर्ताहरूलाई हानि-नोक्सानी र आफू तथा कम्पनीलाई फाइदा हुने गरी सहकारीको बचतकर्ताको रकम उक्त सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई समेतसँग मिलेमतो गरी सहकारीको ऐन, नियम, विनियमविपरीत रकम अपचलन गर्नका लागि कृत्रिम कारोबार, कृत्रिम व्यक्ति, काल्पनिक ठेगाना उल्लेख गरी अपराधबाट बच्न उम्कन पूर्वयोजना अनुसार झुठ्ठा विवरण उल्लेख गरी आर्थिक लाभ लिएको पुष्टि भएको पनि अभियोग पत्रमा उल्लेख छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो । 

लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडिया ग्रुपका सञ्चालक छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो । 

Even after leaving Gorkha Media, Lamichhane was involved in the financial affairs of the company

कान्तिपुर

Link copied successfully