आमा मायादेवी सुत्केरी मार्गको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न भन्दै काठमाडौंको ‘दुईपांग्रे क्विन्स कम्युनिटी’ का १० जना ‘लेडी राइडर’ ले ४ घण्टा लगाएर ३९ किमि लामो यस मार्गमा मोटरसाइकल यात्रा गरेका हुन् ।
लुम्बिनी — उनी बाइक राइड गर्न भनेपछि हुरुक्क हुन्छिन् । न घामले छेक्छ, न पानीले । मोटरसाइकल कुदाउने कुरा उठ्नासाथ ‘आईटेनरी’ बनाई हाल्छिन्, ललितपुर सातदोबाटोकी तुलसा पहाडी । २९ वर्षे ‘लेडी बाइक राइडर’ पहाडीले यस पटकको ‘राइड’ मा भने शान्ति र आध्यात्मिक अनुभूति गर्न पाउँदा दंग छिन् ।
रानी मायादेवी गर्भवती भई बच्चा जन्माउन माइत जाँदै गरेको बेला बाटोमै राजुकमार सिद्धार्थ जन्मेका थिए । पछि उनलाई सोही बाटो हुँदै राजदरबार ल्याइएको थियो । मायादेवी सुत्केरी भएर दरबार फर्किंदाको बाटो भएर यतिबेला तुलसासहितका १० जना महिला ‘बाइक राइडर’ ले यात्रा गरेका हुन् ।
‘बच्चा जन्मेपछिको स्तनपानको अनुभूति र रोमाञ्चकताले हाम्रो यात्रा नै अविस्मरणीय बनायो,’ तुलसाले थपिन्, ‘आध्यात्मिक शक्ति सञ्चय भयो ।’ ‘लेडी राइडर’ समूहकी अर्की काठमाडौं चाबहिल बस्ने सोनम शाहीले पनि आफूलाई तुलसालाई जस्तै अनुभूति भएको बताइन् ।
‘२६ सय वर्षपछि पनि यो बाटो अझै अप्ठ्यारो नै रहेछ,’ उनले भनिन्, ‘त्यतिखेर झन् कस्तो अप्ठ्यारो थियो होला ?’ ‘मोटरसाइकल राइड’ भनेपछि हुरुक्क हुने ३२ वर्षे सोनम मायादेवी सुत्केरी भएर फर्कंदाको बाटो हुँदै बाइक कुदाउँदा ‘शान्तिको ऊर्जा पाएको’ बताइन् ।
आमा मायादेवी सुत्केरी मार्गको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न काठमाडौंको ‘दुईपांग्रे क्विन्स कम्युनिटी’ का १० जना ‘लेडी राइडर’ ले यस मार्गमा मोटरसाइकल यात्रा गरेका हुन् । सधैं कालोपत्र बाटोमा बाइक हुइँक्याउँदै आएका उनीहरू यसपटक भने सुत्केरी मार्गको धुलौटे बाटो छिचोलेका हुन् ।
यस यात्राले ‘मनमा शान्ति’ ल्याएकोमा सबैको एकमत थियो । बुद्धिस्ट सर्किट्स डटकमको आयोजनामा यी १० महिला मोटरसाइकल चालकले लुम्बिनीको मायादेवी मन्दिर दक्षिण गेटबाट सुत्केरी मार्ग पछ्याउँदै यात्रा थालेका थिए ।
उनीहरूको ‘राइड’ लुम्बिनीबाट पडरिया, मनौरी, सिवलवा, बिजुवा, सिसहनिया, दोहनी, अरौराकोट हुँदै निग्लिहवा पुगेको थियो । त्यहाँबाट गोबरी, तिलौरी हुँदै शाक्यवंशीय राजधानी तिलौराकोट पुगेर टुंगिएको थियो ।
झन्डै ३९ किमि लामो बाटो उनीहरूले ४ घण्टा लगाएर पूरा गरेका थिए । यात्राका क्रममा यी महिला चालकहरूले सुत्केरी मार्गले छोएका विभिन्न गाउँठाउँका बारेमा सोध्दै, बुझ्दै आफ्नो यात्राको उद्देश्यबारे स्थानीयलाई पनि जानकारी गराएका थिए ।
‘बाइक राइड’ मा निस्कँदा गाउँले परिवेश, हरियाली र मनमोहक वातावरणले निकै लोभ्याएको ३४ वर्षीया राइडर मोनिका रजाली मगरले बताइन् । ‘४ घण्टा बितेको त पत्तै भएन,’ उनले भनिन् ।
मायादेवी सुत्केरी भई नवजात शिशुलाई बोकेर राजदरबार फर्कंदाको बाटोको अवस्था कस्तो होला भन्ने लागेर आफूहरू राइडमा निस्किएको ललितपुर नक्खीपोटकी २८ वर्षीया राइडर मनिता शाहीले बताइन् । ‘धेरै उपासिका यो बाटोमा यात्रा गर्न र हेर्न लालायित छन्,’ उनले भनिन्, ‘अब हामीले पनि धेरै जानकारी पायौं, यस मार्गका बारेमा सक्दो प्रचार गर्नेछौं ।’
महिलाका कुरा हुँदा महिलाले नै यो मार्गको अन्वषेण गरेर प्रचार गरून् भनेर नै महिला राइडरलाई यहाँ ल्याएर राइड गर्न लगाएको लुम्बिनी विकास कोषका सद्भावना दूत तथा पर्यटन व्यवसायी विक्रम पाँणीकाजीले बताए ।
लुम्बिनी र कपिलवस्तुको पर्यटन विकासका लागि नयाँ गन्तव्यका रूपमा ६ वर्षअघि मायादेवी सुत्केरी मार्ग पहिचान गरी नयाँ पर्यटकीय गन्तव्य बनाउन सकिने योजना अघि सारिएको थियो । सुत्केरी मार्गलाई पर्यटकीय महत्त्वको बनाउने अवधारणा लिइएको लुम्बिनी विकास कोषका सद्भावना दूतसमेत रहेका पाँणीकाजीले बताए ।
लामो समयदेखि बुद्धस्थलबारेमा पुरातात्त्विक अध्ययन अन्वेषणमा लागिरहेका वरिष्ठ पुरातत्त्वविद् वसन्त विडारीले मायादेवी सुत्केरी मार्गको पत्ता लगाएका थिए । मानव चोला लिएर संसारमा अहिंसाको अभियान चलाउने बुद्धलाई जन्म दिएपछि आमा मायादेवीले तय गरेको यस मार्गलाई आध्यात्मसँग जोडेर पछिल्लो समय पर्यटन प्रबर्द्धन गर्न खोजिएको हो ।
सुत्केरी मार्गको बाटो देखाएर अध्यात्मिक ऊर्जा प्रदान गर्ने कामले यस क्षेत्रको महत्त्व बढाउन लाग्नुपर्ने भिक्षु मैत्री महास्थवीरले बताए । ‘यो ट्रेलको विकास हुनासाथ स्थानीय पर्यटनसँग स्वतः जोडिन्छन्, व्यापार बढ्छ । त्यसले रोजगारी सृजना गर्छ । जसले गर्दा यस क्षेत्रकै समग्र विकास हुनेछ,’ उनले थपे ।
३० जना बढी सदस्य रहेको ‘लेडी राइडर’ समूह दुईपांग्रे क्विन्स कम्युनिटीले मायादेवी सुत्केरी मार्गको प्रचारप्रसारमा अभियान नै चलाउने समूहकी संयोजक तुलसाले बताइन् । पेसाले नृत्य निर्देशक उनी संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनको नारा बनाएर काम गर्न यो राइडले अझ उत्प्रेरित गरेको तर्क गरिन् ।
यसअघि पनि १४ जनाको समूहले ‘मोटर गर्ल्स टु द सिन्धुलीगढी राइड’ गरेको उनले जनाइन् । त्यस्तै, दोस्रो राइडका रूपमा ‘मोटर गर्ल्स टु रिङरोड राइड’ गरिएको तुलसाले बताइन् । उनले यसअघि पनि नेपाली पहिरनको संरक्षण गर्ने उद्देश्यले सारी लगाएर ३० जनाले ‘थ्रु मोटरसाइकल’ अभियान चलाएर यात्रा गरेको बताइन् ।
