काठमाडौँ — सर्वोच्च अदालतको आदेशबमोजिम मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले रिहा गर्ने तयारी गरेको छ । संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोको हिरासतमा रहेका प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु भनी सर्वोच्चले बिहीबार आदेश गरेको थियो ।
त्यसबमोजिम नै उनलाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थियो । ‘अदालतमा ल्याएपछि हामीले आदेशबमोजिम निजलाई छाड्नु भनेर प्रहरीलाई पत्र दिएका छौं,’ सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले भने, ‘छाडे/नछाडेको चाहिँ थाहा भएन ।’
अदालतको कागज बुझेपछि रिहाइ प्रक्रियाको कागजी काम भइरहेको र केहीपछि प्रसाईंलाई छाडिने सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए ।
छिनछिनमा औषधि खाइरहनु पर्ने र पूर्ण आराम गर्नु पर्ने अवस्थाका क्यान्सरका रोगी आफ्ना बाबुलाई रिहा गरी पाऊँ भनी प्रसाईंका छोरा निराजनले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार २४ घण्टाभित्र प्रसाईंलाई उपस्थित गराएउन प्रहरीका नाममा आदेश जारी गरेको थियो ।
न्यायाधीश सुनिल पोखरेलको इजलासले बिहीबार प्रसाईंलाई थुन्नाको लिखित कारणसहित उनलाई अदालतमा उपस्थित हुन प्रहरीलाई आदेश गरेको थियो ।
