पाल्पाको रामपुर–८, स्थित खैरेनी सामुदायिक वन क्षेत्रमा तीन दशकअघिसम्म एक हजार हाराहारी गिद्ध थिए, दुई दशकअघि २०–३० वटा मात्रै देखिन्थे, अहिले गिद्धको संख्या साढे तीन सय पुगेको छ ।
पाल्पा — पाल्पाको रामपुर नगरपालिका–८, आँपचौरका ७६ वर्षीय थानेश्वर अर्यालले ४० वर्षअघि खैरेनी जंगलमा सयौंको संख्यामा गिद्ध देखेका थिए । बेलुकीपख जंगल जाँदा गिद्धको बथानले रुख ढाकेको हुन्थ्यो । बुढा सिमलको रुखमा गिद्धको बथान नै बास बस्थ्यो । हेर्दाहेर्दै गिद्धको संख्या घट्दै गयो ।
‘गिद्ध घट्दै जाँदा २० वर्षअघि त २०–३० वटा मात्रै थिए,’ उनले भने, ‘अहिले भने हरेक वर्ष बढ्दो छ ।’
अर्यालले भनेजस्तै २०४९/५० सालतिरसम्म रामपुरस्थित खैरेनी वनमा एक हजार हाराहारी गिद्ध थिए । तर त्यसयता गिद्धको संख्या घट्दै गयो । यस क्षेत्रमा बसोवास गर्ने समुदायले २०४९ सालतिर सामुदायिक वन बनाएपछि बिस्तारै गिद्धको संरक्षण हुँदै गयो ।
२०५८ सालपछि यस क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र घोषणा गरियो । वनलाई सामुदायीकरण गर्न थालिएपछि वन संरक्षणका साथै विभिन्न प्रजातिका बोटबिरुवा हुर्के । पशुपक्षी संरक्षण, वनमा सिकार खेल्न निषेध गरियो । पर्यावरण सुधारका साथै गिद्ध संरक्षणको काम अघि बढ्यो । काठदाउरा चोरीनिकासी बन्द गरियो । त्यसपछि भने पुनः गिद्धले बास बस्ने थलो बनायो ।
‘यहाँ वर्षमा ३० देखि ४५ वटासम्म गिद्धले गुँड बनाउन थालेका छन्,’ स्थानीय उपभोक्ता रुक्मांगत अर्यालले भने, ‘अहिले पर्यापर्यटनको प्रमुख क्षेत्र बनाउने तयारीमा हामी पुगेका छौं ।’
२०७२ सालदेखि सामुदायिक वन समूहले गिद्धको आहार व्यवस्थापन गरेको छ । त्यसका लागि मरेका पशु खान घेरबार गरिएको छ । वनभित्र खोरेत रोग लागेका, भ्याक्सिन लगाएका पशु बन्देज गरिएको खैरेनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष छायाचन्द्र पंगेनीले बताए । कालीगण्डकी नदीले घेरेको वनलाई सानो खैरेनी र नदीले नघेरेको वनलाई ठूलो खैरेनी वन नामकरण गरिएको छ ।
खैरेनी वन क्षेत्रमा निर्मित गिद्ध पार्क, प्रवेश द्वार र वन क्षेत्रमा निर्मित पैदल मार्गले पर्यापर्यटनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने सामुदायिक वनका सदस्य तथा उपभोक्ता नारायणप्रसाद अर्यालले बताए । जंगलभित्र जटायु अवलोकन स्थल, जटायु पार्क, वन व्यवस्थापन र चौतारी निर्माण गरिएको छ ।
गिद्ध बासस्थानको प्रचूर सम्भावना रहेको वनमा निर्मित जटायु पार्क पर्यटकका लागि प्रमुख गन्तव्य बन्न सक्ने उनको भनाइ छ । खैरेनी सामुदायिक वनका उपभोक्ता सूर्यप्रसाद अर्यालले संरक्षण र दिगोपनाका लागि समुदायको सक्रियता जरुरी छ भन्ने बुझेको बताए ।
गिद्ध विज्ञका अनुसार विश्वमा २३ प्रजातिका गिद्धमध्ये १४ संकटापन्न अवस्थामा छन् । ९ प्रजातिका गिद्ध नेपालमा पाइने पर्छ । यहाँ सेतो गिद्ध, सानो खैरो गिद्ध, डंगर गिद्ध, सुन गिद्ध, हिमाली गिद्ध र राज गिद्ध देखिएका छन् । विषादी प्रयोग गरेका पशु खाएर गिद्ध मर्ने कारणले धेरैतिर गिद्ध लोप हुने स्थितिमा पुगेको छ ।
पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधिमा सरकारले गत २०६३ मा प्रतिबन्ध लगाएपछि लोपोन्मुख गिद्धका दुई प्रजाति डंगर र सानो खैरो गिद्धको संख्या बढेको वनविज्ञ संयोग बस्नेतले बताए ।
तीन वर्षयता डिभिजन वन कार्यालयले यहाँ बजेट विनियोजन गरेर गिद्ध संरक्षण र पर्यापर्यटनका काम अघि बढाएको छ । गुरुयोजना बनाएर वन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै अघि बढेको डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले बताए ।
खैरेनी सामुदायिक वन क्षेत्र कालीगण्डकी नदीको किनारामा अवस्थित टापु हो । यसलाई पर्यापर्यटनका हिसाबले अघि बढाउन सकिने डिभिजन वन कार्यालयले जनाएको छ । वन क्षेत्र ३१.५० हेक्टर छ । यो जिल्लामै सबैभन्दा सानो सामुदायिक वन हो ।
वन उपभोक्ता समूहका अनुसार यस क्षेत्रमा गिद्घको राम्रो उपस्थिति हुनुको मुख्य कारण कालीगण्डकी नदीको घुमाइ हो । वन वरिपरि नदी घुम्दा बगेर आएको जीवजन्तु किनारा लाग्ने गर्छन् । गिद्धलाई प्राकृतिक रूपमा सिनोको उपलब्धता हुने भएकाले पनि गिद्धको बासस्थल बनेको स्थानीय योगराज अर्यालले बताए । ‘यो ठाउँ मानव बस्तीभन्दा टाढा छ । यहाँ सिमलका बुढा रूखहरू पर्याप्त छन्,’ उनले भने, ‘अग्ला रूख भएको स्थानलाई गिद्धले बासस्थान बनाएको छ ।’
डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले पनि मानवीय गतिविधि खासै नहुने क्षेत्र भएकाले गिद्धले बासस्थान बनाएको हुन सक्ने बताए । वन कार्यालयको अध्ययनअनुसार यहाँ १ सय ५ प्रजातिका पक्षी, १३ प्रजातिका स्तनधारी, ८ प्रजातिका उभयचर र सरिसृप, ८ प्रजातिका रूख, ८ प्रजातिका मिचाहा वनस्पति, ३० प्रजातिका पुतली छन् भने यहाँ ३ सय ५० वटा गिद्ध छन् । पछिल्लो वर्ष यहाँ गिद्धको गुँड ३४ वटा भेटिएका छन् ।
यस वनलाई नेपालमा नै सेतो डंगुर गिद्धको सबैभन्दा बढी घनत्व रहेको वनका रूपमा उल्लेख गरेको पक्षी संरक्षण संघले जनाएको छ । खैरेनी वनलाई महत्त्वपूर्ण पक्षी क्षेत्रका रूपमा समेत सूचीकृत गरिएको छ । ‘यस क्षेत्रलाई पक्षीमा आधारित पर्यापर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ,’ रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भने ।
गिद्धलाई पर्यापर्यटनका हिसाबले समेत आकर्षणको केन्द्र बनाउन सकिने सूचना अधिकारी तामाङले बताए । तर यस क्षेत्रमा गिद्धलाई आवश्यक परिमाणमा खानाको अभाव कायमै छ । गिद्धको आहार व्यवस्थापनका लागि समूहको आन्तरिक स्रोत बलियो छैन । वन क्षेत्रको व्यवस्थापन र गिद्धको हेरचाहका लागि प्राविधिक जनशक्तिको अभाव छ ।
